बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता औद्योगिक क्षेत्र मंगलबार शिलान्यास गरिएको छ । उद्योगमन्त्री लेखराज भट्ट, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भूमिपुजन गरेपछि औद्योगिक क्षेत्रको उद्घाटन भट्टले गरेका थिए ।
कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचालले औद्योगिक क्षेत्रका लागि भनिएको जग्गामा बासिरहेका जनतासँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । नेकपा बाँकेका संयोजक आइपी खरेलले शिलान्यास मात्रै गरेर नछाडियो निर्माण पनि तत्कालैबाट सुरु हुनुपर्ने बताए ।

बाँकेको बैजनाथ गाउँपालिकामा ३ सय ३८ विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना छ । तर, औद्योगिक क्षेत्रका लागि भनिएको केही भागमा मानिसहरुको बस्ती समेत रहेको छ । जसले समाधान अझै हुन सकेको छैन । यसअघि डिपिआर भैसकेर पनि घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्यांकनमा भएको अवस्थामा पनि त्यहाँ बसोबास गर्नेको त्यही वा अन्यन्त्र विकल्प दिने भन्ने निश्चित भैसकेको छ ।
औद्योगिक क्षेत्रका लागि डिपिआर तयार हुँदा २ सय ५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्यांक संकलन भएको थियो । तर, स्थानीय घरधनीहरुको संघर्ष समितिले त्यो संख्या झण्डै डबल रहेको दाबी गर्दै आएको छ । अहिले भूमि समस्या समाधान सम्बन्धी आयोगको काम स्थानीय तहले गर्दै आएको छ । ‘औद्योगिक क्षेत्रमा रहेका भूमिहीन तथा सुकुम्बासीको एकिन तथ्यांकका लागि अहिले स्थानीय तहसँग समन्वय गरिरहेका छौं’, नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले भने, ‘औद्योगिक क्षेत्रका लागि छुट्याइएको १० प्रतिशत भुभागमा मात्रै समस्या हो ।’
औद्योगिक क्षेत्रका लागि उद्योग स्थापनाका लागि यसअघि आवेदन समेत माग गरिएको थियो । सुरुमा आवेदन माग्दा २ सय ५० उद्योगीले उद्योग स्थापनाका लागि आवेदन गरिसकेका छन् । हाल औद्योगिक क्षेत्र नेपालगन्जमा ३६ वटा उद्योग रहेका छन् । नेपालगन्जको औद्योगिक क्षेत्रमा उद्योग थप्दै जान क्षेत्रफल लगायत विभिन्न खालका समस्या छन् । व्यवस्थित रुपमा उद्योग सञ्चालनका लागि नौबस्तामा औद्योगिक क्षेत्रको काम अगाडि बढाइएको हो ।