सरकारको लोकप्रियताकै कारण अन्तरराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रियताकै कारण अन्तरराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालिएको बताउनुभएको छ । राष्ट्रिय स्वाधिनताका पक्षमा प्रतिबद्ध रहेकै कारण विश्व मञ्चमा नेपालको उपस्थिति देखिएको उहाँको भनाइ छ । “पहिले नेपाललाई बोलाउने चलन थिएन तर अहिले खोज्न थालिएको छ, विश्वमञ्चमा नेपालको उपस्थिति अहिले आवश्यकता हुन थालेको छ”, उहाँले भन्नुभयो ।

नेकपा प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक परिर्वतन, समृद्धि र सुशासनका लागि सरकार अघि बढिरहेका बेला समस्या सिर्जना भएको र केही मानिसले देश बनाउने नभई आफू र आफ्नो गुट बनाउने उद्देश्य नछाडेको उल्लेख गर्नुभयो । पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि बल्ल पार्टी शुद्धीकरण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल पार्टीबाट बाहिर गएर शुद्धीकरण हुनाका साथै पार्टी गतिशील भएको दाबी गर्नुभयो । “तीन वर्ष पार्टी निस्प्रभावी भयो । गएका वर्षमा हामीले यस्तो आमसभा गर्न सक्दैन थियौँ । अहिले जनतामा उत्साह छाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आन्दोलनले शुद्धीकरण खोजेको थियो । अहिले आफैँ महाशुद्धीकरण भएको छ ।”

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले तीन वर्षसम्म काम गर्न नदिएको स्पष्ट पार्नुभयो । पार्र्टीमा देश बनाउने उद्देश्यमा सहमत हुन नसक्ने तत्व पार्टी छाडेर सडकमा पुगेको बताउँदै उहाँले ताजा जनादेशका लागि जनतामा जानु प्रतिमगन हो भने तपाइँले कस्तो व्यवस्था खोजेको हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “देश बनाउने कुरा छैन तर, प्रधानमन्त्री बन्नुप¥यो, अर्कालाई पार्टी अध्यक्ष बन्न मन लाग्यो । मैले महाधिवेशनबाट अध्यक्ष चुन्ने प्रक्रियामा जाऊँभन्दा उधारो होइन, हाताहाती नगद चाहियो भन्ने ?” तीन वर्षदेखि बन्न नसकेका संवैधानिक आयोग दाहाल–नेपाल पक्ष गएपछि बनेको र काम पनि हुन थालेको बताउँदै प्रधानमन्त्री ओलीले देश बनाउने सङ्कल्पका साथ नेकपा एकताबद्ध भएर अघि बढेको विचार व्यक्त गर्नुभयो । सबैले बुझ्ने गरी पार्टी विरोधी गतिविधि हुँदा नेकपा फुट्छ भन्ने आकलन धेरैले गरेको बताउँदै देशको हित नचाहने बाहिरिएर केही फरक नपर्ने तर्क गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी देश बनाउन हिँडेका छौँ, त्यसैले जित्छौँ । १० वर्षसम्म प्रचण्डले झुक्याउनु भएको थियो । अब त्यो समय गयो, जनता अलमलिँदैनन् ।” सरकारलाई आलोचना गर्ने क्रममा विकास निर्माणका कामलाई नजरअन्दाज गर्ने काम भएको उल्लेख गर्दै उहाँले पूर्वाधार विकास निर्माणमा उल्लेखनीय काम भएकाले प्रदेश र स्थानीय तहमा विकासको लहर सिर्जना भएको जनाउनुभयो । प्रधानमन्त्री ओलीले लुम्बिनीमा पाँच हजार क्षमताको सभाहल तथा ध्यान केन्द्र निर्माण, भैरहवा बुटवल हुँदै पोखरा जाने सिद्धार्थ राजमार्ग डबल लेन, कालीगण्डकी करिडोर निर्माणकोे प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो । यो भूभाग पुरानो सभ्यताको इतिहास भएको क्षेत्र रहेको चर्चा गर्दै उहाँले लुम्बिनी क्षेत्र रामापिथेकसको बङ्गारा भएको स्थान, कपिलमुनिको भूमि, धेरै ज्ञानी ध्यानी ऋषिमुनिकाे स्थलसमेत भएकाले लुम्बिनीको महत्व छुट्टै रहेको बताउनुभयो । उहाँले कोही पनि मानिस सडकमा अलपत्र नपरोस् भन्नका लागि सरकार नै अभिभावक हो भनेर गाँस, बास र कपासको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले २०७८ सालसम्म नेपाललाई सहयोगापेक्षी मानवमुक्त बनाउने तयारी गरिएको जानकारी दिनुभयो । सरकारले महिनाको १०० बाट शुरु गरेको वृद्धभत्ता अहिले दिनको १०० पु¥याइएको र ज्येष्ठ नागरिकलाई रु एक लाखसम्मको स्वास्थ्य बीमा गरिदिएको जनाउँदै सामाजिक सुरक्षाको दायरा पनि बढ्दै गएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि नागरिकलाई उत्पादनसँग जोड्ने काम भइरहेको बताउँदै सरकारको लोकप्रियता बढ्ने डरले षड्यन्त्र गरिएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले सरकार चलाउन नदिई देश अस्थिरतातर्फ लैजाने खेल भएपछि विशेषाधिकार प्रयोग गरेर संसद् विघटन गर्नुपरेको स्पष्ट पार्नुभयो । “आफूलाई लोकप्रिय लागेको छ भने जनमतमा जानुपर्छ चुनावबाट तर्सिनु हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो । हिजोका दिनमा परिवर्तनका लागि भनेर शहीदको पंक्तीमा लाम लाग्न सिकाएकाले सत्तामा पुगेपछि जनयुद्धका घाइते र शहीद परिवारको बेवास्ता गरेको बताउनुभयो । “हिजो झुठा सपना बाँडेर कतिलाई शहीद, घाइते बनाए ती सबैलाई सरकारले सम्बोधन गर्छ । उनीहरूको उपचार र रोजगारीको व्यवस्था गर्छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्ने तत्व सक्रिय रहेको बताउँदै हत्या हिंसामा संलग्न अपराधीलाई पानी मुनि गए पनि नछोड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मुलुकमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने भ्रष्टाचारी र अपराधीलाई कारवाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया