सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गर्नुभएको थियो । संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले बिहीबार आमहडताल आह्वान गरेको हो । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ ।
बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न “जनतालाई किन दुःख दिनुप¥यो ?”
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोध्नुभएको छ । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुप¥यो ?” भनी प्रश्न गर्नुभएको हो । उहाँले जनताले बन्द नभई निर्वाचन चाहेको बताउनुभयो । “बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्”, उहाँले भन्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाउनुभयो । उहाँले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृद्ध नेपाल, र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गर्नुभयो । उहाँले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकाले काम अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुकुम्बासीको समस्या समाधन नगर्दा देशको समस्या समाधान हँुदैन । तपाईहरुको समस्या समाधान नगर्दा जनताको उद्देश्य पूरा हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले सरकार आफ्नो उद्देश्यमा असफल हुन तयार छैन । सुकुम्बासीको समस्या समाधान हुन्छ ।” “पार्टीमा एउटा शुद्धीकरण हुनै पर्दथ्यो । तपाई सबैले देख्नुभयो । पार्टी पार्टी जस्तो थियो र ? पार्टी झैँ चलेको थियो र ? पार्टी जस्तै चलेकै थिएन ?” उहाँको भनाइ रहेको थियो, “पार्टी पार्टी जस्तो नचलेकाले एउटा किनारा लाग्नुपर्ने थियो । त्यो आफ्नै ढङ्गले किनारा लाग्यो ।”