कार्यालय बाहिर घुस, सहजीकरणका नाममा बिचौलिया सघाउँछन्

नापी कार्यालय सिरहामा कार्यरत निमित्त प्रमुख, सर्वेक्षक हरिचन्दर ठाकुर खाजा पसलबाट घुसको १५ हजार सहित अख्तियारको फन्दामा परे । उनीसँगै लेखापढी व्यवसायी अरुण यादव पनि थिए । अख्तियारले दुवैलाई माघ १५ गते नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । अख्तियारका अनुसार ठाकुरले सेवाग्राहीसँग यादव मार्फत घुस माग गरेको थिए । र, लिंदै गर्दा समातिए ।

आन्तरिक राजश्व कार्यालय बालाजुमा कार्यरत राजन शर्मा र टिमुर किचन रेष्टुरेन्ट ढुंगेधारा, बनस्थलीका सञ्चालक सन्तोष थापा मगरलाई अख्तियारको टोलीले राजश्व कार्यालयको परिसरबाट पक्राउ गर्यो । ४३ हजार रुपैयाँको घुस लेनदेन कार्यकक्ष भन्दा बाहिर हुँदै गर्दा अख्तियारले समातेको हो ।

रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापालाई अख्तियारले गत माघ ९ गते कोटहीमाई गाउँपालिका वडा नं.–१ बोगडियाबाट घुस लिएको पाँच हजार सहित पक्राउ गर्यो । घुस लेनदेन कार्यालय बाहिर नै भएको थियो । उनीहरुमाथि माघ २९ गते विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारको प्रवक्ता नारायण प्रसाद रिजालले जानकारी दिएका छन् ।

यि देशका विभिन्न ठाउँका उदाहरण जस्तै बाँकेमा कार्यालय बाहिरबाट घुस सहित पक्राउ परेको धेरै घटनाहरु रहेका छन् । त्यसका लागि अख्तियारले स्टिङ्ग अपरेशन गर्दै आएको छ । अख्तियारले स्टिङ्ग बाहेक विभिन्न काममा अधिकारको दुरुपयोग गरी राज्यको सम्पत्ति हानी नोक्सानी पुर्याउनेलाई अनुसन्धान पछि मुद्दा चलाउने गरेको छ ।

कार्यालयमा घुस लिंदा पक्राउ पर्ने डरले घुस कार्यालय बाहिर नै लिन थालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले पछिल्ला बर्षहरुमा कार्यालय भित्रैबाट कर्मचारीलाई रंगेहात घुसको रकम सहित पक्राउ गर्ने गर्दथ्यो । अख्तियारको निगारनी पछि घुस कार्यालय भित्र भन्दा बाहिर अझै सजीकरण तथा बिचौलिया मार्फत कर्मचारीले लिने गरेका छन् । अख्तियारको आँखा छल्न सिधै घुस रकम नलिएर तेस्रो व्यक्तिको प्रयोग हुन थालेको छ । यसले गर्दा घुस सहित रंगेहात समात्न र समातेपछि त्यसलाई पुष्टि गर्न निकै चुनौति हुने गरेको अख्तियारका अधिकारीहरु नै बताउँछन् ।

अख्तियारको निगारानी पछि घुस लेनदेन निरुत्साहित हुने भन्दा पक्राउ नपर्ने, अख्तियारका आँखा छल्ने विधिहरु प्रयोग गर्न थालेको पछिल्ला घटनाहरुले देखाउँछ । अख्तियारले पनि कानुन कारवाहीले मात्रै घुस रोक्न कठिन हुने र घुस नियन्त्रणका लागि व्यक्तिलाई इमान्दार बनाउन नैतिक पाठका लागि सचेतनामूलक कार्यक्रमहरु पनि सँगसँगै लैजानु पर्ने बताउँदै आएको छ । पछिल्ला दिनमा अख्तियारले सचेतनामूलक कार्य पनि गर्दै आएको छ । सरकारी कार्यालयमा हुने कामकाजमा अख्तियारले विभिन्न खालका सुधारका निर्देशन पनि दिंदै आएको छ ।

नीतिगत सुधारदेखि कर्मचारी, जनप्रतिनिधि र आम नागरिक सच्चिए मात्र भ्रष्टाचार नियन्त्रण हुने विज्ञहरु बताउँछन् । भ्रष्टाचार नियन्त्रणको पहिलो अस्त्र भनेको सचेत नागरिक, कर्मचारी र जनप्रतिनिधि नै भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख भेषराज रिजाल बताउँछन् । उनी भ्रष्टाचारका कारक तत्व सबै इमान्दार भैदिने हो भ्रष्टाचार नै हुँदैन, कसैले गरे कानुनी दायरामा आउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया