पोखरासँग हवाई सम्बन्ध, आज नेपालगन्जबाट उडान

सरकारी मुख ताकेको निकैपछि निजी क्षेत्रको पहलबाट नेपालगन्ज–पोखरा हवाई सम्बन्ध स्थापित गर्ने औपचारिक पहल थालिएको छ । त्यसक्रममा आज शुक्रवारबाट नेपालगन्ज–पोखरा, पोखरा–नेपालगन्ज चार्टर उडान हुने भएको छ । नाट्टा बाँके च्याप्टर र गण्डकी प्रदेश नाट्टाको पहलमा नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज उडान गर्न लागिएको हो ।

लामो समयदेखि निजी क्षेत्रबाट सरकारकै पहलमा नेपालगन्ज–पोखरा नियमित उडानको प्रयास भएपनि सफल हुन सकेको थिएन । सरकारी स्तरबाट उडानमा चासो नराखिएको भन्दै व्यवसायी आफैले नेपालगन्ज–पोखरा उडानको पहल गरेका हुन् । जसअन्तर्गत आज चार्टर विमान नेपालगन्जबाट पोखरा जाँदैछ । त्यसको नेतृत्व नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणाले गर्दैछन् ।

नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले परीक्षणका लागि पहिलो महिना हप्ता दुई वटा गरी ८ उडान नेपालगन्जबाट पोखरा जाने र ८ उडान उता (पोखरा) बाट आउने व्यवस्था गरिएको बताए । ‘कोरोना पछि बाह्य पर्यटक आउन पाएका छैनन्, जसले गर्दा यहाँको पर्यटन व्यवसाय धराशयी छ’, सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘त्यसैले आन्तरिक पर्यटन वृद्धिका लागि नेपालगन्ज–पोखरा उडान गर्न लागेका हौं । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले पनि सहयोगको प्रतिबद्धता जनाएको अध्यक्ष सिग्देलले बताए ।

आज शुक्रवार हुने उडानमा बाँके, बर्दियाका पर्यटन व्यवसायी पोखरा जाँदैछन् । त्यहाँबाट पनि पर्यटन व्यवसायी नै बाँके, बर्दिया घुम्नका लागि आउनेछन् । दुवै तर्फबाट टुर प्याकेज बनाउने र पोखराका पर्यटक यहाँ ल्याउने र यहाँका पर्यटक पोखरा लग्ने योजना बनाइएको छ ।

नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जय कान्त सिग्देलले पोखरा र नेपालगन्ज दुवै पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएका बताए । दुई तर्फी उडानले आन्तरिक पर्यटन प्रवद्र्धन हुने र त्यसले व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास सिग्देलको छ । ‘हामीले पनि निकै पहिलेदेखि चाहेका थियौं,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘यतिबेलाको यो पहलले धराशयी भइरहेको पर्यटनलाई थोरैभएपनि आशा जगाउँछ भन्नेमा आशावादी छौं ।’

यसैबीच, पर्यटन प्रवद्र्धन मञ्च बाँके नेपालगन्जले नेपालगन्ज–पोखरा– नेपालगन्जको चार्टर उडानमा सहयोगको प्रतिबद्धता जनाएको छ । विहीवार मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षताको बसेको बैठकले सरकारी पहलमा हुनुपर्ने कामलाई निजी क्षेत्रको अग्रसरतामा हुनु उत्साहप्रद भएको भन्दै सहयोग र सहकार्यको प्रतिबद्धता जनाएको हो ।

नेपालगन्जलाई पर्यटन प्याकेज
सञ्जय कान्त सिग्देल
अध्यक्ष,नाट्टा गण्डकी प्रदेश

नेपालगन्ज र पोखरालाई कसरी जोड्न सकिन्छ भन्ने लाग्छ तपाईलाई पर्यटन व्यवसायको दृष्टिकोणबाट ?


नेपालगन्ज–पोखरा वास्तवमा टुरिजमका हिसाबले सम्भावना बोकेको ठाउँ हो । नेपालगन्ज भारसँग सीमा जोडिएको ठाउँ हो । त्यहाँबाट भारतको रुपैडिहा हुँदै लखनउ, कानपुरसम्मको मार्केट जोडिएको छ । यो व्यवसायिक मार्केट हो । नेपालगन्जबाट सडकको माध्यम जोडिएको छ । तर, हवाई छैन । हवाई कनेक्टिभिटिका लागि लामो प्रयास गर्यौं तर त्यो सम्भव हुन सकेको छैन ।


कोभिड पछि बाह्य पर्यटक आउन सकेका छैनन् । त्यसैले पर्यटनका लागि आन्तरिक पर्यटनमा पनि जोड दिएका छौं । नेपालका लागि आन्तरिक पर्यटक नै मुख्य बजार हो । बोर्डर बन्द भएकाले आन्तरिक पर्यटक बढावा दिन काम गरिरहेका छौं । नेपालगन्ज नाट्टा च्याप्टर र गण्डकी प्रदेश नाट्टा च्याप्टरसँग सहकार्य गरेर दुई वटा सिटिलाई जोड्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छौं ।

चलिए पोखरा भन्ने अभियान भारतमैं सञ्चालन गरिएको देखिन्छ । भारतीय पर्यटकलाई पोखरा लैजाँदा नेपालगन्जलाई टाइअप गर्ने प्रयास पनि हो ?
होटल व्यवसायीले चलिए पोखरा भन्ने कार्यक्रम गर्दछन् । नाट्टाले पनि विभिन्न खालका कार्यक्रम गर्दछ । गण्डकी प्रदेशमा हामीले अब्जरवेशन टुर गर्दछौं । त्यहाँ हामीले हाम्रा प्रोडक्ट अवलोकन गर्दछौं । भारतीय व्यवसायीलाई पनि बोलाएर व्यापार आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम गर्दछौं ।


अहिले पनि हामीले नाट्टासँग नेपालगन्जबाट प्याकेज बनाएर पोखरा पठाउन र पोखराबाट प्याकेज बनाएर नेपालगन्ज पठाउन आन्तरिक पर्यटकलाई लक्षित गरेका छौं । नेपालगन्जबाट टुर प्याकेजका धेरै सम्भावना रहेका छन् । नेपालगन्जबाट रारा, बर्दिया लगायतका ठाउँमा टुर प्याकेज बन्न सक्छन् । नेपालगन्जबाट जोडिएका पर्यटनसँगका प्रोडक्ट हामीले सेल गर्ने र हाम्रा यहाँका प्रोडक्ट नाट्टाका त्यहाँका साथीहरुले सेल गर्ने भन्ने एउटा सहमति पनि छ । सहकार्य पनि हामी गर्दै आएका छौं ।


कोरोना पछि मानिसहरु अहिले पनि बाहिर निस्कन डराइरहेका छन् । गण्डकी प्रदेश खोल्नका लागि दबाब पनि दियौं । र, खुल्दै गएको छ । नेपालगन्ज, नेपालगन्जबाट बर्दिया र रारातालको प्याकेज हामी सेल गर्न सक्छौं कि भन्ने लागेको छ । उहाँहरुलाई पनि पोखराको प्याकेज सेल गर्नुस् भनेका छौं ।

धरायशी पर्यटनको अवस्था अब कसरी उठ्ने ?
हाम्रा व्यवसायीलाई कसरी पलायन हुन नदिने भन्ने नै हाम्रो प्रयास र चिन्ता छ । गण्डकी प्रदेश सरकारसँग पनि गण्डकी प्रदेश नाट्टाले पहल, प्रयास गरिरहेको छ । हामी मौद्रिक नीतिदेखि सरकारले नीति तथा कार्यक्रम बनाउने बेला देखिनै हाम्रा कुरा राख्यौं । जबसम्म सरकारले बोर्डर खोल्दैन आन्तरिक पर्यटक नै बजार हो । त्यसले गर्दा हामीले नेपाल सरकारसँग पनि विभिन्न खालका नीतिगत माग गरेका छौं । निजी तथा सरकारी क्षेत्रका व्यक्ति, कर्मचारीलाई घुम्न प्रेरित गरौं । हामी कमाउन भन्दा पनि सस्टेन्ड हुने कुरालाई केन्द्रमा राखेर काम गरौं । सामान्य समयमा भन्दा यतिखेर घुम्दा यो प्याकेज छ, सस्तो छ है भन्ने खालको सन्देश दिन जरुरी छ । त्यसका लागि काम पनि भैरहेको छ । त्यसखालको सन्देश दिइरहेका छौं ।

शुक्रबार नेपालगन्जबाट पोखरा पुग्ने टोलीलाई कसरी इन्गेज गर्नुहुन्छ ?
हामीले शुक्रवार पोखरा आउने गेष्टलाई जुन प्याकेज बेच्छौं । त्यही प्याकेज भित्र गएर फेरि हामी पनि घुम्छौं । समयको व्यवस्थापन देखि भएका पर्यटकीय क्षेत्र घुम्ने विषयले प्रमुखता पाउँछ । हामीले पठाउने गेष्टले त्यहाँ कसरी रमाएर आउन सक्छ बुझ्छौं । नेपालगन्जबाट आउने गेष्टलाई हामी यहाँका प्रोडक्टबारे जानकारी दिन्छौं ।

पर्यटक निमन्त्रणका लागि जाँदैछौं
श्रीराम सिग्देल
अध्यक्ष, नाट्टा च्याप्टर नेपालगन्ज, बाँके

नाट्टाले नेपालगन्जबाट पोखरा जहाज उडाउने पहल किन लियो ?
पछिल्लो तीन, चार बर्षयता नेपालगन्ज र पोखराका व्यवसायीले नेपालगन्ज–पोखरा उडान माग गर्देै आएका थिए । यी कुराहरुलाई लिएर व्यवसायीहरु राज्यसँग पुगेका छन् । हवाई उद्यमीहरुसँग पनि व्यवसायी पुगे । विभिन्न चरणमा विभिन्न खालका छलफल भए । तर, पनि जहाज उड्न सकेन ।


