जोखिममा वन्यजन्तु, सात बर्षमा दुर्घटनामा ३० मरे, ७५ वटा मुद्दा

५ सय ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्ज बाँके, सल्यान र दाङ्गसँग जोडिएको छ । यो १५३ मिटरदेखि १ हजार २ सय ४७ मिटरसम्म फैलिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जले हालसम्म वन्यजन्तु सम्बन्धी ७५ वटा मुद्दा दायर गरेको छ । जसमध्ये अदालत पु्गेका मुद्दाको संख्या ३८ र निकुञ्जमै दर्ता रहेको मुद्दा संख्या ३८ छन् । हालसम्म दर्ता भएका मध्ये १२ मुद्दा फस्र्यौट गर्न बाँकी रहेको छ ।


राष्ट्रिय निकुञ्ज घोषणा गर्नुको पहिलो उद्देश्य भनेको त्यहाँ रहेका वन्यजन्तुको संरक्षण हो । तर, निकुञ्ज नै वन्यजन्तु मैत्री नहुँदा प्रत्येक बर्ष कुनै न कुनै कारणले वन्यजन्तुको मृत्यु हुने गरेको छ । साथै वन्यजन्तु र मानव बीच द्वन्द्व सिर्जना हुने गरेको छ । आहारा तथा पानीको कमीका कारण बेला बखत वन्यजन्तु निकुञ्ज बाहिर आउन बाध्य हुन्छन् । निकुञ्ज भित्रको आहारको कमी, निकुञ्ज भित्र नै रहेको सडक उनीहरुका लागि खतरा बन्दै गएको पाइन्छ ।


बाँके राष्ट्रिय निकुञ्जले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सात बर्षको अवधीमा बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटनाका कारण ३० वटा वन्यजन्तु मारिएको तथ्यांक निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले जानकारी दिएका छन् । आ.व. २०७१÷०७२ मा २४, २०७२÷०७३ मा ५०, २०७३÷०७४ मा ८३, २०७४÷०७५ मा ७२, २०७५÷०७६ मा ३२, २०७६÷०७७ मा ६३ र २०७७÷०७८ देखि हालसम्म ३० वन्यजन्तु सडक दुर्घटनामा मारिएको तथ्यांक निकुञ्जमा रहेको छ ।

निकुञ्जमा रहेका वन्यजन्तुका कारण आसपासमा रहेका बस्तीमा धानबाली तथा मानवीय क्षति समेत हुने गरेको पाइन्छ । आ.व. २०७०÷०७१ देखि हालसम्म निकुञ्जले राहतका लागि ५६ लाख ४ हजार ७८ रुपैयाँ वितरण गरेको पत्रकार सम्मेलनमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले बताए ।


निकुञ्जले वन्यजन्तु जोगाउन, उनीहरुको संरक्षण र सुरक्षाका लागि विभिन्न खालका गतिविधि गर्दै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाह बताउँछन् । उनले निकुञ्जमा वन्यजन्तुको आहारा बढाउने, पानीको व्यवस्थापन गर्ने, चोरी शिकारी नियन्त्रणका लागि निगरानी गर्ने, वन्यजन्तुको व्यवहार अध्ययन गर्ने कार्य भैरहेको जानकारी दिए ।


निकुञ्ज भित्र रहेको सडकमा गुड्ने यातायातका कारण हुने दुर्घटनामा वन्यवन्तुको ज्यान जान थालेपछि यातायातको गति ४० किलोमिटर प्रतिघण्टा निर्धारण गरिएको प्रमुख संरक्षण अधिकृत शाह बताउँछन् । ‘छड्के चेकजाँच गरेर ५० किमि प्रतिघण्टासम्म कुटाउनेलाई सम्झाउने र सो भन्दा बढी स्पिडमा कुटाउनेलाई कारवाही गर्न थालेका छौं’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया