साइकल र बालापन | Nepalgunj News

बिहानै आफ्नो साइकलमा चढेर एक फन्को गाउँ, हाटबजार अनि खेतबारीसम्म पुग्ने साधन पनि त्यही साइकल थियो । तराईमा साइकलले गर्न नसकिने कुनै सानो तिनो काम हुँदैनन् । मिल जान होस् या घाँस पराल बोक्न, साइकलले उधुमै मद्दत गथ्यो । त्यो निर्जीव यन्त्रपनि मेरो घरधन्दाको हितैसी मित्रझैँ बनेको थियो । साइकलसँग मेरो गहिरो सम्बन्ध छ । सानैदेखि अजीवअजीवका किस्सा जोडिएका छन् । साइकलकै मायाले कैयौं पटक घाइते भएको छु । कैयौं पटक सजायको भागीदार भएको छु ।

कक्षा ५ पास भएर ६ जाँदापहिलो पटक साइकल चलाउन पाएको थिएँ । तत्कालीन त्रिभुवन बस्तीगाविस वडा नं. ५ कोटिहोमको प्राविमा स्कुले तह बिताएँ । प्रसंग भने रमाइलो छ । एउटा कक्षामा बढीमा २६÷२७ जना हुन्थ्यौं । सरकारी स्कुलभएर पनि हामी बीच नम्बर ल्याउन प्रतियोगिता नै चल्थ्यो । त्रिभुवन बस्ती गाविसकै अर्को स्कुलमाकक्षा ६ माभर्ना भएँ । गाउँका साथी, दाईहरु पहिल्यै त्यही स्कुलमा पढ्नुहुन्थ्यो, उहाँहरुको स्कुल टाढा भएर होला सबै संग साइकल थियो । सुरु सुरुमा त गाउँकै साथीहरुसँग रमाइलो गर्दै हिँडेरै स्कुल जान थालें ।
नयाँ ठाउँ, नयाँ स्कुल, नयाँपोसाक, नयाँकिताब, नयाँ साथी, नयाँ परिवेश । जिन्दगीमा नयाँपन आउनु पनि ‘मजा’जिउनु रहेछ । एउटै कुरा दोहोरियो भने मान्छे पहिले हर्टअट्याक आउने गरी हाँसेको चुटकिलामा पनि मुर्मुरिन थाल्छ । पछि हिँडाइ त्यहीमुर्मुरिने बाटो बन्यो । पछि एक हप्ता नबित्दै बाटो लामो लाग्न थाल्यो । गाडी चल्थ्यो एउटा तर समयको ठेगान थिएन । बिहानसाँझ ५÷५ रुपैयाँतिर्ने मेरो हैसियत थिएन ।

बदलामा सोचें – ‘साइकल’ ।

उसो त घरमा बुबा आमासँग पहिल्यै सम्झौता भइसकेको थियो – अर्को स्कुल जाँदा साकइल किनिदिने । आमाले हुन्छ नभन्दै आफूतिरबाट सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको थिएँ । साथीहरुलाई सुनाइपनि सकेको थिएँ । ‘ओई केटा हो । म उता स्कुलजाने भएँ भने आमाले साइकल किनिदिने रे’ ।

साथीहरु निन्याउरो पारामा भन्थे – ‘हामीलाई पनि चलाउन दिएस् है त ।’
धेरै दिनको जिद्दी पछि साइकल पाएँ । एटलस् ब्रान्डको । ठूला र मोटा डण्डी । बाबा विदेशमा हुनुहुन्थ्यो । उतैबाट रेमिट्यान्स भएपछि साइकल पाएँ । करिब ३ हात्तिनिल्यो । घर नजिकै ठूलो चौर थियो । कुदाउन थालें । साथीहरु इष्र्याले मर्थे ।

साइकल किरिङकिरिङ गर्दै टाढाटाढासम्म पुग्नु दैनिकीको एउटा हिस्सा भइसकेको थियो । कहिले कुनगाउँ त कहिले कुनखोलाजंगल । साइकल हुनेहरुसँग जम्मा भएर चौरभरि रनिङ बाजीपनि खेलियो । हस्याङफस्याङ गर्दै स्वास फुत्किने गरी चलाए पनि कहिल्यै जितिनँ उनीहरुलाई । यसमा मैले हार स्वीकार्नै पर्छ ।

त्यति बेला पत्रिका खुब पढिन्थ्यो । साप्ताहिक, मुना र नारीको अघोषित वार्षिक ग्राहकजस्तै थियौं, २ भाइकिन्ने पैसा हुँदैन थियो । खाजाखर्च कटाएर किन्थ्यौं । आलोपालो गरेर किन्थ्यौं । मेरो भागमा प्रायः मुना पथ्र्यो । महिनाको १० रुपैयाँ खर्च ।

सायद चैतको कुनै एउटा शुक्रबार थियो त्यो । शैक्षिक सत्र सकिएर बिदामा थियौं । साप्ताहिक आउने दिन । साइकल चलाएर म आई.बी.आर.डी बजार गए । त्यतिबेला साप्ताहिकको मूल्य १० रुपैयाँ भइसकेको थियो । पहिलो पटक घरको स्वीकृती पाएर १० रुपैया बोकेर जानपाएको थिएँ । खुसीले आकाश छोयो ।

खुसी त्यतिबेला पनि मिल्दो रहेछ । मलाई खुसीको एउटा बहाना मिल्यो । गर्मी महिना भएकाले घरमा लगाइराखेको हाफप्यान्ट नै लगाएर आई. बी. आर. डीका लागि साइकल स्टार्ट गरें । ५÷६ किलोमिटर टाढा ।

दिउँसो १२ बजेको समय । तराईको प्रचण्ड गर्मी । गाईबाख्रासमेत उग्राउन छाडेर आराम गर्ने त्यो समय । लु लागेर ढलिन्छ किभन्ने एक मनको डर । तर डरलाई रहरले जित्यो । साइकल चलाउनु मेरो रहर बनिसकेको थियो । चलाएँ । जाँदा रमाइलो नै भयो । गर्मी–गर्मीजस्तो लागेन । शरीरबाट टप्पटप्प चुहिएको पसिना शीत जस्तो शीतल लाग्यो । रहरको अघि हार्दैथिएँ ।
किने साप्ताहिक मुना । फर्किँदा बाटो सहजभएको जस्तो, साइकलमा आउँदाको भन्दा दोब्बर स्पिडमा कुदाउँन थालें । हाम्रो घरदेखिआइ.बी.आर.डी सम्मपुग्न बाटो अप्ठ्यारो नै थियो । ठुलाठुला ढुङ्गाहरु बचेरै चलाउन पर्नेबाट तैपनी गड्याम्म् बेस्सरी बीच सडकमै लडें । एकछिन त बेहोस नै हुन्छु जस्तो लागेको थियो । एउटा ट्याक्टरहुइँकिदै आयो र ढलपल गर्दैअको छेउँबाट गयो । अहिले अलिअलियाद आउँछ । ट्याक्टरबाट कसैले टाउको निकाल्दै भनेको थियो – ‘ओई फुच्चे राम्रोसँग चला है । मर्लास् ।’

म थर्रर कापें । तर दुखेको थिएन ।

झटपट उठेर साइकल हेरें । ह्यान्डिल पुरै बांगो भइसकेको रहेछ । बाँयातिरको ब्रेकभाँच्चिसकेको थियो । अब दुख्न थाल्यो । नदुखेको शरीरका अन्यभाग पनि ज्यानै जाला जसरी दुखेर आयो । साइकल बिग्रियो । गालाबाट रगत आइरहेकै थियो । त्यता सोच्नुपथ्र्यो । सोचिनँ । बरु सोचें – ‘लामलाई घरमा के भन्ने होलान् ?’

बल्लतल्ल घर पुगेर आरामले स्वास फेरें । गालीगर्नुभएन । आफ्नै मायालागेर आयो । अघि रुन नपाएको कोठामा गएर रोएँ । बाहिर आएर भनें – ‘केहीभाको छैन । दुखेको त छैन ।’ अनुहार पूरै सुन्निएको थियो । दुख्यो भनेको भए सायद आमाको अभूतपूर्व गालि खान पनि सक्थें नखान पनि सक्थें ।
तर दुख्यो भनिनँ मैले ढाँटे । उसमा मैले झुठ बोलेको स्वीकार्नै पर्छ ।
१० कक्षासम्म साइकल खुब कुदाएँ । मूल्यको दोब्बर खर्च त पछि बिग्रदाँ तिर्नै सकें हूँला । कहिले चेन बिग्रथ्यो । कहिले टायर, ट्युब त कहिले के । दिनु दुखदियो । तर पनि साइकललाई मैले माया गरिरहें, बिग्रिरह्यो बनाइरें ।


पछि समय फेरिँदै गयो । पहिले साइकल नचढेका साथीहरु मोटरसाइकल चढ्ने भए । आफ्नो नभएपनि साथीको मागेरै मेरो अघि भ्याँभ्याँ न भूँभूँगर्न थाले । बाइक माग्ने हैसियत थिएन मेरो ।
प्लस टु पढ्न सुर्खेत आएँ । प्रायको मोटरसाइकल हुन्थ्यो नभएपनि कोही साइकल नचलाउने । मलाई पनि पुरानो साइकल कुदाइरहन मन लागेन । इज्जतिलो सम्झें आफूलाई । बाइक चढ्ने साथीहरुको अगाडि वर्षौं पुरानो साइकल चलाउन लाज लाग्ने बेलाभयो । बैंसले समाउन थाल्यो । बैंशले जित्यो । कुनै समय आफूभन्दा माया गरेको साइकल छुन सम्म लाज लाग्ने बेला भयो । यो सत्य मैले स्वीकार्नुपर्छ ।

सुर्खेत आइपुगेपछि १ वर्षको अन्तरालमा घर गएँ । आमा त्यही मेरो नाममा किनेको पुरानो साइकल चलाउनु हुँदो रहेछ । मर्मत सम्भार गरेर प्रिय बनाइ दिनुभएको रहेछ । फेरि चलाएँ । त्यतिबेला एउटा साइकल मात्र होइन । पछिल्लो सिटमा मेरो बालापन चढाएर कुदाइरहें त्यो चौरभरि ।।।


सायद सबैका ‘आमा’ यस्तै हुन्छन् होला । सन्तानका खुसी संगालेर राख्छन् । हामीले पुरानो भनेर छाडेका केही कुरा नयाँझैं प्रेम गर्छन् । उनीहरुलाई थाहा छ परिश्रमको महत्व ।
समय परिवर्तन नहुँदो रहेछ । बरु हाम्रा सोच परिवर्तन हुँदोरहेछन् । कक्षामा पास भएको खुसीमा तपाईंले मलाई साइकल किनिदिनु भो । तपाईं जिन्दगीका सबै परीक्षापास गर्नुभएको छ र पनिचिन्न ढिलो गरिरहेछु ।

आधुनिकताको नाममा म बिग्रिएछु ।आफैंले प्रयोग गरेर पुराना बनाएका चिज मन पराउन छाडेछु ।


आखिर समय त उस्तै हो । उही दिन हो । उही रात हो । उही घाम हो । उही छायाँ हो । उहीशीतहो । उहीपानीहो । उही पीडा हो । उही खुसी हो । उही धर्ती हो । उही आकास हो । बद्लिएको त म पो रहेछु । सधैं समयलाई दोष देखाइरहें ।

प्रतिक्रिया

प्रतिक्रिया