बाँके प्रहरीले समात्यो भारु १० लाख सहित एक जनालाई

भारतीय रुपैयाँ सहित पक्राउ परेको समाचार प्रकाशनमा आउने गरेको छ । नेपाल तथा भारतीय नागरिकले भारतबाट रकम ल्याउँदा कहिले प्रयोजन खुलाउन नसक्दा त कहिले नेपालमा प्रतिबन्धित मूल्यको नोट नेपाल भित्र्याउँदा प्रहरीको फन्दामा पर्ने गरेका छन् । कहिले नियत गलत होला तर सीमावर्ती क्षेत्रमा कारोबारकै लागि भारतीय नोट ल्याउने समेतले यहाँ प्रहरीको कारवाही झेल्दै आएका छन् ।

भारत सरकारले यसअघि भारतमा ५ सय दरको नोट प्रतिबन्ध लगाउँदा नेपालको बैंकिङ च्यानलमा रहेको नोट पनि फिर्ता लिन मानेन । जसले नेपाली बैंकहरुले ठूलो नोक्सानी ब्यहोर्नु पर्यो । भारतमा नोटमा हुने नीतिगत परिवर्तनको असर र नोक्सानी नेपालले पनि व्यहोर्नु परेको छ । नेपालमा भारतका लागि खुला छ । भारतीय तथा नेपाली नागरिक दुवै देश आउजाउ गर्न समस्या छैन । व्यवसाय पनि निर्बाध हुने गरेको छ । यसले गर्दा पनि भारतीय नोटको प्रचलन नेपालमा बढी रहेको छ ।

भारतीय सबै नोट नेपालमा कानुनी रुपमा चलनचल्तीमा छैन । तर, यसको जानकारी आम सर्वसाधारणलाई छैन । भारतबाट आउने नागरिकले पनि नेपालमा भारतीय ठूला नोट प्रतिबन्ध रहेको थाहा पाउन सक्दैनन् । जसले गर्दा कानुनी झन्झट व्यहोर्नु पर्दछ । अर्को तर्फ भारतबाट आउनेहरुले ल्याउन भारतीय नोटको स्रोत खुल्न जरुरी रहेको छ । बैंकिङ प्रणाली हुँदा हुँदै ठूलो परिणाममा भारतीय नोट व्यक्तिसँग फेला परे प्रहरीले कारवाही गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पत्रकार सम्मेलन गरेर १० लाख रुपैयाँ भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । ‘नेपालमा प्रतिबन्ध रहेको भारतीय ठूला नोट लिएर हिड्न पाइँदैन, अर्को स्रोत र प्रयोजन पनि खुल्नुपर्छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले दैनिक नेपालगन्जसँग भने ।

जिल्ला प्रहरी कार्यालय मातहत भन्सार सुरक्षा गार्ड नेपालगन्जबाट खटिएको प्र.ना.नि. भिम बहादुर खड्का र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको स.प्र.नि. जिवनलाल बुढाको संयुक्त सुरक्षा टोलीले नेपालगन्ज–१६ बाट भारत दिल्लीका मुनबर खानलाई भारतीय नोट सहित नियन्त्रणमा लिएको हो । प्रहरीले पत्रकार सम्मेलनमा भारत उत्तरपुर्वि दिल्ली जफ्फारावाद वस्ने खानले दुई वटा झोलामा बोकेर ल्याउको भारतीय २ हजार दरको नोट थान ३, ५ सय दरको नोट १ हजार ९ सय ८८ वटा ल्याएको फेला पारेको हो । उनीबारे थप अनुसन्धान भैरहको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खाना तामा पिलतको धुलो बिक्री गर्ने व्यापारी रहेको खुलेको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि उनले व्यापारकै सिलसिलामा ठूलो दरको भारतीय नोट ल्याएपनि चेकजाँचमा नपरेपछि पुनः ठूलो दरको नोट ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार, बरामद रकमले निजले नेपालगन्ज औद्योगिक क्षेत्र भित्र रहेको लामा पितल फ्याँक्ट्री बाट तामा र पितलको धुलो खरिद गरि लिई भारतमा खरिद मुल्यमा नाफा खाई विक्री गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया