बाँकेमा दोस्रो चरणको खोपका लागि ४ हजार ४ सय सिफारिस

देशभर पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान शनिबार सकिएको छ । अभियान अन्तर्गत ७ हजार ५ सयलाई खोप लगाउन सूचिकृत गरिएपनि सो संख्यामा खोप लगाउन कार्य भने हुन सकेन । बाँकेका लागि १७ हजार डोज खोप सरकारले पठाएको छ । एक जनालाई दुई डोज खोप लगाउनु पर्ने हुन्छ ।


स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले पहिलो चरणमा ४ हजार ५ सय ६७ ले खोप लगाएको जानकारी दिएका छन् । उनले त्यो ९० प्रतिशत भन्दा बढी उपलब्धी रहेको दाबी गर्दछन् । सुरुमा ७ हजार ५ सयलाई खोपका सूचिकृत गर्दा औषधी बिक्रेतालाई पनि राखिएकोमा पछि हटाइएकाले खोपको संख्या ५ हजार १ सयको हाराहारीमा रहेको उनी बताउँछन् । ‘हामीले खोपको लक्ष्य करिब हासिल गरेका छौं’, उनले भने, ‘केहीले लगाउनु भएन, जबर्जस्ती गर्न मिलेन तर संख्यात्मक लक्ष्य हासिल भएको छ ।’

बाँकेमा ल्याइएको खोप ३ महिनासम्म लगाउन मिल्छ । बाँकेमा आएको खोप मध्ये साढे चार हजार मात्र खपत भयो । पहिलो चरणमा लगाएकालाई दोस्रो डोज दिंदा र खेर गएको खोप जोड्ने हो भने १० हजारको हाराहारीमा रहेका छन् । बाँकेमा खोप खेर गएको न्यून रहेको छ । ०.६६ प्रतिशत मात्रै खोप खेर गएको छ । सामान्यतया १० प्रतिशतसम्म खोप प्राविधिक तथा अन्य कारणले खेर जानसक्ने अनुमान गरिन्छ ।


स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाह बच्ने खोप दोस्रो चरणको प्राथमिकतमा पर्नेलाई लगाइने बताउँछन् ।
बाँकेमा दोस्रो चरणको कोरोना विरुद्धको खोपको पनि तयारी भैरहेको छ । दोस्रो चरणका लागि केन्द्रबाट तथ्यांक माग भैसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दोस्रो चरणका लागि ४ हजार ४ सय जनाको तथ्यांक केन्द्रमा पठाइसकेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाह बताउँछन् । ‘दोस्रो चरणको कोभिड खोपका लागि सूचिकृत गरी केन्द्र पठाएका छौं, त्यहाँबाट स्वीकृत भएर आएपछि जिल्लामा बचेको खोप दोस्रो चरणमा सूचिकृत भएकालाई लगाउन सुरु गरिनेछ’, उनले भने ।


बाँकेमा पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, स्वास्थ्य स्वयंसेविका लगायतलाई खोप लगाउन सूचिकृत गरिएको थियो । पहिलो चरणमा नेपालगन्ज कारागारमा रहेका कैन्दीबन्दी, सुरक्षाकर्मीलाई पनि खोप लगाइएको छ । त्यस्तै, निलसागर सेवा आश्रममा आश्रित तथा कार्यरतलाई पनि खोप लगाइएको छ । कारागारमा ४ सय ७४ र निगसागरमा ५० जनालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाह खोप लगाउन आव्हान गरिएपछि इच्छुकलाई खोप लगाइएकाले पनि प्रथम चरणमा सूचिकृत व्यक्ति तथा त्यहाँ कार्यरत संस्थाका कर्मचारी सबैले भने खोप नलगाएको बताउँछन् । ‘कोरोनाबाट संक्रमणको अवस्था तथा मृत्यु दर घटेकाले पनि मानिसहरु खोपका लागि त्यति उत्साहित नभएको हुनसक्छन्’, उनी भन्छन् ।

दोस्रो चरणमा खोपका लागि सिफारिस गरिएका ४ हजार ४ सय जनामा सरकारी तथा निजी कार्यालयहरुमा कार्यरत कर्मचारी रहेका छन् । भीडभाडमा काम गर्ने उनीहरु कोरोनाको जोखिममा हुनसक्ने भन्दै खोपको दोस्रो प्राथमिकतामा परेका हुन् । दोस्रो चरणमा यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, जिल्ला प्रशासन, भन्सार कार्यालयमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, मालपोत कार्यालय, शिक्षा क्षेत्र तथा निजी र सरकारी बैंकका कर्मचारीहरुले खोप लगाउन पाउनेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया