साइकल एउटा सौख मात्र नभएर तराईका बासिन्दाको लागि जीवनयापन गर्न प्रयोग हुने साधन भएकाले करिब ७/८ बर्षको उमेरबाट मैले साइकल चलाउन थाले । त्यसपछि निरन्तर चलाइनै रहेको छु यी भनाइ हुन् चितवन खैरनी–८ पर्सा निवासी वास्तविक थपलियाका जसले यसैबर्ष पुस १२ गतेदेखि सुरु गरि आत्महत्या रोकथाम सन्देश सहितको मेची–महाकाली साइकल यात्रा पुरा गरेका छन् । साइकल यात्री थपलिया भन्छन्, विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडाअनुसार विश्वभरमा एक वर्षमा लगभग आठ लाख मानिस वा हरेक ४० सेकेण्डमा विश्वमा कतै कुनै एक मानिसको आत्महत्याको कारण ज्यान गइरहेको छ ।
नेपालमा एक दिनमा करिब १६ देखि १८ जना मानिसको मृत्यु आत्महत्याको कारणले भएको छ । नेपालको आ.ब २०७५/७६ को रेकर्ड अनुसार कुल ५७८७, आ.ब २०७६/७७ मा ६२५२, र चालु आ.ब २०७७/७८ को कार्तिक मसान्त सम्म २४२६ जनाले आत्महत्या गरेका छन् । जसमा बालबालिकाको आकडा अझै बढ्दो क्रममा छ जुन आफैमा दर्दनाक छ । म सानैबाट सोच्ने गर्थे एक चोटि पाएको सुन्दर जिन्दगीमा मान्छेले किन आत्महत्याको बाटो रोज्छ ? के कुनै पनि जटिल समस्याको समाधानको बिकल्प भनेको आत्महत्या नै हो ? म ढुक्क थिए कि कुनै पनि समस्या समाधानको अन्तिम बिकल्प आत्महत्या हुनै सक्दैन । मृत्यु पछिको प्राण बाहेक संसारमा सबै कुराको बिल्कप छ बस हिम्मत हार्नु भएन । हिम्मतले नै मान्छेलाई सफलता तिर डोर्याउछ। आत्महत्या गर्ने बेलाको जस्तो हिम्मत जिन्दगीको अरु गतिविधिमा लगाए कायापलट गर्न सकिन्छ ।
आरोहःअवरोह, दुखःसुख, हासोःरोदन जिन्दगीका दुइ पाटा हुन भनेर हामी आफैंले बुझ्न अनि बुझाउन जरुरी छ । ‘म हिम्मत हार्दिन, म आत्महत्या गर्दिन’ भन्ने प्रण सबैले गरे नेपाल
“Suicide Free Nation”जरुर बन्नेछ र संसारको लागि एउटा उहादरण बन्न सक्छ जुन मेरो मेची–महाकाली साइकल यात्राको मुख्य उद्देश्य हो ।
‘साइकल नै किन रोजियो त यो अभियान का लागी भन्ने प्रश्न मा थपलिया ले सुनाए, जिन्दगी आफैमा एउटा साइकल यात्रा जस्तै हो जसमा दुख र सुखका दुई पेडललाई ब्यालेन्स गरेर सफर गरे मात्र गन्तव्यसम्म पुगिन्छ र साइकल आफैमा एउटा ब्यायामको साधन पनि हो जसले मानिसको शारीरिक अनि मानसिक स्वास्थमा सकारात्मक प्रभाव पारी आत्महत्या रोकथाममा केही न केही टेवा जरुर पुर्याउने छ र पुर्याएको पनि छ जुन मैले भोग्दै अनि देख्दै आइरहेको छु ।
यो साइकल यात्रा को थप अनुभव सुनाउदै थपलिया भन्छन्, मेचीमहाकाली एकल साइकल यात्रा मेरो लागि अविस्मरणीय रह्यो । एकल यात्रा आफैंमा एउटा चुनौती हो त्यसमाथि नेपालको साघुरो बाटो, गाडीहरुको पेलान हामी जो कोहिले पनि सजिलै अनुमान गर्न सक्छौं । जे होस यात्रा रमाइको भयो । बि.स. २०७७/०९/१२ गते २४ बर्षको उमेरमा पूर्वको मेची नदिको पुल बाट एकल साइकल यात्रा सुरु गरि बि.स. २०७७/०९/२६ गते पश्चिमको चादनी दोधारा पुलमा गएर अन्त्य गरे। कुल १५ दिनको साइकल यात्रामा मैले १३ दिन साइकल यात्रा गरे भने २ दिन घरमा कुलपुजा भएको कारण रोकिनु पर्यो । पुष्कर दाजुलाई गुरु थापना गरि यो यात्रा गर्ने क्रममा मलाई हौसला दिनु हुने मेरो हुने परिवार, छरछिमेकी र इस्टमित्र सबै प्रति अभारी छु ।
साईकल यात्रा आफैं मा एउटा शाहस हो वास्तविक थपलियाले सुनाए, जसको उदाहरण हो ‘पुष्कर शाह’ । पुष्कर दाजु मेरो लागि मात्र नभई यो ब्रह्माण्डकै लागी आर्दश र प्रेरणाको श्रोत हुनुहुन्छ । संसार जित्ने पुष्कर दाजुको जस्तो साहासको समुन्द्रबाट केही अञ्जुली साहस लिन सके मात्र पनि कोहि पनि मानिसले जिन्दगीदेखि हारेर आत्महत्याको बाटो रोज्दैन थिए होलान् सायद ।
यात्रामा भेटिएका सबैबाट मेरो अभियानको बारे राम्रो प्रतिक्रिया पाए । साइकल यात्रा मात्र पूरा भयो अभियानको यात्रा त अब झन दरिलो रुपमा सुरु हुदैछ । म जहाँ जहाँ पुगे त्यहाँ एउटा समूह बनेको छ जस्ले आत्महत्या रोकथामको लागी जनचेतनामूलक कार्यक्रम आफ्नो स्थानीय निकायसँग समन्वय गरेर स्कुल कलेज समुदायमा राख्नु हुनेछ । यो एउटा राष्ट्रव्यापी अभियान हो ।