सार्वजनिक यातायातबाट यात्रा गर्दा राजमार्गका होटलमा खाना खानु परे सेवाग्राहीले जहिले पनि चर्को मूल्य तिर्नु पर्दछ । सरोकारवालाले अनुगमन नगर्ने, मूल्य नतोकिदिएका कारण राजमार्गका होटलको मनपरी असुलीमा अंकुश लाग्न सकेको छैन ।
राजमार्गमा रहेका होटलहरुले गाडी रोकी दिए वापत गाडीस्टार्फलाई भत्ता दिने गरेको पाइएको छ । होटलमा गाडी रोकी दिए वापत प्रतिग्राहक ५० रुपैयाँका दरले गाडीवालालाई भत्ता दिने गरेको तथ्य फेला परेको हो । पैसा मात्र होइन सित्तैमा पानी र पेय पदार्थ दिनु पर्दा ब्यवसाय संचालनमा समस्या परेको होटल ब्यवसायीहरुले अनुगमन टोलीलाई बताएका थिए ।
कुनै होटलले प्रति ग्राहक ५० रुपैयाँ गाडी स्टाफलाई दिन्छन् भने केही गाडीवालाहरुले ग्राहकको संख्या हेरेर एक पटकमा रु ५०० देखि १५०० सम्म दिने गरेको तथ्य फेला परेको अनुगमनमा पुगेका उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए ।
स्टाफका नाममा ५/६ जनासम्मलाई सित्तैमा ख्याउनु पर्ने बाध्यता रहेको र ब्यापारीहरुको अनुचित प्रतिस्पर्धाले ब्यवसायमा टिक्ने समस्या परेको होटल ब्यवसायीले बताए । गाडीवालालाई भत्ता दिनु पर्दा त्यसको मार उपभोक्तालाई पर्ने गरेको छ । गाडीवालाको दिएको भत्ता वापतको रकम उपभोक्ताबाट असुली गरी ब्यवसायमा फाइदा उठाउन होटलवालाको प्रबृत्तिले उपभोक्ताले बढी मुल्य तिर्नु पर्ने र खानाको गुणस्तर पनि न्यून हुने गरेको पीडित उपभोक्ताहरुले बताउने गरेका छन् ।
सेवाग्राहीहरुको नियमित गुनासो बीच बाँके स्थित संयुक्त बजार अनुगमन समितिले पूर्व पश्चिम राजमार्गमा रहेका राप्तीसोनारी–१ अन्तरगत पर्ने चप्परगौडी र अगौयाका होटलहरुको अनुगमन गरेको छ ।
बाँके चप्परगौडीको राजमार्गमा रहेका होटलहरुको अनुगमनका क्रममा भान्सा होटल रहेको, कुनै पनि होटलले मुल्य सुचि नराखेको, मुल्यमा एक रुपता भएको नपाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए । अनुगमन टोलीले भान्साको सरसफाई गर्न, कानूनी प्रक्रिया र मापदण्ड पुरा गरेर मात्र ब्यवसाय संचालन गर्न र अनिवार्य रुपमा मुल्य सुचि राख्न निर्देशन दिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए ।
उपभोक्ता हित संरक्षण र बजारको बेतिथि रोक्ने बिषयमा सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय बाँकेमा बैठक भएको थियो । यस अघि बाँकेका उपभोक्ता अधिकारकर्मीले बजारको बेतिथि रोक्न र उपभोक्ता अधिकारको संरक्षणमा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतम, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिशचन्द शर्मा, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, सुचना अधिकारी चौलागाई, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य निरिक्षक प्रेम अर्याल, राप्ती सोनारी गाउँ पालिकाका शिक्षा शाखा प्रमुख जिवन न्यौपाने सम्मिलित टोलीले होटलहरुको सरसफाई, खानाको गुणस्तर र कानूनी मापदण्ड लगायतका बिषयमा अनुगमन गरेको हो ।
गाउँपालिकाले बजार अनुगमन गर्ने
उपभोक्ता हित विपरितका कार्य रोक्न राप्ती सोनारी गाउँपालिकाले बजार अनुगमन गर्ने भएको छ । गाउँपालिकाकी उपाध्यक्ष एवं राप्तीसोनारी उपभोक्ता हित संरक्षण समितिकी संयोजक धनी कुमारी खत्रीको अध्यक्षतामा बसेको समितिको बैठकले उपभोक्ता हित बिपरितका कार्य रोक्न अव देखि नियमित बजार अनुगमन गर्ने निर्णय गरेको जनाएको छ । बैठककले बजार अनुगमन टोली बनाउने उपभोक्ता हित संरक्षणका लागी कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको जनाएको छ ।
बैठकमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतम, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिशचन्द शर्मा, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, सुचना अधिकारी चौलागाई, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य निरिक्षक प्रेम अर्याल,राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर बिक, शिक्षा शाखा प्रमुख जिवन न्यौपाने, प्रशासन शाखाका लोकेन्द्र चन्द लगायतको सहभागिता रहेको बैठकले भावी दिनमा उपभोक्ता अधिकार संरक्षणका बिभिन्न कार्यक्रम गर्ने जनाएको छ ।