नेपालगन्ज–पोखरालाई हवाई माध्यमबाट जोड्न नसकिरहेको अवस्थामा बाँके नाट्टा च्याप्टरले त्यसका लागि पहल गर्नुपर्छ र मनोवैज्ञानिक दबाब दिनुपर्छ भन्ने हिसाबले एउटा सहुलियत दरमा चार्टर फ्लाइट हालेको छ । पोखराको सहयोग रह्यो भने यो धेरै अगाडिसम्म जान्छ । हामीले एक महिनालाई ट्रायल पिरियड भनेर हप्तामा दुई वटा फ्लाइट गरेर ८ वटा फ्लाइट (दोहोरो १६ फ्लाइट) सुनिश्चित गरेका छौं ।

उडानको पहल राज्यले गर्नुपर्ने हो । सरकारले सब्सीटी दिएर भएपनि नेपालगन्ज–पोखरा उडान गर्नुपर्ने हो । तर, राज्यले नगरिरहेको अवस्थामा हामीले प्रयत्न गर्यौं । भोलि (आज शुक्रबार) नेपालगन्ज–पोखरा यात्रालाई सहज र अर्थपूर्ण बनाउन नेपालगन्जका नगर प्रमुख डा. धवल समशेर राणा पनि पोखरा हामीसँग जाँदै हुनुहुन्छ । हाम्रो नेतृत्व उहाँले गर्दै हुनुहुन्छ । उहाँले अनौपचारिक रुपमा प्रत्येक फ्लाइटको पाँच वटा टिकट नगरपालिकाले किनिदिने आश्वासन पनि दिनुभएको छ । केन्द्र सरकारले के गर्यो गरेन भन्दा पनि स्थानीय सरकारले हामीले गरेको प्रयासलाई नेपालगन्ज उपमहानगरपालिकाले पाँच वटा टिकट किनिदिने भनेको के हो भने भोलि जहाजमा लसमा जान थाल्यौं भने नोक्सान कम होस् भन्न खाजेको हो ।


यसलाई पोखरा नाट्टाले अपनत्व लिएको छ । र, मैले जानकारी पाए अनुसार, पोखरा विमानस्थलमा हामीलाई स्वागत गर्न पोखरा महानगरपालिकाका मेयर पनि आउँदै हुनुहुन्छ । पर्यटन व्यवसायीहरु आउनुहुन्छ । हामीलाई खुशी लागेको छ ।


हामीले शुक्रबारको फ्लाइटमा नेपालगन्ज र बर्दियाका पर्यटन व्यवसायीहरुलाई मात्रै लैजाँदैछौं । उताबाट पनि पर्यटन व्यवसायी मात्रै आउनुहुनेछ । पोखराका पर्यटन व्यवसायी यहाँ आउँदा बाँके र बर्दियाको बारेमा बुझ्नुहुनेछ ।

यसले नेपालगन्ज र पोखरा मात्रै होइन नेपालगन्जसँग जोडिएको अन्य जिल्ला र सुदूरपश्चिमलाई पनि फाइदा हुन्छ । पोखरा मात्रै पर्यटकीय स्थल होइन, बाँके नेपालगन्ज पनि हो । बर्दिया र सुदूरपश्चिम पनि हो । पोखरा मात्रै किन ? पोखराका पर्यटनप्रेमीहरु आउनुस् भनेर सिधै आमन्त्रण गर्न खोजेका हौं ।

के गरेर निरन्तरता होला त यो ?
हामी पर्यटन व्यवसायीले पनि भारतसँगको बोर्डर खुल्ला भनेर मुख ताकेर बस्ने होइन । आन्तरिक पर्यटन बढावा गर्ने विषयमा सबै पक्षहरु सहमत भएका छौं । अहिले घुम्ने सबै आन्तरिक पर्यटक हुन् । आन्तरिक पर्यटकलाई जोड्ने क्रममा पोखरालाई जोड्न खोजेका हौं । यो माग भैरहेको कुरा पनि हो । बाँके, बर्दिया र पोखरामा भएका मान्छेहरुको सम्बन्ध एक आपसमा रहेको छ । यसलाई पनि उडानले सहज बनाउँछ । हामीले गर्न खोजेको चाही पोखराको पर्यटकलाई बाँके, बर्दिया तथा सुदूरपश्चिमको पर्यटनसँग जोड्न खोजेका हौं ।

राज्यसँगको अपेक्षा के हो ?
नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज नियमित उडान निर्धारण गरेर बिमान चलाउनु पर्छ । बिमान चलाउँदा विमान कम्पनीहरुका आ आफ्ना समस्या हुन्छन् । हामीले चार्टर गर्दा हाम्रा पनि केही समस्या हुन्छ । राज्यले केही समयसम्म विमान कम्पनीहरुसँग कुनै न कुनै हिसाबले सहुलियत दियो भने उडानका लागि आकर्षित हुन्छन् । नियमित उडान भयो भने पोखरा र यहाँको धेरै राम्रो हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया