भेरी अस्पताल नेपालगन्जमा कार्यरत स्वास्थ्यकर्मीमाथि एउटा अभियानका नाममा सोमबार दुव्र्यवहार गरिएको छ । आफुलाई अभियन्ता बताउने ज्ञानेन्द्र शाही सहितको समूह अस्पतालमा पुगेर स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको हो ।
स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारको उजुरी परेसँगै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले बताए । उनले अभियानका नाममा आएको एउटा समूह बाँकेका कार्यालयहरुमा पुगेको खबर रहेको बताएका छन् । ‘अभियान के हो र किन, कति कारणले सरकारी कार्यालय पुग्ने र कर्मचारीहरुमाथि सोधपुछ हुने गरेको हो बुझ्दैछौं’, उनले भने, ‘शाहीको समूहले बाँकेको गरेको क्रियाकलापहरु बारे मंगलबार बुझेर आवश्यक निर्णय लिनेछौं ।’
डियुटीमा खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएपछि घटना बुझ्नका लागि पुगेका डा. विपिन आचार्यमाथि पनि हातपात समूहले गरेको छ । ‘क्यामेरा देखाएर चिकित्सकलाई शान्तिपूर्वक काम गर्न पाउने वातावरण खल्बल्याउने प्रयास भएको छ’, डा. आचार्यले भने, ‘केही समस्या र त्रुटि भए सुझाव दिने, गुनासो गर्ने र सच्याउने लगाउने बाटो हुन्छ, तर डियुटीमा यसरी कर्मचारीलाई सताउनु चाहीँ हुँदैन ।’
नेपाल चिकित्सक संघ भेरी शाखाले आफुलाई स्व.घोषित सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाही र उनका आसेपासेहरूबाट सोमबार भेरी अस्पतालमा चिकित्सक र नर्सिङ्ग स्टाफ माथि गरेको दुव्र्यवहार तथा हातपातप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष डा.बिनोद कर्णले विज्ञप्ति जारी गरेर वर्तमान विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ को समेत कुनै प्रवाह नगरी आफ्नो चिकित्सकीय मर्यादा पालना गर्दा गर्दै चिकित्सक र नर्सिङ कर्मचरीलाई नै हातापत गर्ने प्रवृतिले चिकित्सकीय पेशा असुरक्षित हुन पुगेको उल्लेख गरेका छन् ।
संघको विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा यस्ता प्रकारका अमानवीय क्रियाकलापका कारण सर्व साधारण नागरिकहरुलाई सहज र सरल रुपमा उपचार प्राप्त गर्न समेत कठिन परिस्थिति सिर्जना भएको उल्लेख गरिएको छ ।
संघले स्वास्थ्यकर्मीमाथि हुने अपराधिक क्रियाकलापहरु यथाशिघ्र बन्द गर्दै घटनाका दोषी ज्ञानेन्द्र शाही र उनका आसेपासेहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न माग गरेको छ । चिकित्सक एवं स्वास्थ्यकर्मीको पेशागत सुरक्षाको लागि नेपाल चिकित्सक संघ भेरी शाखा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी समेत संघले दिएको छ ।