आज कानुन व्यवसायीहरुको भेला

संवैधानिक सर्वोच्चता र व्यवसायिक हकहितका बारेमा गहन छलफल गरिनेछ

अधिवक्ता विकास आचार्य
अध्यक्ष उच्च अदालत बार एशोसिएसन नेपालगन्ज

संवैधानिक जटिलता र कानुनका विषयमा निकै बहस, विवाद भैरहँदा लुम्बिनी प्रदेशका कानुन व्यवसायीहरु नेपालगन्जमा आज शनिबार भेला हुँदैछन् । उच्च अदालत बार एशोसिएसन नेपालगन्जले आफ्नो तेस्रो साधारणसभालाई भव्यता दिंदै प्रदेश स्तरीय भेलाका रुपमा आयोजना गर्न लागेको हो ।

‘यो प्रदेश अन्तर्गत अहिलेसम्मकै ठूलो आयोजनाका रुपमा भव्यता दिन लागि रहेका छौं’, उच्च अदालत बार नेपालगन्जका अध्यक्ष अधिवक्ता विकास आचार्यले तयारी पूरा भैसकेको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘यस बारसँग सम्बन्ध झण्डै २ सय कानुन व्यवसायी नेपालगन्ज आइपुग्दै हुनुहुन्छ ।’

आज शनिबार उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले समुद्घाटन गर्ने साधारणसभामा उच्च अदालत तुल्सीपुरका बुटवल इजलासका वरिष्ठतम न्यायाधीश शिवराज अधिकारी नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश रत्न बहादुर बागचन सहभागी हुनेछन् । बाँके र बर्दिया जिल्ला अदालतका न्यायाधीश, सरकारी वकिलको समेत सहभागिता रहने कार्यक्रममा बारका केन्द्रीय पदाधिकारी समेत आइपुग्दैछन् ।

बार अध्यक्ष आचार्यका अनुसार, नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेल, कर्णाली उपाध्यक्ष मिन बहादुर महत, बुटवल बार, दाङ्ग र बर्दिया बारका अध्यक्ष समेतको सहभागिता भेलामा रहनेछ । ‘साधारणसभाको आयोजना भएपनि यो एउटा वर्तमान अवस्थामा मिनि राष्ट्रिय भेला नै हो’, तयारीबारे जानकारी दिंदै बार अध्यक्ष आचार्यले भने, ‘जहाँ पछिल्ला घटनाक्रम, संवैधानिक सर्वोच्चताको सवाल र कानुन व्यवसायीका व्यवसायिक हकहितबारे गहन छलफल गरिनेछन् ।’

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि कानुन व्यवसायीहरु बीच पनि संवैधानिक मत विभाजित छ । यतिबेला लुम्बिनी प्रदेशका कानुन व्यवसायीहरुको प्रतिनिधिमूलक सहभागितालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया