नेपालगन्जमा नाथम, सम्भाव्यता अध्ययन गर्दै त्रिभुवन विश्व विद्यालय

नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)को कक्षा सञ्चालनका लागि नेपालगन्जमा त्रिभुवन विश्व विद्यालयले सम्भाव्यता अध्ययन गरेको छ । त्रिभुवन विश्व विद्यालयबाट डिनको नेतृत्वमा खटिएको विज्ञ सहितको टोलीले सम्भाव्यता अध्ययन गरेको हो ।

होटल तथा पर्यटन व्यवसाय सम्बन्धी उच्च शिक्षाका लागि नेपालगन्जमा नाथमले केही महिनाअघि शाखा सञ्चालनको निर्णय गरेपछि कार्यालय व्यवस्थापनका आवश्यक पहल भैरहेको छ । ‘त्रिभुवन विश्व विद्यालयले सम्बन्धन दिनेमा हामी ढुक्क छौं’, नेपालगन्जमा आइतबार भएको औपचारिक छलफलमा सहभागी नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले दैनिक नेपालगन्जसँग भने, ‘हामीले धेरै कुराको सम्भाव्यता अध्ययन गरेर नै नाथमलाई नेपालगन्ज ल्याउने निर्णय गरेका हौं ।’ गुरागाईंकै नेतृत्वमा बनेको अध्ययन कार्यदलले लुम्बिनी प्रदेशका लागि नेपालगन्जमा नाथम उपयुक्त हुने सिफारिस गरेको थियो ।

‘हामीलाई विश्वास छ, स्थानीय सरकार सक्षम भएकाले नै नेपालगन्जका लागि उपयुक्त ठानिएको हो’, होटल तथा पर्यटन व्यवसायका लागि पश्चिम नेपालकै केन्द्र बनिरहेको नेपालगन्जमा नाथमका लागि बिएचएम र बिटिटिएम सञ्चालनका लागि त्रिभुवन विश्व विद्यालयसँग सम्बन्धन खोजिएको जानकारी दिंदै गुरागाईंले भने । नाथम सञ्चालनमा आएपछि प्रदेशभरीका लागि स्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा नाथमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दै नाथमका बोर्ड सदस्य समेत रहेका गुरागाईंले स्थानीय सरकार र बाँकेबासी एक ढिक्का भएर नाथम सञ्चालनका लागि हामी सक्षम छौं भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताए । ‘त्यसका लागि विशेषत जनप्रतिनिधिहरु गम्भीर बन्नुपर्यो’, उनले भने ।

आइतबार भएको छलफलमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नाथमका लागि आवश्यक पूर्वाधारमा स्थानीय सरकारले सहयोग गरिरहेको जानकारी दिंदै त्यसका लागि चाहिने जग्गा समेत उपयुक्त ठाउँमा टुङ्गो लगाइसकेको बताए । डा. राणाले नेपालगन्जलाई क्यासिनो सिटिका रुपमा विकास गर्न लागिएको जानकारी दिंदै छलफलमा भने, ‘यसले पर्यटनलाई ठूलो मात्रामा चलायमान बनाउँछ ।’ छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी लगायतका उच्च अधिकारीहरुको समेत सहभागिता थियो ।

नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले नाथम नेपालगन्ज आइसकेकाले यसको सञ्चालन र सफलतामा सबैको चासो र सहयोग आवश्यक भएको बताए । ‘जुन पहल र प्रयासमा नाथम नेपालगन्ज आएको छ, त्यसलाई सफल बनाउँदा हामी सबैका लागि फाइदा छ’, अध्यक्ष सिग्देलले भने ।

नाथम नेपालगन्जका प्रमुख विपिन नेपालका अनुसार, कार्यालय व्यवस्थापनमा जुटेको नाथमले स्थानीय सरकारसँग समन्वय गरेर आगामी दिनमा के गर्न सकिन्छ भन्ने कुराको सम्भाव्यता अध्ययन गरिरहेको छ । ‘कक्षा सञ्चालन नहुञ्जेल होम स्टे भिजिट गरिरहेका छौं’, नेपालले दैनिक नेपालगन्जसँग भने, ‘होम स्टे सञ्चालनका लागि आवश्यक प्रशिक्षण दिने सोंच बनाएर भिजिट थालिएको हो ।’ नेपालका अनुसार, साना होटलहरुमा पनि पर्यटकसँग गर्ने व्यवहार लगायतका विविध पक्षमा तालिम आवश्यक भएको निष्कर्ष निकाल्दै त्यसतर्फ योजना बनाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया