खम्बप्रसाद पुन
पुल निर्माण व्यवसायीको चरम लापरवाहीका कारण बाँकेमा निर्माण भइरहेको एउटा पुल सम्झौता सकिएको ६ महिना बित्दा अहिले आएर निर्माणमा तदारुखता दिइएको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ किरननालको अवलघाट पुल निर्माणमा चरम लापरवाही देखिएको हो । निर्माण व्यवसायीको लापरवाहीको पराकाष्ठा यतिसम्म देखिएको छ कि निर्माण सम्पन्न हुने सम्झौता सकिँदा एक छेउसम्म काम भएको छैन ।
स्थलगत रुपमा हेर्दापनि गुणस्तरहीन खियाँ लागेका छड (सरिया) प्रयोग गरिएको देख्न सकिन्छ । २०७४ फागुन १७ गते निर्माण सम्झौता गरेको गजुरमुखी कन्स्ट्रक्सन प्रालि इलामले २०७७ असार १६ गते म्याद गुज्रिएर ६ महिना पूरा हुँदा पनि निर्माणमा उल्लेख्य प्रगति देखिएको छैन ।
स्थानीयले पटकपटक निर्माण कम्पनीकातर्फबाट आधिकारिक व्यक्ति भरत शाहलाई जानकारी गराउँदा पनि खियाँ लागेका सरिया हटाउन अटेरी गरिएको सम्बद्धहरुको भनाइ छ । एकातिर म्याद सकिएको महिनौंसम्म निर्माण सम्पन्न नहुनु र अर्कोतर्फ गुणस्तरीय सामाग्री प्रयोग हुँदा स्थानीयले आक्रोसित हुँदै निर्माण कम्पनीलाई सचेत गराएको बताएका छन् ।
‘ठेकेदारले ठेक्का लिएको तिनबर्ष पुग्दा पनि जुन हिसाबले पुलको काम जुन हिसाबले अगाडी बढ्नुपर्ने हो त्यो गतिमा बन्न नसकेका तपाईंकै अगाडी देख्न सक्नुहुन्छ,’ स्थलगत रिपोर्टिङमा पुगेका संवाददातासँग स्थानीयवासी कृष्ण प्रसाद पराजुली भने, ‘पुलमा प्रयोग हुने सरिया पनि खिया लागेको प्रयोग भएकाले ध्यानाकर्षण गराइएको हो ।’
स्थानीय उपभोक्ताले पुल बनाउने आधिकारिक ब्यक्ति भरत शाहलाई सरियाको गुणस्तर जाँच गर्ने प्राबिधिक बोलाएर गुणस्तर जाँच गर्न अनुरोध गर्दा पनि वास्ता नगरेको स्थानीय अगुवा पराजुलीले बताए । ‘पुल बन्ने भएपछि निकै हर्षित भएपनि पुल बन्ने क्रममा निकै ढिलासुस्ति हुनुका साथै पुलमा प्रयोग हुने सरियामा निकै खिया लागेकाले भाँच्चिन थालेपछि तताएर ब्याण्ड गरिएको’ स्थानीय देवान थापाले बताए । उनले काम गर्ने ब्यक्ति पनि निर्माण कम्पनीले निकै कम राखेकाले कामले गति लिन नसकेको भन्दै पुलको गुणस्तरमै शंका लागेको पनि जानकारी दिए ।