‘प्रकृतिको अनुपम उपहार नेपालगन्ज पर्यटकको प्रवेशद्वार’

नेपालगन्जको ‘ब्रान्डिङ’ गरिने भएको छ । त्यसका लागि पर्यटक प्रवद्र्धन मञ्चले सरोकारवालाहरु बीचबाट नारा तय गरेको छ । ‘प्रकृतिको अनुपम उपहार नेपालगन्ज पर्यटकको प्रवेशद्वार’, बैठकबाट सर्वसम्मत रुपले नारा तय गरिएको जानकारी दिंदै मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले भने, ‘खासगरी भारतीय पर्यटकहरुलाई नेपालगन्जको बाटो नेपाल आउन प्रचारप्रसार गरिनेछ ।’


अर्बौ लगानीका भौतिक पूर्वाधारहरु तयार भएको नेपालगन्जमा पर्यटन प्रवद्र्धनका लागि सम्बद्ध व्यवसायीहरु मञ्चमा संगठित छन् । मञ्चको मंगलबार बसेको बैठकले टुर डि ठाकुरद्वारालाई पर्यटन प्रवद्र्धनको आयोजनाका रुपमा लिंदै सक्रिय साझेदार बन्ने समझदारी पनि तय गरेको छ ।
‘टुर डि ठाकुरद्वारामा मञ्च आबद्ध सबैलाई आमन्त्रण गर्ने निर्णय गरेका छौं’, संयोजक श्रेष्ठले भने ।
बैठकले विद्युतको डिमाण्ड शुल्कका सम्बन्धमा पर्यटन व्यवसायीहरु अवसरबाट वञ्चित भएकाले सरकारी दायराभित्र पार्न पहल लिने निर्णय पनि गरेको छ ।


सरकारले कोरोनाबाट जोगिन चैत्रदेखि गरेको नाका नियमन खुकुलो पार्दै गएपनि पछिल्लो निर्णयको स्पष्ट नभएको भन्दै मञ्चले सम्बद्ध निकायसँग स्पष्टताका लागि पहल लिने निर्णय पनि गरेको संयोजक श्रेष्ठले जानकारी दिए । ‘वास्तवमा सरकारले के गर्न खोजेको हो भन्ने कुराको प्रष्टता सीमा नाकामा देखिंदैन’, श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘पर्यटकलाई मात्रै दुःख दिने गरी नाका नियमन गर्दा नोक्सानी मात्रै छ ।’

प्रतिक्रिया

प्रतिक्रिया