इन्टरनेटबाट बढ्दो अपराध

हालै बाँके प्रहरीमा एउटा उजुरी पुग्यो । महिला र पुरुष बीचले भिडियो कल गरे । भिडियोमा कुरा गर्दै जाँदा दुवै निवस्त्र भए । पछि दुई मध्ये एकले निवस्त्र भिडियो अर्कोलाई पठाउँदै रकम माग गरे । उनले रकम नदिए परिवारलाई भिडियो पठाइदिने धम्की दिए । विश्वासमा एक अर्कामा साटासाट हुने अश्लिल म्यासेज, भिडियो सम्बन्धी बिग्रिएपछि तनाव र अपराधका रुपमा परिणत हुने गरेको थुप्रै उदाहरण पाइन्छ ।


गत माघ पहिलो साता सल्यान कालागाउँ गाविस वडा नं. २ बस्ने रमेश शाही भन्ने रवि शाहीलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुरको आरोपमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौंले सल्यानबाट पक्राउ गर्यो । शाही विरुद्ध सामाजिक सञ्जालमा महिलालाई अश्लिल भिडियो पठाएको आरोपमा उजुुरी परेपछि पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

त्यस्तै, इन्टरनेट सेवा प्रदायक भायोनेट कम्युनिकेशनको प्रा.लि.को ग्राहकहरुको तथ्यांकमा अनाधिकृत रुपमा पहुँच पुर्याइ सामाजिक सञ्जालमा स्क्रिप्ट सार्वजनिक गरेको अभियोगमा गत पुस २६ गते तिलोत्तमा नगरपालिका–१ बस्ने युवालाई साइबर ब्यूरोले बुटवलबाट पक्राउ गर्यो ।
सामाजिक सञ्जालमा फेक आइडी, इमेल बनाएर पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने, महिलाहरुलाई सामाजिक अश्लिल सन्देश, म्यासेज, तस्विर पठाएर यौन उत्पीडन गरेको आरोपमा साइबर ब्यूरोले हेटौडा उपमहानगर पालिका वडा नं. ४ का अस्लाम अन्सारीलाई गत पुस ९ गते पक्राउ गर्यो । उनीमाथि मकवानपुर घर भई थाइल्याण्ड बस्ने एक महिलाको नग्न तस्वीर तथा भिडियो पोर्न साइटमा अपलोड गरेको आरोप छ । फेसबुकमा बलात्कारी संगठन नामक गु्रप बनाउने पाल्पाका एक व्यक्तिलाई गत कार्तिक ३ गते पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।


इन्टरनेटको दुरुपयोग गर्दै मानव बेचबिखन, चरित्र हत्या, विभिन्न खालका आपराधिक योजना सँगै अभिव्यक्ति स्वतन्त्रताको विरुद्धको हतियारका रुपमा पनि प्रयोग हुँदै आएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, इन्टरनेटमा प्राप्त विभिन्न खालका खेलका कारण विभिन्न खालका विकृति देखिंदै गएको छ । एकातिर इन्टरनेटको सदुपयोगले सम्पर्क, दैनिक तथा कार्यालयका काम सहज हुँदै गएको छ भने अर्को तिर समाज अपराध तर्फ पनि उन्मुख हुँदै गएको पाइन्छ ।


इन्टरनेट दुरुपयोगको यो पछिल्लो उदाहरण मात्र हो । यस्तो धेरै घटना प्रहरी कहाँ नै लाज, डरका कारण पुग्दैनन् । इन्टरनेटको प्रयोग जति बढ्दै छ, त्यति नै विकृति पनि भित्रिंदै गएको छ ।
सूचना प्रविधिको द्रुत विकास र बढ्दो प्रयोगसंगै अपराधिक क्रियाकलापमा समेत यसको दुरुपयोगका कारण अपराधका नयाँ–नयाँ शैली र प्रवृतिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीहरुको सामना गरी वर्तमान र आगामी दिनमा प्रविधिको प्रयोग भई घट्न सक्ने अपराधहरुको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरी भित्र रहेका संयन्त्रहरुलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्नका लागि नेपाल सरकारको मिति २०७५ जेठ २७ गतेको निर्णय बमोजिम प्रहरी प्रधान कार्यालय अन्तर्गत, साइबर ब्यूरोको स्थापना भएको हो । तत्काल प्रहरी महानिरीक्षकद्वारा साइबर ब्यूरो कार्य संचालन कार्यादेश २०७५ जारी भई कार्य संचालन हुँदै आएकोमा मिति २०७७ असोज १९ गते नेपाल राजपत्रमा प्रहरी नियमावली २०७१ को आठौं संशोधन भई साइबर ब्यूरो सम्बन्धी ब्यवस्था भएको हुँदा सोही बमोजिम कार्य संचालन हुँदै आएको छ ।


साइबर क्राइम सम्बन्धी कुनै उजुरी भए जिल्ला प्रहरी कार्यालयमा त्यस सम्बन्धी प्रमाण लिएर पुग्न सकिन्छ । तर, त्यो मुद्दा जिल्ला प्रहरीमा भने दर्ता हुँदैन । साइबर क्राइम सम्बन्धी मुद्दा दर्ता काठमाडौंको साइबर ब्यूरोमा मात्रै हुने भएकाले कानुनी लडाईको सकस हुने गरेको छ । सामान्य खालका इन्टरनेटको दुरुपयोग गरी हुने अपराधमा जिल्लामै मिलेमतो भए प्रहरी कागज गरेर छाड्ने गरेको छ । गम्भीर भए पीडित र पीडत दुवै काठमाडौं पुग्नु पर्ने बाध्यता रहेको छ । किनभन साइबर मुद्दा काठमाडौमा मात्रैे दायर हुन्छ, साइबर ब्युरो त्यही रहेकाले । अनुसन्धानको कार्य पनि ब्यूरोबाट नै हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम राना इन्टरनेटको बढ्दो प्रयोगसँगै त्यसको दुरुपयोग पनि बढ्दै गएको बताउँछन् । जिल्लमा साइबर सम्बन्धी पर्ने उजुरी लिएर मुद्दामा जाने भए काठमाडौं स्थित साइबर ब्यूरो सँग समन्वय गरेरु कारवाही प्रक्रिया अगाडि बढाइने गरेको उनी बताउँछन् । साइबर अपराधबाट जोगिन र जोगाउन प्रत्येक नागरिक आफै पनि सचेत हुनुपर्ने उनको धारणा रहेको छ । उनले विश्वासमा हुने गोप्य च्याट, भिडियो तथा म्यासेज सार्वजनिक हुनु, अरुको चरित्र हुने खालका भिडियो, सन्देश, म्यासेज सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने खालका घटना बढ्दै गएको जानकारी दिए । ‘इन्टरनेट चलाउँदा त्यसको सुरक्षाको बारेमा पनि व्यक्ति जानकार हुनुपर्छ’, उनी भन्छन्, ‘सामाजिक सञ्जालको प्रयोग गर्दा सजग हुनुपर्छ ।’


कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान)का पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय थापा प्रविधिको पहुँच सँगै त्यसको सदुपयोग र त्यसबाट हुने अपराधका बारेमा सचेतिकरण आवश्यक रहेको बताउँछन् । आजको समयमा यसको प्रयोग रोक्न नसकिने बरु नियमन गर्दै लगिनुपर्ने धारणा थापाको छ । ‘विद्यालय स्तरदेखि नै पाठ्यक्रममा समावेश गरेर साइबर सुरक्षा, अपराध र कानुनी कारवाहीका बारेमा सचेतीकरण गरिन आवश्यक रहेको छ’, उनले भने, ‘नियामक निकायले व्यक्तिको गोप्यता हनन नहुने गरी निरन्तर निगरानी गर्ने हो भने इन्टरनेटबाट हुने अपराध रोक्न सकिन्छ ।’ क्यानका पूर्व केन्द्रीय उपाध्यक्ष थापा इन्टरनेटबाट अपराध गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन अनुसन्धान अधिकारीहरुको पनि क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया