
बुर्काभित्र बुर्काबाहिर स्तम्भमा आज स्थानीय निकायको अवस्था, स्थानीय निकायमा महिलाको सहभागिता, स्थानीय निकायमा महिलाहरुको अस्तित्व र उनीहरुको भुमिका जस्ता विषयवस्तुमा केन्द्रित रही यो आलेख तयार पारिएको हो । राजतंत्रको अन्त्य र गणतंत्रको स्थापना पश्चात करिब दुई दशकपछि स्थानीय चुनाव भयो । यसरी गणतांत्रिक शासन व्यवस्था अन्तर्गत स्थानीय तहको निमार्ण हुनु देशव्यापी रुपमा पहिलो अनुभव हो । यस कारण स्थानीय तहको चुनाव पश्चात स्थानीय निकाय र जनप्रतिनिधिहरु संरचनालाई बलियो रुपमा स्थापित गर्नका लागि निरन्तर सिक्दै अगाडि बढ्दै छन् ।
आलेखको पहिलो खण्डमा नेपालगन्जको पुरैना स्थित बिर्ता बसोबास गर्ने लामो समय देखि खाद्यान्नको व्यापार गर्दै आइरहेकी स्थानीय चुनावमा निर्वाचित मुस्लिम महिला नन्कई पठानसंग गरिएको कुराकानी र दोस्रो खण्डमा स्थानीय निकायको वास्तविक अवस्था, स्थानीय निकायमा महिलाको उपस्थिति, उनीहरुको भूमिका, चुनौती, राजनीतिमा महिला सकृयता बढाउन गर्नुपर्ने आवश्यक पहल आदि विषयमा बृहत चर्चा गर्नेछौं । सुरुमा नेपालगन्जको पुरैना वडा सदस्यमा निर्वाचित नन्कइ पठान संगको छलफलको केही भाग उहांकै अनुमतिमा ।
तपाई आफ्नो परिचय दिनुस् न ?
म एक व्यापारी हुँ, लामो समय देखि व्यापार गर्दैछु । साथै म उपमहानगरपालिका नेपालगन्जको वडा नं. २२ को महिला वडा सदस्यमा जिति आएर हाल वडा महिला सदस्य र कार्यपालिका सदस्यको रुपमा आफ्नो भूमिका निर्वाह गर्दैछु ।
खास के गर्दै हुनुहुन्छ आजभोलि ?
के गर्नु बैनी त्यही हो ‘मुल्लाके दौड मस्जिद तक’ घर देखि वडा कार्यालय सम्म वडा कार्यालय देखि जिल्ला समन्वय समिति सम्म यसरी नै बित्दैछ दिनचर्या । समुदाय स्तरका झैझगडा आफै पनि मिलाउने र आवश्यक परे सम्बंधित निकाय सम्म लगेर समाधान गराउने गर्छु ।
तपाई कुन दलबाट चुनाव लड्नुभयो ?
मैले मधेशी फोरम पार्टीबाट चुनाव लडेकी थिएँ र जीते पनि ।
तपाई यो दलमा कहिले देखि आबद्ध हुनुहुन्छ ?
जब देखि चुनाव लडे तबदेखि आबद्ध छु । त्यो भन्दा अघि राजनीतिमा जोडिएकी थिइन् ।
चुनाव लड्नु अघि कुन दलमा आबद्ध हुनु हुन्थियो ?
म चुनाव अघि कुनै दलसंग आबद्ध थिइन । जब स्थानीय चुनावको समय नजिक आयो तब मेरो पार्टीबाट वडा अध्यक्षका लागि उम्मेदवारी दिने व्यक्ति आएर मलाई चुनाव लड्नुस् सबै लगानी म गर्छु भन्यो । ऊ पटक पटक मेरो घरमा धाइराखे पछि म चुनावमा उठें ।
त्यो भन्दा अघि के गर्नुहुन्थ्यो तपाई ?
म एक कुशल व्यापारी थिएँ र चुनाव भन्दा पहिला म खाद्यान्नको व्यापार गर्थे । सिजन अनुसारको अन्न उत्पादन भएपछि त्यसलाई कृषकहरुसंग किनेर बेच्ने गर्थे ।
भन्नाले तपाई स्वेच्छाले चुनावमा उठ्नु भएन ?
जब म कुनै दलसंग आबद्ध हुन्थे र दलले टिकट दिने नदिने कुरा गथ्र्याे । अनि म उठ्ने न उठ्ने भन्थे भने इच्छाको कुरा हुन्थ्यो । तर चुनाव लड्नु अघि म कुनै दलमा आबद्ध नै थिएन । त्यसकारण वडा अध्यक्षका लागि उठ्ने व्यक्तिले अनुरोध गरेसी मधेशी फोरमबाट चुनावमा उठें ।
मधेशी फोरमबाट नै किन ?
आउन त मेरो पसलमा अरु दलका प्रतिनिधिहरु पनि आउने गर्थे । चुनावको विषयमा उनीहरु छलफल गर्दा म सुन्ने गर्थे । तर जब मधेशी फोरम प्रतिनिधिले यो दलको घोषणापत्र यसको उद्देश्यहरु बारे विस्तृत जानकारी गराए । त्यसपछि मेरो चित्त बुझ्यो र मैले यही दललाई रोजे । दुर्भाग्यवश म मेरो पुरै पैनलसाथ जितेर आउन सफल हुन सकिन ।
तपाईको पुरा पैनल त जित्न सके् सो फरक दलका प्रतिनिधिहरुसंगको कार्यानुभव कस्तो छ ?
हजुर मेरो वडा अध्यक्ष माओवादी पार्टीबाट हुनुहुन्छ र म संगै जितेर आउने महिला सदस्य पनि माओवादीबाटै हुन् । दलगत कुरा गर्दा हाम्रो वैचारिक मत फरक त हुनै भयो । साथै महिलालाई सहसजता स्वीकार गर्न सक्ने सोचको विकास नभइसकेकोले पनि मलाई गाह्रो भएकै हो । महिला सदस्य हात्तीको देखाउने दाँत सरह मात्र थियौं टाउको गन्नलाई । अध्यक्षले मेरो कुरालाई सहजै रद्द गरिने सुझावलाई अस्वीकार गर्ने समय समय होच्याउन खोज्ने जस्ता व्यवहार त भोगेकै हुं । महिला भनेर बेवास्ता गरिन्थ्यो निर्णय र योजना तय गर्ने बेला हाम्रो अर्थ पूर्ण सहभागिता हुदैनथ्यो । पुरुषहरुले आफ आफै सब तय गरी हामीमाझ फैसला प्रस्तुत गर्ने गर्थे हामी पनि जनताको काम हो हाम्रो कारणले गर्दा नरोकियोस् भनी हस्ताक्षर गरिदिन्थ्यौ । तर पछि मैले एउटा रणनीति अपनाए जसले गर्दा पछि पछि सहजता हुँदै गयो ।
त्यो व्यवहार भोग्न बाध्य हुन नपरोस् भनी के कस्ता पहल गर्नु भयो ?
हेर्नुस् म त फोरमबाट जितेर आएँ । अनि अर्की महिला माओवादीबाट जितेर आयौं उनी पनि म जस्तै लेखपढ गर्न नस्कने भएकोले अध्यक्षले उनलाई बोलाएर निर्णय गर्न थाले मलाई खबर नै नगरी । अनि मैले उनलाई आफ्नो महत्व बुझाएँ कि हामी दुई जना मात्र महिल छौं हामी फरक दलबाट आएपनि दुबै महिला हौं । त्यसकारण हामी मिलेर जानुपर्छ । नत्र पुरुषहरुले आफ्नो मनपरी निर्णय गरिरहने छन् सो हामी मिलेर जानुपर्छ । जब उनले तिमीलाई बोलाउँछन् तब तिमी मलाई खबर गर्नु र जब उनीहरुले मलाई बोलाउन खोज्छन् तब मैले तिमीलाई खबर गर्छु । हामी मिलेर संगै जाउँला भनी बुझाउँदा उनी बुझिन् अब हामी मिलेरै जाने गर्छौं ।
उसो भए अहिले अवस्था कस्तो छ ?
अहिले हामी दुबै महिला मिलेर जाँदा अध्यक्ष लगायतका सदस्य र कर्मचारीहरुले समेत हामी महत्व दिन थालेछन् । वडा सचिवलाई अध्यक्ष र अन्य सदस्यले कुनै विषयमा निर्णय गर्न लगाउन खोज्दा सचिवले सोझै भन्छन् कि नाईं म उहाँहरुको उपस्थिति बिना गर्न सक्दिन् । अहिले कार्यालयमा हाम्रो सम्मान र सहभागिता हुन्छ ।
दुबै महिला सदस्य एकजुट भएर जाँदा कुनै यस्तो घटना वा मुद्दा छ जसमा तपाईलाई सफलता हासिल भएको होस् ?
हजुर, हामी दुबै जना महिला सदस्य एकजुट भयौं त्यसपछि परियोजना र योजनाहरु बारे हाम्रो सुझाव लिन सुरु गरियो । हालै महिलाहरुको स्वास्थ्य सम्बंधित तालिम संचालन गर्न महिला सदस्यलाई नै जिम्मा दिइयो । हामीले नै तालिममा सहभागी हुने महिलाहरुको छनौट गर्यौं ।
के तपाई आफ्नो पद र पाएको जिम्मेवारीबाट सन्तुष्ट हुनुहुन्छ ?
मानव प्रवृत्ति नै हो कि ऊ आफ्नो यथाअवस्थाबाट कहिल्यै सन्तुष्ट हँुदैन । पैदल हिड्नेले साइकिलको पेक्षा गर्छ । साइकल चढ्नेले मोटरसाइकिलको अपेक्षा गर्छ । मोटरसाइकिल हुनेले चारपांग्रे गाडीको अपेक्षा गर्छ । चारपांग्रे हुनेले हेलिकप्टरको अपेक्षा गर्छ । यस्तै चलिरहेछ यो संसार मेरो अवस्था पनि त्यही हो ।
पैदलदेखि हेलिकप्टर जस्तो माथिका यी उदाहरण दिएर के दर्शाउन खोज्नु भयो ?
मैले भन्न खोजेको कुरा प्रष्ट छ, हाल म महिला सदस्य भएर आफ्नो जिम्मेदारी निर्वाह गर्दैछु । अनि आउने चुनावमा जितेर वडा अध्यक्ष बन्ने विचार गर्दैछु । सोझै भन्दा विकासक्रम संगै म पनि पदीय हिसाबले माथि पुग्ने इच्छा अपेक्षा राखेकी छु ।
तपाई वडा अध्यक्ष लड्न सक्ने आँट आउनुको मुख्य कारण चाहि के होला ?
मैले वडा सदस्य र कार्यपालिका सदस्यको रुपमा आफ्नो जिम्मेवारीहरु पूर्ण रुपले निर्वाह गरी जनसमुदायको मन जित्न सफल भएकी छु । गत चुनावमा पनि भोट संख्या गणना हुँदा सबभन्दा बढी मत मेरै थियो अध्यक्षको मत भन्दा पनि मेरो मत बढी थियो । कार्यपालिका सदस्यको गठन हुँदा पनि मेरो भोट बढी नै थियो । यस कारण म विश्वस्त छु कि यदि मैले वडा अध्यक्ष पदका लागि चुनाव लडे भने पक्कै जित्नेछु । किनभने मैले समुदायमा काम गरेछु आफ्नो जिम्मेवारी निर्वाह गरेछु गफ मात्र गरेछैन् त्यसकारण पार्टीले टिकट दियो भने अवश्य लड्ने र जित्ने छु ।
परिवेश
आज हाम्रो सामाजिक परिवेशको कुरा गर्ने हो भने करिब दुई दशक पछि मात्र स्थानीय चुनाव भएको हो । संविधान ऐन अनुसार ३३ प्रतिशत महिला अनिवार्यको प्रावधान आयो जबको फलस्वरूप प्रमुख र उपप्रमुख मध्ये एक जना महिला अनिवार्य राख्नु पर्यो । तर महिलाको कोटा पुरा गर्ने उद्देश्यले पार्टीका सदस्यको परिवार, आफ्ना नातागोता, आफन्त, नजिकका परिवार आदिबाट राजनीतिक सामाजिक कार्यको अनुभव नभएकै महिलाहरुलाई उठाइयो । अवस्था यो छ कि उनीहरुलाई आफ्नो काम कर्तव्यका दायरा र जिम्मेवारी अधिकार क्षेत्र बारे पुर्ण जानकारी छैन् । कसै कसैलाई जानकारी हँुदै गइरहेछ । उनीहरुले सिक्दै आफ्नो काम गर्दैछिन् । सुरुमा कुनै अनुभव बिना नै चुनावमा उठेपनि अनुभव हुदैं जाँदा उनीहरुमा राजनीति प्रतिको चासो र इच्छा पनि बढ्दै गइरहेको छ । कहीं महिला वा पहिलाको परिवार सदस्य दरो रुपमा उभिदा काम गर्न सजिलो छ जहा जहां महिला कमजोर छिन् त्यहाँ उनीहरुलाई दबाइएर राखिएछ । समग्रमा हेर्दा यो एउटा ठुलो राजनीतिक क्रान्ति हो । एक त महिलाहरु आफै स्थानीय निकायको काम काजमा कुनै चासों लिदैनन् यो भनेर कि यो अध्यक्षले गरे वा हेरे भइहाल्छ । भने अर्को तिर पुरुषहरु नै प्रमुख भएर आएका हुनाले उनले महिलाहरुलाई नटेर्ने उनीहरुको कुनै अस्तित्व नै रहेको झै व्यवहार गर्दैछन् । कहीं कदम कदाचित कुनै महिलाले आंट गरेर स्थानीय निकायका काम काजमा रुची राख्दा उनीहरुमाथि दबाब सृजना गरिन्छ यो व्यवहार खास गरी बजेट बिनियोजन र बजेट निस्कासनको बेलामा गरिन्छ । तर पनि सबै निर्धारित समय देखि स्थानीय निकाय वजूदमा छ र आफ्नो सेवा प्रवाह गरिरहेछ । स्थानीय निकाय भ इ सकेपछि जहाँ जनतालाई सजिलो भएछ त्यहीं भ्रष्टाचार पनि बढेछ ।
चुनौती
राजनीतिक र सामाजिक कार्यको अनुभव नै नभएका महिलाहरु आएका हुनाले स्थानीय निकायमा सेवाग्राहीहरु समस्या खेप्नु पर्नेहुन्छ । सम्बन्धित विषयमा आफु विज्ञ नहँुदा गरिएका कार्यमा दक्षता नहुन सक्ने सम्भावना बढी रहन्छ । नियम कानून बारे जानकारी छैन । जसले गर्दा उनीहरुलाई अरुको सहयोगको खाँचो पर्ने गर्छ । महिलाहरुप्रति जनसमुदायको विश्वास कम छ जसले गर्दा उनीहरुलाई असक्षम ठानी उनीहरुलाई महत्वपूर्ण निर्णयहरुमा समेत सहभागी गराइँदैन ।
सिकाइ
गणतन्त्र पछिको पहिलो स्थानीय चुनावले धेरै कुरा सिक्ने अवसर प्रदान गरेकोछ । अहिलेको स्थानीय निकाय र जनप्रतिनिधिहरुको सकृयता, इच्छाशक्ति र अवसरले मानिसलाई दक्ष बनाउँछ भन्ने सिकाइ भयो । हालको अनुभव समेटेर अगामी दिनमा महिलाहरुले नेतृत्वकारी भुमिका निर्वाह गर्न सक्ने हुनेछिन् । महिलाहरुप्रति जनविश्वास बढाउन आवश्यक छ साथै उनीहरु स्थानीय निकायका एक महत्वपूर्ण व्यक्तित्व हुन भनी महसुस गराउन जरुरी छ । यसका साथै महिला जनप्रतिनिधि हरुलाई कानून सम्बन्धी बेला बेला जानकारी मुलक तालिमहरुको आयोजना, कार्य अनुभव साटासाट, वार्षिक समिक्षा जस्ता कार्यक्रमहरु पनि आयोजना गर्नु आवश्यक छ ।
परिकल्पना
महिला र पुरुषको साझेदारीबाट चलिरहेको हाम्रो समाजभित्र भित्र अझ सकारात्मक परिवर्तन हुनेछन् । महिला पुरुष एक अर्काको प्रतिद्वन्द्वी नभइ सहयोगी भएर एक अर्काको काम कर्तव्य र जिम्मेवारी निर्वाह गर्न आ आफ्नो स्थानबाट साथ र सहयोग गर्नेछन् । जसको फलस्वरूप अगामी दिनमा महिला जनप्रतिनिधिहरु सक्षम भइ आ आफ्नो स्तर र स्थानबाट सफल राजनीतिक नेतृत्वकर्ताको रुपमा स्थापित गर्न सक्नेछिन् । महिलामैत्री निकाय र महिलामैत्री समाजको निर्माण हुनेछ ।