साइकल चेनले सहरसँग सम्बन्ध स्थापित गर्दैछ

सतिश निरौला
संयोजक, टूर दि ठाकुरद्वारा– २०२१

साइकल पनि अभियान बन्यो है ! किन होला ?
साइकल नेपालगन्ज मा प्रसस्त चल्ने र आम मानिसको दैनिक जीवन सङ्ग जोडिएको सवारी साधन हो । ६० को दशक सम्म पनि थोरै मानिसको पहुँचमा मोटरसाइकल र जीप कार थिए । तर, त्यस यता मोटरसाइकल र कारको प्रयोग बढेसंगै साइकल बिस्तारै बिस्थापित बन्दै गयो । त्यसैले फेरि अभियान कै रूपमा साइकललाई लिएर हामी हिडेका छौं ।
ब्यक्तिगत लगावबाट कि माहोलमा साइकल अभियान ?
साइकलले मानवीय स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने, यो वातावरण मैत्री भएको र खेलका रूपमा समेत साइकल जबर्जस्त रूपमा स्थापित हुँदै गएको र साइकलमा गाउँ शहर घुम्ने प्रचलन बढे सङ्गै साइकल अब पर्यटनको पनि एउटा महत्वपूर्ण माध्यम बनेको छ, त्यसैले जारी छ साइकल अभियान ।
साइकल मैले कक्षा ६ पढ्दाबाट शुरु गरेको र क्याम्पस आइए पढ्दासम्म निरन्तर चलाए, त्यसपछि नेपालमा नाकाबन्दीसंगै पेट्रोलियम पदार्थको अभाव भयो अनि मैले फेरि साइकल चढ्न थाले त्यसलगत्तै हामीले नेपालगन्जमा साइक्लिङ्ग क्लब गठन गरियो । अनि त यो अभियानको एउटा सदस्यका रूपमा निरन्तर रूपमा क्रियाशील छ, त्यसैले यो साइक्लिङ्ग प्रति को रुचि र लगावले नै लागियो साइकल अभियान मा ।
नयाँ कुरा हो टूर दि ठाकुरद्वार ? कि सिको ! अवधारणा जान्न चाहेको !
टूर दि ठाकुरद्वार पश्चिम नेपालका लागी नौलो नै हो । नेपालका केहि शहर काठमाडौ र पोखरा केन्द्रित केहि साइकलका इभेन्टहरु भएको हामीले देख्यौं, अनि फ्रान्समा हुने गरेको टुर डे फ्रान्स पनि भएको देखियो जुन कार्यक्रमले संसारभरका मानिसलाई फ्रान्स घुम्ने निमन्त्रणा गर्छ । अनि हामीले पनि निधो गरियो, नेपालभरका मानिसलाई नेपालगन्ज घुम्न किन नबोलाउने ? अनि शुरु गरियो टुर डे ठाकुरद्वार जसको पहिलो संस्करण २०७५ मा भएको थियो भने अहिले हामी तेस्रो सस्करणमा छौं र शुरुआत देखि तेस्रो सम्म आउँदा कार्यक्रम संयोजकका रूपमा जिम्मेवारी निभाउन पाउँदा म निकै उत्साहित छु ।
यसपटकको विशेष के हुन्छ टूर दि ठाकुरद्वारमा ?
यसपटकको संस्करण मा पुग्दा हामीले कार्यक्रमलाई २ दिन बाट ३ दिनमा बिस्तार गरेका छौं । अझ नेपालगन्ज बाहिर बाट आउने साइक्लिस्टहरु त २२ गते नै नेपालगन्ज आइपुग्ने हुँदा कार्यक्रम ४ दिनसम्मको बन्न पुगेको छ । हामीले यसपटक नेपालगन्ज सिटी सफारीसँगै नेपालगन्ज आसपासका क्षेत्र, बढैयाताल, कृष्णसार, नेपालकै लामो पुल, बर्दिया रास्ट्रीय निकुञ्ज, ठाकुरबाबा मन्दिरसँगै बर्दियाको सिमसार क्षेत्र जुन बारबर्दिया नगरपालिकामा पर्दछ । सत्खलुवा ताल र त्यहाँ को होम स्टे अनि बासगढीमा रहेको ॐ केदारेश्वरधाम समेत घुमाउछौं ।
साइकल गाथा पनि लेख्नुहुन्छ ! खासमा के प्रवाह गर्न खोज्नु भएको हुन्छ ?
मैले दैनिक नेपालगन्जमा साइकल गाथा नियमित रूपमा लेख्दै आएको छु जुन नौलो स्तम्भ पनि हो । साइकल कै कथा र बिषयमा निरन्तर लेखिराख्ने प्रयास गरेको छु यसमा बिशेष रूपमा शहरमा साइकल लेन, साइकल मैत्री शहर, साहसिक खेलकूदका रूपमा साइकल, स्वास्थ्य, पर्यावरण र पर्यटनलाई कसरी साइकल सङ्ग जोड्ने, दैनिक जीवनमा साइकल प्रयोग गर्ने आम मानिसका कथा नै अहिलेसम्मको प्राथमिकतामा छन् ।
टूर दि ठाकुरद्वारलाई निरन्तर लैजान के गर्ने सोचाइ छ ?
टूर दि ठाकुरद्वार अब हाम्रो मात्र नभएर सिङ्गो बाँके र बर्दिया जिल्ला कै कार्यक्रम हो । यसले नेपालगन्ज शहरलाई स्थापित गरेको छ । साइकलको चेनले नेपालभरीका मात्र होइन, भारतीय प्रमुख शहरसँग पनि नेपालगन्जको सम्बन्ध स्थापित गरेको छ । बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा मुख्य भूमिका निर्वाह गरेको छ, त्यसैले यो कार्यक्रमलाई हामी निरन्तरता दिने छौं ।

टूर दि ठाकुरद्वारमा किन सहभागिता जनाउने ? आकर्षक पाटो !
प्रकृति, वातावरण , सस्कृति र धार्मिक क्षेत्र, जीवजन्तु र जङ्गललाई हामीले जोडेका छौं । एउटा कार्यक्रममा आएर मन्दिर पनि घुम्ने, निकुञ्ज भ्रमण गर्ने पाटेबाघ, एकसिङ्गे गैडा लगायत जनावर र पंक्षीको अवलोकन, तथा थारु संस्कृति र खानपान सबै एकैपटक एउटै कार्यक्रममा हुनु नै यसको बिशेषता हो र पर्यटन प्रवद्र्धनका लागी यसमा सहभागिता जनाउने हो ।

प्रतिक्रिया

प्रतिक्रिया