बाँके : कोरोना खोपमा गम्भीर ‘साइड इफेक्ट’ पाएका छैन

बाँकेमा कोरोना विरुद्धको खोप सुरु भएको तेस्रो दिनसम्म १ हजार २ सय बढीले खोप लगाएका छन् । पहिचो चरणमा बाँकेमा स्वास्थ्यकर्मी र सरसफाईकर्मीका लागि १७ हजार डोज खोप उपलब्ध भएको छ । जसमा बाँकेका आठ स्थानीय तहका स्वास्थ्यकर्मी र सरसफाईकर्मी गरी ७ हजार ५ सयलाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय नेपालगन्जका प्रमुख धीरजंग शाहले जानकारी दिनुभयो ।

बाँकेमा बुधबारबाट आठ वटै स्थानीय तहका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीलाई भेरी अस्पताल नेपालगन्जमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । शुक्रबार कोहलपुर मेडिकल कलेजमा पनि खोप लगाउन थालिएको छ ।

शुक्रबार भेरी अस्पताल नेपालगन्जमा १ सय ९० तथा मेडिकल कलेज कोहलपुरमा ३ सय ८३ जनाले खोप लिएको स्वास्थ्य कार्यालय नेपालगन्जका प्रमुख शाहले जानकारी दिए । कोहलपुरमा मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई लक्षित गरेर खोप लगाउन थालिएपनि बैजनाथ र राप्तीसोनारीका स्वास्थ्यकर्मी त्यहाँ सम्पर्क गरे खोप उपलब्ध हुने उनले जानकारी दिएका छन् ।
बिहीबार भेरी अस्पतालमा ५ सय २४ नेपालगन्जमा, बुधबार १२० जनाले खोप लगाएका थिए । स्वास्थ्य कार्यालय नेपालगन्जले प्रत्येक दिन भेरी र मेडिकल कलेजमा खोप पुर्याउने र बचेको खोप पुनः फिर्ता ल्याएर भण्डार गर्दै आएको छ ।

जनस्वास्थ्य प्रमुख शाह प्रत्येक दिन खोप लगाउने बढिरहेको जानकारी दिन्छन् । ‘खोप नयाँ भएकाले केहीको मनमा त्रास हुनसक्छ, जुन क्रमसँगै हट्दै जान्छ’, उनले भने, ‘खोप लगाएकै कारण बाँकेमा कसैलाई पनि गम्भीर स्वास्थ्य समस्या भएको पाएका छैनौं ।’ उनले अन्य दिन नियमित कामका कारण पनि खोप लगाउन स्वास्थ्य तथा सरसफाईकर्मी आउन नसकेको भएपनि आज शनिबार भएकाले खोप लगाउनेको संख्या बढ्न सक्ने अनुमान गरेका छन् ।
कोभिड १९ विरुद्धको खोप अभियानको तेस्रो दिन देशभर ४६ हजार भन्दा बढीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको छ ।

माघ १४ गते सुरु गरिएको खोप अभियानमा तेस्रो दिनसम्म आउँदा खोप लगाउने व्यक्ति बढेको देखिन्छ । पहिलो दिन ९ हजार ८४ जनाले खोप प्राप्त गरेका छन् भने दोस्रो दिन २८ हजार ७३२ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया