साइकल विशेष : साइकलको लतले अभियन्ता

साइक्लिङ्ग पनि पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यम हो भन्ने कुरा कोभिड पछि अझ जोडतोडका साथ सिद्ध हुँदैछ ।

गगन थापा
अध्यक्ष
नेपालगन्ज साइक्लिङ क्लब

‘तपाईलाई बाटोमा साइकल कुदाउँदै हिडेको देख्दा कस्तो पागल होला मान्छे, बैशाख जेठको घाममा पनि साइकल कुदाउँदै हिड्छ भनेका थिएँ, आज म स्वयं जेठ महिनाको घाममा साइकल कुदाएर हिडिंरहेको छु,’ साइकलको फाइदा थाहा पाएपछि साइकलको लत लागेका एक जना साथीले मलाई पुराना दिनको सम्झँना दिलायो । नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष गगनसिंह थापासँग दैनिक नेपालगन्जले कुरा गर्दै जाँदा थाह पायो, उनीमा साइकलको लत राम्रैसँग छ । ‘मैले चैत–बैशाख न असार– साउन नत पुष–माघ नै प्राय म एक्लै पागल झंै, साच्चै पागलझैं कहिले, कोहलपुर बासगढी त कहिले देउराली– हर्रे त कहिले रुपैडिहा– बहराइच साइकलमा हुइकी रहन्थें,’ टूर दि ठाकुरद्वाराको सन्दर्भमा संवाद गर्दा उनका निजी कुरा झनै चाखलाग्दा भेटिए ।

५ वर्ष अगाडी साइकल र मोटरसाइकल संगसंगै किनेका थापाले मोटरसाइकल २४ हजार किलोमिटर कुदाएका रहेछन् । ‘साइकल ५५ हजार किलोमिटर कुदाइसकेको छु,’ अति आवश्यक बाहेक प्रायः म साइकल नै चढ्ने बानी बसाएका उनी विभिन्न समयमा गर्ने लामो लामो राइड पनि नियमित जस्ता हुन थालेका छन् ।

‘धेरैलाई भन्ने गर्थें, साइकल चलाउँदाका बहुआयामिक फाइदा छ, शारिरिक, मानसिक, वातावरणीय र आर्थिक पनि,’ आफ्नो साइकल अभियान बारे नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष थापाले खासैले चासो नलिएको सम्झँदै भने, ‘मनमा अठोट लिएको थिएँ, नेपालगन्जलाई स्वस्थ बनाउने हो भने नेपालगन्जमा साइकल चलाउँदै हिड्नु गर्वको कुरा हुने छ ।’


अझैपनि उनको कल्पना छ, ‘नेपालगन्जमा पनि साइकल लेन हुनेछन् । सहर स्वच्छ र सफा हुने छ ।’ अब जब बिस्तारै साइकल प्रयोगकर्ता नेपालगन्जमा पनि बढ्दै छन् । ‘मैले कल्पना गरे अनुरुप ५५ प्रगति भएको देखिसकेको छु, यद्यपि यति छोटो समयमा यो पनि ठुलै उपलब्धी हो,’ एकोहोरो बोलिरहेका थापालाई दैनिक नेपालगन्जले कुरा रोकेरै टूर दि ठाकुरद्वाराको सेरोफेरोमा संवाद थाल्योेः

नेपालगन्ज साइक्लिङ क्लब खासमा कस्तो संस्था हो ?
एक्ला एक्लै साइकल चलाउने हामी नेपालगन्ज वरपरका साथीहरु एक भएर सामुहिक रुपमा साइकल चाएर समाजमा सन्देश दिन सजिलो होस् भन्ने लागेर ४ वर्ष पहिले यसको गठन भएको संस्था हो । जिल्ला खेदकुद संघमा दर्ता रहेको यस क्लबको मुख्य नारा नै ‘स्वस्थ्य, वातावरण र आन्तरिक पर्यटन’ भन्ने छ । वास्तवमा साइक्लिष्टहरुलाई संगठित गर्दै सामाजिक कार्यमा अपनत्व प्रदान गर्ने संस्था हो ।

स्थापना देखि अहिलेसम्म यो संस्थाले गरेका सार्वजनिक सरोकारका काम बारे जानकारी दिनुस् न !

साइकल चलाउन जागरुकता आओस् भन्नका लागि दर्जनौ साइक्लिङ्ग कार्यक्रमहरु गरिसकेको छ । साइक्लिङ्गका खेलाडी उत्पादन होस भनेर विभिन्न साइक्लिङ्ग खेलहरु, स्वस्थ्य, वातावरण सम्बन्धी दिवसहरुमा चेतनामूलक ¥याली, पर्यटन प्रवद्र्धनका लागि यात्राहरु गरेका छौं ।
टूर दि ठाकुरद्वारको तेस्रो संस्करण आयोजना गरिरहँदा अघिल्ला संस्करणलाई कसरी सम्झँने ?
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो अभियान थालिएको हो । ठाकुरद्वारा जो पश्चिम नेपालकै एउउटा त्यस्तो पर्यटन गन्तव्य जस्लाई बिश्वले प्राथमिकता सूचिमा राखेको छ, तर हामीले खासै महत्व दिइरहेको छैनौं ।


यसलाई नेपाल भरिका साइक्लिष्टलाई लिएर आएर प्रचार गर्न सकिन्छ भन्ने बिस्वासका साथ २ वर्ष अघि सुरु गरिएको कार्यक्रम हो, टूर दि ठाकुरद्वारा । ५० जना साइकल यात्री सहित सुरु गरेको यो यात्राको तेस्रो वर्षमा आइपुग्दा तीन गुणा बढी साइकल यात्रीलाई बाँके र बर्दियाका विभिन्न पर्यटकीय स्थल अवलोकन गराउँदै ठाकुरद्वारा लैजादै छांै । जहाँ नेपालका ७ प्रदेश, २० जिल्लाका साइकल यात्री लैजादै गर्दा बिगत भन्दा स्तरिय र सरकारी निकाय त्यसमा पनि पर्यटन सङ्ग सम्बन्धित निकायहरुले अपनत्व लिएको हामीले पाएका छांै । त्यसैले यस पटक, यस क्षेत्रमा पर्यटन ब्यवसायीहरुको संस्था नाट्टा बाँके च्याप्टरसंगको साझेदारीमा यो कार्यक्रम गर्दैछौं ।

आज आयोजना हुने टूर दि ठाकुरद्वारको यो संस्करणको विशेष पक्षलाई कसरी चर्चा गर्नुहुन्छ ?
कोभिडका कारण मुर्झाएको पर्यटन गतिविधिलाई यस क्षेत्रमा चलायमान गराउन कोशेढुङ्गा हुने बिश्वास लिएका छौं । जहाँ एकै पटक देशका सातै प्रदेश, र देशका सबै मुख्य सहरका पर्यटक आउदै छन् भने छिमेको मुलुक भारत बाटपनि १० जना पर्यटक आइपुग्नु भएको छ । त्यसले दिने सन्देश पक्कै पनि सुखद हुनेछ । नेपाल पर्यटन बोर्डले अपनत्व लिनु, बाँके र बर्दियाका पालिकाहरुले स्वामित्व लिइदिनु र यहाँको निजी क्षेत्रले आफ्नो कार्यक्रम हो भन्दै सहकार्य गर्नुले यस यात्राको महत्व बढेको अनुभूति भै रहेको छ ।


साइकल यात्रु वा अभियन्ताको दृष्टिबाट तपाईले यतिबेला उठाउनु पर्ने महत्वपूर्ण विषय के होला ?

साइक्लिङ्ग पनि पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यम हो भन्ने कुरा कोभिड पछि अझ जोडतोडका साथ सिद्ध हुँदैछ । त्यसैले साइकल यात्रीको सुरक्षाका लागि अबका सडकहरु साइकल मैत्री हुनु पर्यो । साइकल पर्यटनका लागि विभिन्न साइकल ट्र्याकहरु बन्नु पर्यो र साइकल खेललाई बढाउनको लागि उचित साइकल ट्रेलहरु निर्माण हुनु पर्छ । नेपालगन्ज उपमहानगरपालिकालाई हामीले ध्यानाकर्षण पनि गराइरहेका छौं ।

प्रतिक्रिया

प्रतिक्रिया