विकासका लागि सबै एक ठाउँमा हुनुपर्छ

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता औद्योगिक क्षेत्र मंगलबार शिलान्यास गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मंगलबार बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता औद्योगिक क्षेत्र शिलान्यासका क्रममा राखेको मन्तव्यको संक्षेप…

अहिले हामीले आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार, समृद्ध नेपाल सुखी नेपालीको नारा दिएका छौं । यसलाई व्यवहारमा कसरी लैजाने भनेर लागि रहेका छौं । हाम्रो प्रधानमन्त्रीको दर्शन आर्थिक समृद्धि र सुखी नेपाली भन्ने छ, त्यसलाई यथार्थमा व्यवहारमा कसरी लागु गर्ने भन्नेमा हामी छौं । जबसम्म देशमा औद्योगिक विकास हुँदैन तबसम्म आर्थिक समृद्धि आउँदैन । जबसम्म रोजगारी सिर्जना हुँदैन तबसम्म आर्थिक समृद्धि, सुखी नेपाली बन्न सक्दैन । विकास जनताको समृद्धिको लागि हो जनताको विरोधका लागि होइन । जनताको व्यवस्थापन गर्ने, रोजगारी बनाउने, सुखी बनाउने अहिले नेपाल सरकारको लक्ष्य हो । त्यो लक्ष्यलाई प्राप्ति गर्न हाम्रा प्राकृतिक स्रोधसाधनहरुको पहिचान गर्ने । त्यसलाई कच्चा पदार्थको रुपमा लिएर औद्योगिक क्षेत्रको विकास कसरी गर्ने भन्ने कुरा नै अहिलेको मूल पक्ष हो, नेपाल सरकारको ।
हामीले यस क्षेत्रमा रोजगारी सिर्जना गर्न औद्योगिक क्षेत्र स्थापना गर्दैछौं । यसको स्वागत हुनुपर्छ । औद्योगिक क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई हटाउने होइन व्यवस्थापन गर्ने हो । अझ रोजगारीको सिर्जना गर्ने हो ।


हामीले विकासलाई सन्तुलित बनाउन पश्चिमबाट सुरु गर्नुपर्छ भनेका छौं । यही ध्येय सहित एक साताको कार्यक्रम राखौं औद्योगिक क्षेत्र शिलान्यासको । हिजो सम्माननीय प्रधानमन्त्रीज्यूले सुदूरपश्चिममा औद्योगिक क्षेत्र शिलान्यास गर्नुभएकोछ, हामीले नौबस्तामा औद्योगिक क्षेत्र शिलान्यास गरेका छौं । आर्थिक आधारमा विशेष ध्यान दिएर कर्णाली र लुम्बिनी प्रदेश जोड्न औद्योगिक क्षेत्र शिलान्यास गरेका छौं । त्यसैले यसको विरोध होइन उत्सव मनाउनुपर्ने हो । सरकारको नीति कसैलाई भूमिहीन बनाउने होइन, अव्यवस्थित बसोबास गर्नेलाई व्यवस्थित गर्न आयोग बनाएको छ । रुपन्देहीमा पनि औद्योगिक क्षेत्र, हेटौडामा, झापामा पनि औद्योगिक क्षेत्र शिलान्यास हुँदैछ । मेचिदेखि महाकालीसम्म औद्योगिक विकासको च्यानल बनाउँदैछौं । त्यस बाहेक विभिन्न प्रदेशमा औद्योगिक क्षेत्रको अध्ययन हुँदैछ ।


जबसम्म आम जनताको आर्थिक अवस्था बलियो बनाउँदैनौं । तबसम्म देश, राष्ट्रियता बलियो हुँदैन । जनता समृद्ध नहुँदासम्म गरिबीले पछ्याउँछ । त्यसैले हाम्रो लक्ष्य भनेको विकासलाई अगाडि बढाउने हो । चाहे त्यो यातायात क्षेत्र होस्, चाहे त्यो रेलको व्यवस्थापन, निर्माण, चीनदेखि काठमाडौं, रक्सौंलदेखि काठमाडौं जोड्ने कुरालाई प्राथमिकतामा राखिएको छ । नीतिमा गएको छ । अब कार्यान्वयनको पक्षमा पनि काम भैरहेको छ ।
हामीले हाम्रै मन्त्रालय अन्तर्गत विभिन्न खानीहरुको पहिचान गरेका छौं । यही दैलेखमा पेट्रोलियम पदार्थको दुई पटक अन्वेषण भएको छ । त्यसको परिणाम कोभिड १९ नआएको भए अहिलेसम्म आइसक्ने थियो ।

मलको अभाव छ । किसानले माग गरेका छन् । त्यसको सम्बोधनका लागि विशेष गरी कृषि मन्त्रालयमार्फत पहल भएको छ । अर्थले त्यसमा गृहकार्य गरिरहेको छ । रासायनिक मल उत्पादन तर्फ सम्भावनाको पनि अध्ययन भैरहेको छ । त्यसका लागि जिम्मेवारी पनि दिइसकिएको छ ।


पार्टी भित्रका अन्तरविरोधका कारण सरकारका कामकाज अगाडि बढ्न सकेन । अहिले केही कमरेड सडकमा हुनुहुन्छ । तर, विकासका लागि कुनै राजनीति हुँदैन । विकासका लागि सबै एक ठाउँमा हुनुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया