लुम्बिनी प्रदेश सभाले दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ओगटेको राप्ती नदीको किनारको मैदानी भाग अर्थात राप्ती उपत्यका देउखुरीलाई प्रदेशको राजधानी संविधानको धारा २८८ को उपधारा २ बमोजिम पारित भएपछि अहिले राजधानी कस्तो बनाउने ? राजधानी रहने ठाउको पूर्वाधार कस्तो हुनुपर्ने जस्ता अनतिन्ती कुराहरु को बहस हुन थालेका छन् । दाङको देउखुरी स्थायी राजधानी भएसँगै लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना बनाउन सुरु गरेको छ । लुम्बिनी प्रदेशको राजधानीलाई नयाँ, अत्याधुनिक, स्मार्ट र सुन्दर हरित शहरको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको छ । प्रदेश सरकार र चीन सरकारको बीचमा राजधानी व्यवस्थापनको विषयमा औपचारिक छलफल भएको छ । शहरमा अन्य क्षेत्रहरु जस्तै व्यापारिक भवन, आवासीय भवन, पार्क, चौडा सडकहरु, राप्ती नदीमा नमूना पुल र नदीको दुवै तर्फ हरित बेल्ट रहने योजना रहेको छ ।


नयाँ शहर बसाउँदा वातावरणलाई ध्यानमा राख्न पर्ने हुन्छ । वातावरणलाई ध्यानमा राख्दै हरियो शहरको रुपमा विकास गर्न पहाड र पानीलाई जोगाइ राखेर पर्यटनसँग जोडन पर्दछ । प्रदेश राजधानीमा सांस्कृतिक वैभव र इतिहास जोडिन पर्दछ । साझा मानवीय संस्कृतिका विम्बहरुले सहर समृद्ध कनाउन पर्दछ । प्रदेश राजधानीमा बस्ने मानिसहरुले आफ्नो सहरको सभ्यता र इतिहासलाई लिएर गर्व गरुन् । त्यो सहरले प्रदेशकै गौरवको प्रतिनिधित्व गर्न सकोस । प्रदेश राजधानीसँग सबै जनताको सामाजिक तथा सांस्कृतिक सम्बन्ध जोडिन सकोस । अनिमात्र राजधानी सफल र सुन्दर हुन्छ । राजधानी भनेको प्रदेशको भावनात्मक एकताको प्रतीक हो ।

अर्को तर्फ अवसर खोज्ने मानिसहरुको आश्रयस्थल पनि हो । त्यसैले राजधानीसँग अनेकौं सम्भावना हुनुपर्छ । व्यापार, उद्योग, पर्यटन, कृषिका अनेकौं सम्भावनाहरुले घेरिएको सहर राजधानीमा हुनु पर्दछ । सहरमा पानी, बिजुली लगायत स्रोतहरु पर्याप्त हुनु पर्दछ । खुल्ला ठाउँ र सुन्दर वातावरण हुनु पर्दछ । अनि मात्र प्रदेश राजधानीलाई सामाजिक तथा आर्थिक रुपमा सबल बनाउन सकिन्छ । सुरक्षाको दृष्टिकोणबाट प्रदेश राजधानी बलियो हुनु पर्दछ । सहरमा प्रकोपको जोखिम हुनु हुदैन । सामरिक रुपमा पनि राजधानी सुरक्षित हुनु पर्दछ ।
राजधानी कस्तो हुनु पर्दछ ? कसरी नयाँ शहर बनाउने ? यी कुरा अहिले प्रदेश राजधानीसँंग जोडिएका छन । यी प्रश्नहरुको जवाफ खोज्न पर्दछ । ठूलो शहरको लोभ एउटा तर्क छ, राजधानी ठूला शहर हुनु पर्दछ । प्रदेश राजधानीलाई नयाँ, ताजा, सिर्जनात्मक बनाउदा केहि समय लाग्न सक्दछ । प्रदेश राजधानीको लागि नयाँ शहरको विकास गर्न भविष्यको सम्भावना हेरेर पूर्वाधार बनाउन पर्दछ । पुर्वाधार निर्माण गर्दा सबै कुरा आधुनिक, सुन्दर र कलात्मक बनाउन पर्दछ । तर यसको संरचना निर्माण गर्न खर्चिलो र समय लाग्ने हुन्छ । राम्रो काम गर्न समय र खर्च लाग्ने भएपनि केही बिग्रँदैन । नयाँ शहरले दिने आर्थिक तथा सामाजिक लाभ यसमा लाग्ने खर्चभन्दा निकै धेरै हुन्छ । प्रदेश राजधानीको नयाँ शहर समान पहुँच हुनु पर्दछ । जस्तो नयाँ शहरले जातीय, धार्मिक, भाषिक र सांस्कृतिक समानताको प्रतिनिधित्व गर्ने खालको संरचना हुनु पर्दछ । कुनै एकल जाति, धर्म, सम्प्रदाय भएको शहर राजधानी बन्नु हुदैन । अर्को तर्फ राजधानीको लागि बन्ने शहरमा प्रदेश भित्रका सबै जिल्लाका नागरिक सजिलै आउन् र जान सक्ने सडक सञ्जालले जोडिन पर्दछ ।


लुम्विनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा राप्ती नदी पर्दछ । यो उपत्यका अन्न भण्डारका रुपमा चिनिएको छ । राप्ती नदीले चिरेर गएको देउखुरी उपत्यकालाई उपत्यकामा पर्ने धानखोलादेखि शिवखोलासम्म राजमार्गको ७७ कि.मि.सडक पर्दछ । रोल्पा जिल्लाको महाभारत पर्वतबाट उदगम भएको माडी खोला र प्युठान जिल्लाको गौमुखी भन्ने ठाउँबाट उदगम भएको झिमरुक खोला ऐरावती भन्ने ठाउँमा मिसिए पछि राप्ती नदीको नामाकरण हुन्छ । राप्ती नदीको कुल लम्बाई बाकेको भारतिय सिमा सम्म २५७ कि.मि.रहेको छ । देउखुरी उपत्यकाको लागि राप्ती नदी बरदान र बिनासकारी दुबै बनेको छ । राप्ती नदीले प्रत्येक बर्ष धेरै धनजनको क्षति पु¥याउदै आएको छ । अब बन्न लागेको नयाँ शहरको गुरु योजनामा केवल भालुवाङ वरपर मात्र होइन समग्र देउखुरी उपत्यकाको विकासको लागि गुरु योजना तयार गर्नु पर्दछ । विकासका लागि प्रमुख कुरा भनेको जनताको जीवनस्तरमा सुधार, रोजगारीको सिर्जना, उद्योग तथा कलकारखानाको विकास, साधन र स्रोतको उपयोग तथा जीवन उपयोगी सीप शिक्षाको विकास हुनु पर्दछ । ग्रामीण क्षेत्रमा रहेका सिमान्तकृत, पिछडिएका वर्ग, महिला, आदिवासी, दलित, जनजाति, तथा गरीब वर्गको उत्थान हुने खालको विकास भयो भने बल्ल आधुनिक शहरको बिकास हुन्छ ।


राजधानीको लागि नयाँ शहरको गुरुयोजनामा राप्ती नदीको तटबन्धन हुनु पर्दछ । नदीलाई स्थाई रुपमा पक्की वाल दिनु पर्दछ । नदीलाई ट्रयाकमा लैजाने बित्तीकै राप्ती नदी वरपर हजारौ हेक्टर जमिन नयाँ शहर बन्नको लागि खाली हुन्छ । राप्ती नदीलाई ट्रयाकमा ल्याउदा साथ नदीको दुबै किनारमा सडक तयार हुन्छ । अब जो कोहिले पनि कल्पना गर्न सक्दछ, अब त्यहा के बन्दैन ? सडक किनारमा बाह्र महिना हरियाली हुने वृक्षारोपण, भोलीको लागि हवाई मैदान देखि खेलकुद, अस्पताल, ठूला फनपार्क र यस्तै नयाँ शहरमा निर्माणहुने सरकारी भवन अपागं मैत्री र आवस्यक पुर्वाधार निर्माण गर्न सकिन्छ । नदी तटबन्धन हुना साथ राप्ती नदीमा बाह्रै महिना बोट सन्चालनमा ल्याउन सकिन्छ । रिहार देखि भालुवाङ सम्म बोटिङमा रमाउने पर्यटकहरुबाट दिगो आर्थीक स्रोत बन्दछ ।


बिकास भनेको परिवर्तन हो । राजधानीको लागि नयाँ शहरको संरचना बनाउदा सडक फराकिला हुनु पर्दछ । अब बन्ने सडक ८ लेन, ६ लेन, ४ लेन र २ लेन को अवधारणा हुनु पर्दछ । सडक निर्माणको समयमा यीकुरा सोचिएन भने यसले भोलीका दिनमा बिकासको लागि सडकनै बाधक बन्दछ । यसरी बन्ने सडकमा पार्किङस्थल, शौचालय,खानेपानी जस्ता आधारभुत सरचना जोडिनु पर्दछ । त्यसै गरी प्रदेश भित्रका जिल्ला पाल्पा, गुल्मी, रुकुम रोल्पा प्युठान राजधानीसगं जोडिने फास्ट ट्रायकको सडक निर्माण गर्न पर्दछ । यो बाहेक भएका सडकको स्तर उन्नती गर्नु पर्दछ । गुरुयोजनामा देवीकोट र शिवगढीमा केवुलकार, जंगलकुटी, जखेरा र रिहारमा फनपार्क, चाइल्ड पार्क जस्ता पुर्वाधार निर्माण हुनु पर्दछ । यो बाहेक रेलवे स्टेशन, बसपार्क कहा–कहा बनाउने ? विश्व विद्यालय कहाँ बनाउने ? सुविधा जनक ठूला अस्पताल कहाँ बनाउने जस्ता योजना समेत गुरुयोजनामा हुनु पर्दछ ।


कोइलावासको भंसार प्रदेश स्तरिय हुनु पर्दछ । कोइलावासलाई अब नयाँ शहरको अबधारणामा बिकास गर्नु पर्दछ । गुरुयोजनामा भालुवाङको लापे, भालुवाङ र बडहरालाई रिङ राडको बिकास गर्नु पर्दछ । त्यसको लागि भालुवाङको माथिल्लो बजार र बडेरामा मोटवेबट पुल निर्माण हुनु पर्दछ । नयाँ शहरको लागि लाखौं जनसख्यालाई पुग्ने खानेपानीको योजनापनि गुरुयोजनामा हुनु पर्दछ । त्यसको लागि बाङगेसाल नजिकको अर्घाखाचीबाट आउने शितखोलामा बाध बाधी त्यो पानीलाई लिफ्ट प्रणालीबाट देवीकोटमा पु¥याउनु पर्दछ । जस्ले गर्दा नयाँ शहरको सबै क्षेत्रलाई खानेपानी पु¥याउन सकिन्छ । अर्को तर्फ बाङगेसालबाटनै राप्ती नदीलाई बाध बाधेर दधेरी चैते हुदै भालुवाङ बजारको माथी देखि एउटा नहरको योजना पनि यो बन्न लागेको गुरुयोजनामा हुनु पर्दछ । जुन नहरले चुरे फेदीमा रहेका जमिनलाई सिचाई हुन सकोस ।
राजधानीको लागि नयाँ शहरको बिकास गर्दा देउखुरी उपत्यकामा खेतीयोग्य जमिनलाई चक्ला बन्दि गराउनु पर्दछ । अबको बस्ती बिकास उपत्यकाको समतल क्षेत्रमा भन्दा चुरे पहाडको क्षेत्रमा बिकास गर्दा राम्रो हुन्छ । देवीकोट, शितलपुर, रातामाटा र सोरेटी जस्ता गाउँमा सडक खानेपानी र विजुलीको पुर्वाधारको बिकास गरी बस्तीको बिकास भयो भने खेतियोग्य जमिन जोगिन्छ । कालाकाटे–गढवा–राजपुर हँुदै बॉके जोडने हुलाकी राजमार्गको बॉकी भागमा ट्रयाक खोली सडक स्तरोन्नति एवं कालोपत्रे गर्नु पर्दछ । यसैगरी सिमामा २६ स्थानमा नाका बनेका छन् । कोइलाबास, बेला र राजपुरमा पर्ने भौवा, गजमरी, भैंसाही, सुनपथरी, भित्रीसुन पथरी, खिर्की, डगमरा, गनदैला, अडबरवा, खङ्ग्रा, फोहरी, पटुली, सिरिया, गुरुङ्, मनौरा, मुसिनाका, गौरिया जस्ता नामले नाकामा बस्ती बसेको छ । आफूखुशी जमिनको कुनै प्रमाण नलिएर यसरी बसोबास गर्ने मानिसहरुको संख्या प्रत्येक वर्ष बृद्धि हँुदै गएको छ । सबै नाकामा मानव बस्ती बसेको छ । देउखुरीको विकासका लागि नाका क्षेत्रहरुमा सडक निर्माण हुनु पर्दछ ।
राजधानीको गुरुयोजनामा देउखुरी उपत्यका भित्र रहेका प्राकृतिक एवं धार्मिक सम्पदाहरुलाई पर्यटन संग जोडेर बिकास गर्नु पर्दछ । जखेराताल, सुनछहरी, खौराबाबा, मयुर ताल, सोमैथान मन्दिर, कन्दरा मन्दिर, देवीकोट, कोइलाबासको रामजानकी मन्दिर, कोटै मन्दिर, बगारबाबा रिहारधाम, राप्ती नदीको भिमबाँध थारु संस्कृतिको डुमडुमा मन्दिर, बाघनाथ बाबा जंगलकुटी लगायतका स्थलहरु देउखुरीका धरोहर हुन । रिहार धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । ऐतिहासिक र धार्मिक महत्वबाट पहिचान भएको जंगलकुटीको महत्व छुट्टै रहेको छ । यी सबै धार्मीक सम्पदालाई संरक्षण र पर्यटनसंग जोडेर बिकास गर्नका लागि गुरुयोजनामा हुनु पर्दछ ।


राजधानीको केन्द्र आधारमा सडक सञ्जाल हो । प्रदेशका सबै जिल्लाको सडक सञ्जाल राजधानी अर्थात भालुवाङमा जोडिए पछि अहिलेको तुलनामा सुगम भएको मानिन्छ । सडक सञ्जालले लुम्विनी प्रदेश भित्रका जिल्ला स्वाभाविक रुपमा अत्यन्त निकट हुन्छन । लुम्विनी प्रदेश राजधानी स्वाभाविक रुपमा रोल्पा र प्युठानका लागि मुख्यद्वारका रुपमा हुनेछ । रुकुम पूर्वलाई पनि सडक सञ्जालका माध्यमबाट जोडियो भने सल्यान–दाङ हुँदै आउनुपर्ने अहिलेको स्थिति रहँदैन । प्रदेश राजधानीको सडक सञ्जालले धेरै कुरा नागरिकहरुका लागि सजिलो र बिकाससंग जोडिन्छ । अहिले सडक सञ्जाल सबै जिल्लामा फाष्ट ट्रायक तयार नभएका कारण केही जिल्लालाई प्रदेश राजधानी अपायक जस्तो देखिन्छ । बन्न लागेको गुरुयोजनामा सडक सञ्जाल समेत हुनु पर्दछ ।


अहिले नयाँ शहरको परि कल्पना गर्ना साथ स्मार्ट सिटीको कुरा उठने गरेको छ । अब बन्ने प्रदेश राजधानीको नयाँ शहर पनि स्मार्ट सिटीको अवधारणा अनुसार बन्नु पर्दछ । सामान्यतया स्मार्ट सिटी भनेको त्यस्तो शहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्ण व्यवस्थित शहरको रुपमा परिभाषित गरिन्छ । आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको सहरलाई स्मार्ट सिटी भनिन्छ । यस्तो सहरमा सूचना प्रविधिलाई प्राथमिक पूर्वाधारको रुपमा राखिएको हुन्छ र यसैमार्फत त्यहाँका बासिन्दालाई सेवा दिइन्छ । त्यहाँ अटोमेटिक सेन्सर र डाटा सेन्टर समेत राखिएको हुन्छ । स्मार्ट सिटीमा अटोमेटिक ट्राफिक संकेत हुन्छ । सहर ठुलो भएपछि सबैभन्दा ठुलो समस्या सवारी व्यवस्थापनमा हुने भएकाले यस्तो समस्या समाधान गर्न स्वचालित रुपमा सवारी साधनलाई निर्देशन गर्ने संयन्त्र स्मार्ट सिटीमा हुन्छ । यस्तो सहरमा नीजिलाई भन्दा पनि सार्वजनिक सवारीका साधनलाई बढी प्राथमिकता दिइन्छ र त्यहाँ पनि सूचना प्रविधिको व्यापक प्रयोग गरिएको हुन्छ ।


संसारमा अहिले सम्म न्यूयोर्क, फ्रेन्च सिटी, लण्डन, बार्सिलोना, सिंगापुर, पेरिस, बर्लिन, टोकियो र कोपनहेगन लगायतका सहरहरु ‘स्मार्ट सिटी’को रुपमा विकास भएका छन् । नेपालमा स्मार्ट सिटीको परिकल्पना सन् २०१२ मा क्वाकले बनाएको लुम्बिनीको गुरुयोजना संग जोडिएको छ । त्यसबेला गुरुयोजना बनाउदा स्मार्ट सिटीको परिकल्पना गरी पार्क, हरियाली र वातावरणमैत्री तथा प्रदूषणरहित शहरको रुपमा लुम्बिनी शान्ति सहरको नक्सा तयार गरिएको थियो । अहिले स्मार्ट सिटीको अवधारणामा लुम्बिनीमा निर्माणको काम भै रहेको छ । अब यो अवधारणा अनुसार लम्विनी प्रदेशको राजधानीको नयाँ शहरमा लागु गर्नु पर्दछ । स्मार्ट पूर्वाधार स्मार्ट सिटीको मेरुदण्ड हो । सडक, भवन, पूल, अस्पताल, विद्युत जस्ता भौतिक पूर्वाधारहरुलाई विभिन्न सेन्सरहरु, वाइफाई, अप्टिकल तार, थ्रीजी÷फोरजी जस्ता सूचना प्रविधीका पूर्वाधारहरुले जोडेर अब बन्ने नयाँ शहरको स्मार्ट पूर्वाधार बनाउनु पर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया