खजुरा खेलकुद ग्रामका लागि थप २५ लाख

यसअघि खेलकुद ग्राममा भौतिक संरचना निर्माणका लागि कुल ५७ करोड ५६ लाखको डिपिआर तयार भैसकेको छ

युवा तथा खेलकुद मन्त्रालय खजुराको खेलकुद ग्रामका लागि चालु आ.व.मा २५ लाख बजेट उपलब्ध गराउने भएको छ । गत आ.व.मा मन्त्रालयले ५० लाख रुपैयाँ बजेट दिएको थियो ।
नेपाल सरकारको २०७६/०७७ को नीति तथा कार्यक्रम अनुसार एक गाउँपालिका एक खेलकुद ग्राम देशभरका विभिन्न स्थानीय तहले बजेट पाएका छन् । गत बर्ष ८४ स्थानीय तहले बजेट पाएपनिज ६० वटा स्थानीय तहले मात्रै खेलकुद ग्रामको बजेट खर्च गरेपछि यसबर्ष पनि ६० स्थानीय तहका लागि बजेट विनियोजन गरिएको हो । मन्त्री स्तरीय निर्णयबाट बजेट विनियोजन भएको खजुरा गाउँपालिाकाका राजनीतिक सल्लाहकार समेत रहेका मध्यपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओलीले जानकारी दिएका छन् । खेलकुद ग्रामका लागि बजेट थप्दै लग्नका लागि ओलीले मन्त्री दाबा लामा सँग आइतबार भेटघाट पनि गरेका छन् ।

बाँकेको खजुरा गाउँपालिकाले खजुरा–२ मा खेलकुद ग्रामका लागि साढे चार विगाह जग्गा छुट्याएको छ । गत बर्ष आएको बजेटबाट उक्त जग्गामा फुटबल मैदानका लागि माटो पटान तथा जग्गा संरक्षणका लागि पर्खालको काम भएको ओलीले जानकारी दिएका छन् । माटो पटान भएको फुटबल मैदानमा यस बर्ष क्लब स्तरीय फुटबल प्रतियोगिता पनि आयोजना भैसकेको छ ।

कुल ५७ करोड ५६ लाखको डिपिआर रहेको खेलकुद ग्राममा प्याराफिट सहितको फुटबल ग्राउण्ड, पौडी पोखरी, बहुउद्देश्यीय कभर्ड हल, जीम हल, पार्किङ्ग, खेलाडीका लागि आवासीय भवन बनाउन डिपिआर गरिएको हो । ठूलो खर्च लाग्ने भएकाले आगामी आ.व.मा बजेट बढाएर पठाउन मन्त्री लामा सँग आग्रह गरिएको ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया