
मुलुकलाई कृषि प्रधान ठानिंदा किसानहरुका लागि अनुदानमा रासायनिक मल र विउ उपलब्ध गराउन सरकारले स्थापना गरेको नेपालगन्जस्थित कृषि सामाग्री कम्पनी लिमिटेडमा दैनिक नेपालगन्ज पुग्दा आधा दर्जन ट्रकबाट रासायनिक मल ‘अनलोड’ हुँदै थियो ।
यतिबेला धमाधम मल किन त ? दैनिक नेपालगन्जको प्रश्नमा कम्पनीका प्रवन्धक रमेश पौडेलले उत्साहित हुँदै भने, समयमै किसानका खेतमा मल उपलब्ध गराउन पूर्व तयारी स्वरुप आपूर्ति र भण्डारणको काममा जुटिरहेका छौं ।’ पछिल्लो दुई वर्षयता प्रवन्धकको जिम्मेवारीमा रहेका पौडेल उत्साहित हुनुको कारण यो वर्षको ८० प्रतिशत प्रगति र आउने वर्षका लागि अहिलेदेखिनै मल भण्डारण थालेकाले हो । कम्पनीले आर्थिक वर्ष२०७६/०७७ मा युरिया मलमा १२२ दशमलब ५६,डिएपीमा १०८ दशमलब ३५ र पोटासतर्फ ८० प्रतिशत लक्ष हासिल गरेको प्रवन्धक पौडेलले बताए । उनका अनुसार, युरिया ३ हजार मेट्रिक टन, डिएपी १ हजार ६ सय र पोटास ५० मेट्रिक टन विक्री लक्ष राखिएको थियो । ‘माग अनुसारको आपूर्तिनै चुनौती हो,’ प्रवन्धक पौडेलले भने, ‘आपूर्ति भएपछिको वितरणमा समस्या छैन ।’ ८ जना कर्मचारीसहित काममा खटिएका प्रवन्धक पौडेललाई पद अनुसारको कर्मचारी र दरबन्दी अनुसारको पदपूर्तिका लागि अभावको अवस्था चाहिं छँदैछ ।
चालु आर्थिक वर्षको ६ महिनामा पोटास लक्षभन्दा बढीनै विक्री भइसकेको छ । २ हजार ३ सय मेट्रिक टन लक्ष राखिएको डिएपीमा ७२७ दशमलब ९५० मेट्रिक टन र ४ हजार मेट्रिक टन लक्ष निर्धारण भएको युरिया मल ८१९ मेट्रिक टन विक्री भइसकेको छ । ‘आगामी ६ महिनाका लागि आपूर्ति र भण्डारणमा जुटेका छौं, प्रवन्धक पौडेलले त्यसो भनिरहँदा झण्डै आधा दर्जन ट्रक कम्पनी परिसरभित्र पुगेका थिए भने मजदुरहरु गोदाममा मल भण्डारणमा व्यस्त थिए । कम्पनी परिसरमा १० वर्षअघि वार्षिक १ हजार २६३ मे.टन युरिया वितरणको लक्ष राखेको कम्पनीको नेपालगन्जस्थित कार्यालयले यो वर्ष ४ हजार मेट्रिक टन विक्री वितरण गर्ने योजना बनाएको छ ।
खेतवारीमा रासायनिक मलको प्रयोग घटाउँदै जाने भनिएको छ, तर माग चाहिं किन बढिरहेको छ ? ३२ वर्षदेखि कृषि सामाग्री संस्थानमा कार्यरत पौडेलको भनाइ छ, ‘बैकल्पिक व्यवस्था नहुँदा माग बढिरह्यो ।’ उनका अनुसार, रासायनिक मलको सट्टामा हरियो मल, कम्पोष्ट, जैविक मलहरुको उत्पादन बढाउनेतिर राज्य र सरोकारवालाहरुको ध्यान पुग्न नसक्दा रासायनिक मलको उपयोगिता बढिरहेको छ । ‘उत्पादनमूलक कृषि कर्म पनि बढिरहेको छ,’ रासायनिक मल माग अनुसारको उपलब्धता नहुनुमा पनि विभिन्न समस्या औल्याउँदै प्रवन्धक पौडेलले भने, ‘उत्पादन बढाउन रासायनिक मल अपरिहार्य भएकाले पनि मलखादको माग बढिरहेको हो ।’
बिउको आपूर्तिमा समस्या नभएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । ‘प्रशस्त उपलब्धता छ,’ बिउ भण्डारण देखाउँदै प्रवन्धक पौडेलले खुला सिमाना भएकाले हुने चोरी पैठारीमा नियमन नहुँदा किसानले सीमापारिबाट कमसल बिउ ल्याएर ठगिएका गुनासा सुन्नु परेको सुनाए ।
‘उपयुक्त बिउविजनका लागि हामीले सुविधा दिइरहेका छौं,’ यसअघि राष्ट्रिय बिउविजन कम्पनीले उलपब्ध गराउँदै आएको सेवापनि मर्जभएपछि कृषि सामाग्री कम्पनी लिमिटेडबाटै उपलब्ध हुँदै आएको जानकारी दिंदै पौडेलले भने । भिडियो रिपोर्ट