नाम मात्रैको बन्द नाका, खुला कारोबार, पर्यटक रोकिए

नेपाल–भारत जमुनाह नाकामा पुग्दा जुन भीड देखिन्छ त्यसले नाका खुलिसकेको आभाष हुन्छ । तर, त्यसो भने होइन औपचारिक रुपमा सरकारले अझै नाका खोलिसकेको छैन । औपचारिक रुपमा नाका नखुले पनि भारत जान र आउन कुनै रोकतोक छैन । भारतले त केही महिना पहिले नै नेपाली प्रवेशमा रोक लगाउन छाडेको थियो । नेपालले पनि औपचारिक रुपमा नाका बन्द गरे पनि कार्यान्वयन भने गरेको छैन ।

गत चैत्र ११ गते नेपाल नै कोरोना संक्रमणको जोखिमका कारण लकडाउनमा गयो । नाकामा त्यसअघि नै रोकिएको हो औपचारिक रुपमा । त्यतिबेला भारतबाट आउनेलाई सिधै क्वारेन्टाइन लगिन्थ्यो । कोरोनाको त्रास कम हुँदै गयो । देशमा सबै क्षेत्र अब सुचारु भैसकेका छन् । तर, भारतसँगको नाका औपचारिक खोलिएको छैन । औपचारिक नाका नखोलिएपनि मुख्य नाका र भित्रि नाकाबाट आवागमन निर्बाध छ ।

संघीय सरकार र स्थानीय प्रशासनलाई पटकपटक भारतसँगको नाका खोल्न पटकपटक आग्रह गरिएको छ । तर, नाका औपचारिक खोलिएन । त्यसको सिधा असर भने पर्यटन तथा होटल व्यवसायीले झेलेका छन् । अनौपचारिक काम विशेष तथा औषधोपचारका लागि रोक्न मिल्ने कुरा भएन । अहिले मानिस कोरोनाबाट डराउन छाडे । रुपैडिहा जाने र सामान किनेर आउने क्रम बढेको छ । औपचारिक नाका नखुल्दाको नोक्सान नेपालले नै व्यहार्नु परेको छ । रुपैडिया खरिद, बिक्रीका लागि जाने भन्सार नजिक साधन रोकेर रुपैडिहा जान्छन् । उताबाट सामान किनेर नाकासम्म साधनमा आउँछन् । भन्सार गर्छन्, फर्किन्छन्, कतिपय थोरै घरायसी भन्दै विना भन्सार भित्रिन्छन् ।

औपचारिक रुपमा नाका नखुल्दा भारतीय पर्यटक नेपाल आउन भने बन्द भएको छ । पर्यटन तथा होटल व्यवसायी अरु मानिसलाई आउजाउ भैरहेको अवस्थामा नाका औपचारिक नखुल्दा भारतबाट आउने पर्यटक मात्रै रोकिएको बताउँछन् । त्यसले यहाँको पर्यटन व्यवसायीले नोक्सान व्यहोर्नु परिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल समशेर राणादेखि यहाँको होटल तथा पर्यटन व्यवसायीले नाका औपचारिक खोल्न निर्णय नै गरेर पर्यटन विभागको यसअघि ध्यानाकर्षण गराइसकेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार, औपचारिक रुपमा नाका बन्द हुँदा पनि दैनिक भारत जाने र आउनेको संख्या ५÷७ सयको हाराहारीमा रहेको छ । इलाका प्रहरी कार्यालय जमुनाह इन्चार्ज विष्णु गिरी सीमावर्ती बजार रुपैडिहा जाने र आउनेको संख्या दैनिक १ हजारको हाराहारीमा रहेको बताउँछन् ।

नाका औपचारिक बन्द भएपनि नेपालगन्ज भन्सारलाई त्यसको असर भने परेको छैन । अझ भन्सार बन्द हुँदा मुख्यनाकाबाट सबै सामान भन्सार नै भएर आएका छन् । जसको प्रत्यक्ष राजश्ज असुलीमा भने अनुकुल असर परेको छ । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा रु दुई अर्ब ३२ करोड बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारी बताउँछन् । भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य रु सात अर्ब ५८ करोड रहेकोमा नौ अर्ब ९० करोड अर्थात् ३० दशमलव ६० प्रतिशत राजस्व असुली गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगन्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । भन्सार कार्यालयको यस वर्ष रु १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने संकेत देखिएको छ ।

औपचारिक रुपमा भन्सार बन्द हुँदा राजश्व असुलीमा भने घाटा भएको पाइँदैन । तर, नेपालगन्जका व्यवसायीलाई भने वेवफाइदा हुँदै गएको छ । किनभने औपचारिक नाका नखुल्दा पर्यटन तथा होटल व्यवसायीले व्यहोरेको नोक्सानी । अर्को अनौपचारिक रुपमा सीमावर्ती बजार रुपैडिहा आउजाउ गर्न दिंदा यहाँको व्यवसायीले व्यहोरेको नोक्सानी ।

नेपालगन्ज उद्योग वाणिज्य संघले जहिले पनि राजश्व तिरेर मात्रै जो कोहीले मालसामान ल्याउनु पर्ने पक्षमा वकालत गर्दै आएको छ । मुख्य होस् वा भित्रि नाका भन्सार राजश्व तिरेर मात्रै सामान भित्रिनु पर्छ । यसले स्थानीय व्यवसाय फष्टाउँछ । पछिल्लो समय अनौपचारिक रुपमा सीमावर्ती बजार जाने र बिना भन्सार घरायसी सामान भन्दै भन्सार नतिरी सामान भित्र्याउने कार्यले पुनः यहाँको व्यवसाय ओरालो लागेको बताउँछन् नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी भन्सार विभागसँगको आइतबार भएको अनलाइन छलफलमा पनि भन्सार नियमनको विषय उठाएको बताउँछन् । ‘औपचारिक नाका बन्द हुँदा पनि विना भन्सार मालसामान भित्रिएका छन्’, उनले भने, ‘यसले स्थानीय बजार सुक्न थाल्यो ।’ अध्यक्ष मन्सुरी सरकारले कति रुपैयाँको मालसामान विना भन्सार एक जनालाई भन्सार प्रवेश दिने हो त्यो स्पष्ट भनिदिनु पर्यो हामीलाई पनि र भन्सार खटिने नियामक निकायलाई पनि ।’ उनले भन्सारबाट विना भन्सार भित्रिने मालसामानको रेकर्ड तथा भित्री नाकाहरुमा कडाई आवश्यक रहेको बताए । ‘भन्सार कडा हुने हो भने भन्सारको टार्गेट पनि पूरा हुन्छ, यहाँको व्यवसाय पनि फष्टाउँछ’, उनले लकडाउनकै अवस्थाको भन्सार असुुली हेर्ने अनुरोध गर्दै भने ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख राम बहादुर कुरुम्वाङ्गले अन्तर्राष्ट्रिय नाका अझै नखुलेको बताउँछन् । ‘औपचारिक खोलिएको छैन नाका, तर काम विशेषमा भने व्यवहारिक रोक लगाएका छैनौं’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया