खजुरा गाउँपालिकामा जनतासंग स्थानीय सरकार कार्यक्रम सञ्चालनमा आएको छ । जनताका समस्यासंग हातेमालो गर्ने र तत्काल समाधान हुने समस्या हल गर्ने उद्देश्यले यो कार्यक्रम चालु आर्थिक बर्षदेखि सञ्चालनमा आएको हो । उक्त कार्यक्रम अन्तरगत आज सोमवारदेखि जेष्ठ नागरिकलाई निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याईएको छ ।

भिजन आँखा अस्पताल नेपालगन्जको सहकार्यमा वडा नम्बर १ देखि ८ सम्म यो कार्यक्रम सम्पन्न गरिने छ । शिविरमा सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई निःशुल्क चेक जाँच, औषधि बितरण र करिब एकसय जनाको निःशुल्क अप्रेशन गरिने जनाईएको छ । वडा नं. १ मा सञ्चालित शिविरको शुभारम्भ कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनताका प्रत्यक्ष गुणासो सुन्ने र समस्या समाधान गर्न कार्यक्रम लागू गरिएको जानकारी दिए । उनले समस्याको अवस्था हेरि तत्काल समाधान हुने खालका समस्यालाई हल गर्ने र समय लाग्ने खालका समस्याको आगामी नीति कार्यक्रम र बजेटमा लगिने बताए । अध्यक्ष कक्षपतिले निर्वाचनमा जनतासंग बाचा गरेका ६५ बुँदा पूरा भएको र महत्त्वपूर्ण गौरवका योजना संचालनमा रहेको बताए । उनले तीन वर्षमा ५० किलो मिटर कालोपत्रे गरिएको जनाउँदै ५ वर्ष पूरा हुँदा १०० किलो मिटर कालोपत्र गरिने प्रतिबद्धता जनाए । स्वास्थ्य क्षेत्रमा खजुरामा १५ वेड १८ महिनामा पूरा गर्ने, दोस्रो ठूलो अस्पताल क्यान्सर अस्पताल पूर्ण सेवा दिने तयारीमा रहेको जानकारी दिए । ग्रीनसिटीमार्फत खजुराको व्यवस्थित विकासमा लाग्ने उद्देश्य रहेपनि कोरोनाले अवरोध भएको बताउँदै यो परियोजना सञ्चालनमा आउने विश्वास ब्यक्त गरे । उनले असार मसान्तसम्म सुकुम्बासीको हातमा पूर्जा पर्ने गरी तयारी गरिएको बताउँदै कसैलाई एककप चिया खुवाउनु पनि नपर्ने उल्लेख गरे ।

खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक फत्तेकुमारी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, भिजन आँखा अस्पतालका प्रबन्ध निर्देशक बाबुतरुण गौतम, वडा नं. १ का स्वास्थ्य प्रमुख दीपक ढकाल, स्थानीय मगनसिंह थापाले यस्ता कार्यक्रमले जनता लाभान्वित हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नं १ का वडा अध्यक्ष सुमन मल्ल, वडा नं. २ का अध्यक्ष देवीलाल खनाल, खजुरा गाउँपालिका लेखा अधिकृत प्रदिप सुनार लगायतको सहभागिता थियो ।

खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्ल विकासमा निकै अग्रसर बन्दै आएका छन् । उनी आसन र भाषणमा त्यति ध्यान पु¥याउदैनन् । आफ्नो अधिकांश समय वडाको विकास र जनताको पिरमर्का बुझ्न् खर्च गर्ने उनको स्वभाव सहयोगी छ । उनले आफुले पाउने सेवा सुविधाबाट समाजिक काम र लक्षितवर्गमा खर्चिने गरेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ जयकिसान स्पोर्ट्स क्लबको भवन र त्यसमा जिम सेन्टर । आफ्नो वडाका नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले जिम सेन्टर निर्माण गरेको अध्यक्ष मल्ल बताउँछन् । तत्कालीन मध्यपचिम खेलकुद विकास समितिबाट २ पटक गरि ५ लाख सहयोग हुँदा बाँकी सबै रकम वडाध्यक्ष मल्लले सहयोग गरेको सचिब चिरञ्जीवी पाण्डे बताउँछन् । मैटहवा माबिसंगै रहेको जिम सेन्टरमा पुगेर खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नं. २ का अध्यक्ष देवीलाल खनाल, कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, बिज्ञ सदस्य किरण ढकाल, सञ्चारकर्मी जे पाण्डे लगायतले अवलोकन गरेका छन् । जिम सेन्टरमा जिमका लागि आवश्यक सामाग्री समेत ल्याईसकिएको छ ।
