कुष्ठरोग बाँकेमा समस्याका रुपमा रहेको छ : शाह
बाँकेमा कुष्ठरोगको प्रकोप दर प्रति दशहजारमा २.२१ रहेको रहेको स्वास्थ्य कार्यालय नेपालगन्जले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख धीर जंग शाहले आ.व. २०७६/०७७ को को अन्त्यमा उपचारमा रहेका बिरामीहरुको प्रकोप दर २.२१ रहेको जानकारी दिए । उनले प्रति १ लाख जनसंख्यामा पत्ता लागेका नयाँ बिरामीको दर २२.१० रहेकाले जिल्लामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रुपमा रहेको जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेशमा आ.व. २०७६÷०७७ मा प्रति दश हजारमा कुष्ठरोगीको दर ०.८३ रहेको छ भने नयाँ पत्ता लागेका बिरामीको संख्या ४ सय ७८ छ । नेपालमा आ.व. २०७६/०७७ मा १ हजार ८ सय ५३ जनामा कुष्ठरोग पत्ता लागेको थियो भने सोही आ.व.को अन्त्यसम्म उपचारमा रहेका कुष्ठरोगीको संख्या २ हजार ४४ रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
६२ औं कुष्ठरोग दिवस आइतबार मनाइएको छ । दिवसको अवसरमा स्वास्थ्य कार्यालयले कुष्ठरोग समग्र अवस्थाबारे जानकारी दिंदै आ.व. २०७६/०७७ मा जिल्लामा १ सय ३३ कुष्ठरोगी रहेकोमा उपचार पछि निको भएका र थप भएका सहित आ.व. २०७७/०७८ को पुस मसान्तसम्म ५३ जना रहेको बताएको छ ।
स्वास्थ्य कार्यालय नेपालगन्जका प्रमुख शाहले कुष्ठरोगको सुरुमै उपचार गरेमा एक व्यक्तिबाट अर्कोमा नसर्ने भएकाले कुष्ठरोगको लक्षण देखिएमा वा शंका लागेमा तत्काल चेकजाँच गराउनु पर्ने बताउँछन् ।