नेपालगन्ज फोटो फेस्टिवलको दोस्रो संस्करण आज मंगलवारबाट गरिंदैछ । आयोजनाको तयारी पुरा भएको जानकारी दिंदै आयोजक अन्तरालले फेष्टिवलमा फोटो प्रतिस्पर्धा, फोटोग्राफी वर्कसप, अन्तरक्रिया र फोटो प्रदर्शनी गरिने जनाएको छ ।
आज मंगलवार र भोलि बुधवार आयोजना गर्न लागिएको फेष्टिवलमा यसवर्ष देखि स्ट्रिट फोटो डिस्प्ले पनि गरिने फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । उनका अनुसार, आज बिहान ११ बजे नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणाले फोटो खिचेरै प्रदर्शनीको शुभारम्भ गर्नेछन् ।

पर्यटक प्रवद्र्धनमा टेवा पु¥याउने र फोटोग्राफीको विकाश गर्ने उद्देश्यका साथ आयोजना गरिएको दुई दिन सम्म चल्ने फेस्टिवलमा फोटोग्राफी कार्यशाला पनि गरिने आयोजकले जनाएको छ ।
आयोजनामा फोटो छनोटका लागि नेपाल फोटो पत्रकार क्लबका अध्यक्ष विकाश कार्की नेतृत्वको टिम आइतवारनै नेपालगन्ज आइपुगेको छ । ‘वरिष्ठ फोटो पत्रकार कार्कीको नेतृत्वमा रहेको टिमले प्रतिस्पर्धामा सहभागी फोटोहरु सोमवार छनोट गरिसकेको छ,’ शाहले आयोजनाको तयारी पुरा भएको जनाउ दिंदै दैनिक नेपालगन्जसँग भने, ‘यीनै फोटोहरुमध्ये छनोट गरि पुस्कृत गरिनेछ ।’
यस वर्ष लुम्बिनीसँगै कर्णाली र सुदुरपश्चिम प्रदेशमा खिचिएका फोटोहरु फेस्टिवलको प्रतिस्पर्धाका लागि सहभागी गरिएको छ । विभिन्न जिल्लाबाट सहभागीलेमा पठाएका फोटोहरु मध्येबाट छानिएको १ सय ५१ फोटोहरु प्रदर्शनीमा राखिने र प्रतिस्पर्धामा छानिएका फोटोहरु मध्ये प्रत्येक विधामा १ वटा विधागत रुपमा उत्कृष्ट फोटोको रुपमा पुरस्कृत हुने शाहले बताए ।
‘दैनिक जीवन, संस्कृति र पर्यटन समाचार, वन्यजन्तु र प्रकृति , खेलकुद तथा नेपाल स्माइल, (खुशी उत्साह र उमंग झल्किने फोटोहरु ) प्रतिस्पर्धामा समावेश गरिनेछ,’अन्तरालका कार्यकारी अध्यक्ष शाहले भने ।