नेपालगन्जको धम्बोझी चोकमै पश्चिमाका लागि चल्ने यातायातका साधनलाई ट्राफिक प्रहरीले पछाडि धकेलिदिएको छ । प्रहरीले सार्वजनिक यातायात बसपार्कबाट मात्रै चल्नका निर्देश गरेको छ ।
यसअघि धम्बोझी चोक पश्चिम लाग्ने यातायातका साधनलाई केही पछाडि धकेलिदिएपछि त्यसको सास्ती यात्रु तथा त्यहाँसम्म पुर्याउने साना इरिक्सा जस्ता सवारी साधनले पाउने गरेका छन् । उसो त बसपार्क भित्रैबाट सार्वजनिक सवारी सञ्चालन हुने भएपछि बाहिर मानिस खोसाखोस र होटलबाट कमिसन दिएर यात्रु उठाउने कार्यमा पनि कमी आएको छैन । बसपार्कमा खटिएको प्रहरीले स्पष्ट रुपमा बसपार्क बाहिरबाट यात्रु तानातान र सार्वजनिक यातायातका कर्मचारीलाई काउन्टर बाहिर सडकमा पुगेर यात्रु तानातान गर्न रोक लगाएको छ ।
धम्बोझी चोक पश्चिम भने प्रहरीकै अगाडि यात्रु तानातानको तमासा हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले धम्बोझी पश्चिम चल्ने सवारीका कारण चोकमा हुने अव्यवस्थालाई रोकेपछि यात्रु तानातान रोकेको छैन ।
यात्रु तानातान हुँदा सास्तीको गुनासोपछि मंगलबार धम्बोझी पश्चिम तर्फ चल्ने यात्रु खिचातानीको अवस्था हेर्न दैनिक नेपालगन्जकर्मी पुग्दा चोकबाट पश्चिम लाग्ने प्रत्येक इरिक्सा र रिक्साका सवारीलाई एउटा समूहले सोध्दै थियो, ‘कहाँ जाने हो ?’ बर्दिया जाने सवारीले बताएपछि ५÷७ जनाको ग्रुपले उनीहरुलाई घेर्न सुरु गर्यो । इरिक्सा अगाडि बढ्दै थियो, एक व्यक्तिले इरिक्साको अगाडिको चक्कामा आफ्नो खुट्टा राखेर अगाडि बढ्ने नदिने, मेरो पालो हो भन्दै सवारी ओराले । अनि सुरु भयो खोसाखोस ।
यात्रा गर्न चाहने यात्रुले आफैले कति बजे कुन सवारीमा जाने भन्ने निर्णय गर्न स्वतन्त्र छन् । तर, यातायातका साधनका कर्मचारीले जबर्जस्ती गर्ने गरेको पाइन्छ । यस्ता जबर्जस्तीमा भने नियामक निकायले वेवास्ता गर्ने गरेको पाइन्छ ।
यसरी सवारी यात्रु तानातान गर्नेमा कर्मचारी बाहेकका दलाल पनि खटिने गरेको पाइन्छ । जसले यात्रु सवारीसाधनसम्म पुर्याए वापत निश्चित कमिशन लिने गरेका छन् । तोकिएको स्थानबाट सवारी साधन चल्ने यात्रुहरु आफै पनि त्यहाँसम्म पुग्ने गर्दछन् । तर, बिचौलियाहरु कमिशनको लोभमा यात्रुको झोला नै कब्जा गरी सवारीसाधनसम्म पुर्याउने गरिएको पाइन्छ ।
मंगलबार बर्दिया जान लागेका राम चौधरीले यात्रुको तानातान पछिल्ला दिन झन् बढ्दै गएको बताउँछन् । ‘जाने मान्छे आफै सवारीसाधन खोजेर जान्छ यहाँ त तानातान गरेर हैरान परिन्छ’, उनले भने ।