आजको बुर्काभित्र र बुर्काबाहिर स्तम्भमा हामी मुख्यतः तीन विषयलाई केन्द्रित गरेका छौं जो नीतान्त महिलासँग जोडिएका छन् । पहिलो विषय स्वयंसेविका र तिनका योगदान दोस्रो विषय नेपालमा जन्मेर लामो समय देखि बसोबास गर्नेहरुको नागरिकता तेस्रो भेरी अंचल अस्पतालको सुत्केरी विभाग । महिला स्वयंसेविकाको काम समस्या चुनौती र नागरिकता नहुदां भोग्नु पर्ने समस्या बारे स्वयं वक्ताले आफ्नो कुराकानीमा प्रकाश पारेकीछिन् । त्यसकारण त्यस बारे बृहत चर्चा नगरी भेरी अञ्चल अस्पतालको सुत्केरी विभाग बारे आलेखको अन्तिम भागमा चर्चा गरिएछ ।
हुन त नेपालको संविधान र संवैधानिक प्रावधान अनुसार कुनै विदेशी व्यक्ति २० वर्ष सम्म नेपालमा बसोबास गर्छ र उसले नेपाली बोल्न र लेख्न पढ्न जान्दछ वा नेपालमा जन्मेछ भने उसलाई नेपाली नागरिक मान्नुपर्छ र नागरिक सरह अधिकार दिनुपर्छ भनी रहेको । तर यहां यस्ता धेरै व्यक्ति र परिवारहरु छन् जो नेपालमा जन्मे अनि नेपालमा नै आफ्नो जीवन बिताए तर पनि उनीहरुसंग नेपाली हुनुको कुनै कागजात र प्रमाण छैन । जसले गर्दा उनीहरु विभिन्न समस्या र कठिनाई भोग्न बाध्य छन् । यस्तै एक जना महिला जो स्वास्थ्य सेवासंग आबद्ध रही विगत २७ वर्ष देखि योगदान पुर्याउँदै आएकी छिन् । उनको अनुभव बारे छलफल गरियो । ती महिला हुन नेपालगन्ज माइत र पुरैनाको बिर्तामा विवाह भएर गएकी जरिना खान हामीले उहांसंग उनको अनुभव चुनौती सिकाई उप्लब्धि आदि बारे छलफल गरी उनको अनुमतिले लिइ यो अंक साझा गरेका छौं ।
हजुरको परिचय दिनुस् न त ?
मेरो नाम जरिना खान हो । मेरो घर बिर्तामा छ । म एक समाजसेवी अनि स्वयंसेविका हुँ । मेरो विवाह १५ वर्षको उमेरमा भयो हाल विभिन्न संघसंस्थासंग जोडिएर महिलाहिंसा न्यूनीकरणका लागि सम्बन्धित निकायसम्म पुर्याउने गर्छु ।
तपाईको यो क्षेत्रमा कहिले देखि आबद्ध हुनुभयो ?
हजुर, म विगत २७ वर्ष देखि यो क्षेत्रमा निरन्तर लागिरहेकी छु ।
निकै लामो समय देखि आबद्धता रहेछ यसको कुनै खास कारण छ कि ?
खास कारण चाहीँ छैन । म विवाह भएर बिर्ता आइसकेको एक वर्षमै पहिलो पटक गर्भवती हुँदा चार महिनाको गर्भपछि खोप लगाउन गएँ । त्यही बेला मेरो वार्डमा रहेकी स्वयंसेविका गइहालिन् । अनि त्यहाँ उपस्थित रहेका टोलछिमेकले भने कि जरिना नेपालगन्ज नगरकी चेली हुन् यिनले यो काम गर्न सक्छिन् भनेर मलाई खोप लगाउने बेलामा नै स्वयंसेविकाको जिम्मेवारी दिइयो । तबदेखि म निरन्तर कार्यरत छु ।
यतिका वर्षमा तपाईको सुरुआती कार्यानुभव कस्तो रह्यो ?
सुरुमा त धेरै गाह्रो थियो गर्भवती महिलाहरु सुत्केरी गराउन अस्पताल जान मान्थेन्न् । बच्चाहरुलाई खोप लगाउन डराउन्थे कि यसले वंशमा नपुसंकता बढ्छ भनी । परिवार नियोजन गराउँदैनथे । हामीहरु स्वास्थ्य सम्बन्धी जानकारी दिन जाँदा राम्रो व्यवहार गरिदैनथ्यो ।
अहिले समुदायमा स्वास्थ्य सम्बन्धी चेतनाको कस्तो अवस्था छ ?
अहिले त पहिला जस्तो गाह्रो छैन । अचेल हामीले स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम राख्दा महिलाहरु सहभागी हुन्छिन् । बच्चाहरुलाई नियमित खोप लगाउन थालेछन् । नियमित गर्भवती जाँच गराउँछन् अनि इच्छा अनुसारको परिवार नियोजनका साधनहरु प्रयोग गर्छन् । पहिलेको भन्दा स्वास्थ्य अवस्था र व्यवहारमा हाल धेरै परिवर्तन भइसकेछ ।
तपाई यतिका वर्षदेखिको अनुभवी स्वयंसेविका हुनुहुन्छ, तपाईलाई थाहा छ, नेपाल सरकारले कति प्रकारका औषधी निःशुल्क भनेछ ?
त्यही हो जीवनजल, सीटामोल चक्की, घाउचोट लाग्दा मलमपट्टी गर्ने अनि परिवार नियोजनका साधन निशुल्क दिने बारे मात्रै थाहा छ । म यतिका वर्षसम्म काम गर्दा पनि मलाई अहिले सम्म थाहै छैन कि नेपाल सरकारले कति प्रकारका औषधी निःशुल्क वितरण गर्न भनेछ । तपाईले यो सोधेर धेरै गुण लाउनु भयो अब म हेल्थपोस्टमा जांदा यस बारे बुझ्नेछु कि आखिर नेपाल सरकारले कुन कुन रोगका लागि कति प्रकारका औषधी मुफ्तमा बाँढ्न भनेछ ।
कार्यानुभवको कुरा गर्दा कुनै घटना यस्तो छ जसले तपाईलाई भावुक बनाएको होस् जसलाई तपाईले बिर्सिन सक्नु भएन ?
यस्ता धेरै घटना छन् भनी साध्य छैन किनभने म निस्वार्थ भावले सेवा गर्ने हुँदा सुत्केरी गराउने बेला सबले मलाई नै लग्छन् ।
तपाईले गर्भवतीहरुलाई सुत्केरी गराउन कहाँ लग्नु हुन्छ र किन के कारणले ?
पहिला पहिला सबले घरमै सुत्केरी गराउन्थे तर जनचेतना बढेछ अब सबैले अस्पताल नै लग्छन् । गर्भवतीको परिवारले नेपालगन्जको जुन ठाउँमा भन्छन् म त्यही लग्ने गर्छु । जसमा भेरी अञ्चल अस्पताल, नर्सिंगहोम अनि खास गरी उदयपुर गा.वि.स. (पहिलाको गा.वि.स) को हेल्थपोस्टमा लग्ने गर्छु ।
हेल्थपोस्ट भन्दा भेरी अञ्चल अस्पतालमा सेवासुविधा बढी हँुदा पनि हेल्थपोस्टमा नै लग्नुको कारण के छ ?
हेल्थपोस्टमा लग्दा त्यहाँका कर्मचारीहरुले राम्रो व्यवहारका साथमा गर्भवतीको स्याहार गर्नुका साथै हामी स्वयंसेवीहरुलाई पनि सम्मान गर्छन् । सुत्केरी गराउँदा आवश्यक परेमा हामीहरुको पनि सल्लाह सुझाव लिन्छन् । तर भेरी अञ्चल अस्पतालमा अवस्था फरक छ हुन त त्यो हेल्थपोस्ट भन्दा ठुलो र सेवा सुविधा सम्पन्न छ तथापि त्यहांका कर्मचारीहरुको स्वंयसेवी, गर्भवती र त्यसका कुरुवासंग गरिने व्यवहार अलि कति पनि राम्रो हँुदैन । भेरी अंचल अस्पतालमा सुत्केरी विभागमा चरम लापरवाही गरिन्छ ।
तपाईले कस्ता खाले लापरवाहीका कुरा गर्न खोज्नु भएको हो ?
हेर्नुस्, एक त अधिकांश सुत्केरी राति हुन्छन् । अनि राति सुत्केरी हामी गर्भवतीलाई त्यहाँ लग्छौं । ताकि उसको देखभाल हुन सकोस् सकुसल सुत्केरी होस् । तर त्यहांको लीला अलग्गै छ । राति सुत्केरी गराउन भनी डाक्टर त फिटिक्कै बस्दैनन् । भेट्ने भनेका तिनै नयाँ नयाँ भर्ना भएकी स्टाफ नर्सहरु हुन् । जो पुरा समय मोबाइल मै व्यस्त हुन्छिन् । गर्भवतीलाई साह्रै प्रसवपीडा हुँदा अलि पाको उमेरका नर्सहरुलाई मस्त सुतेकी हुन्छिन् । बोलाउन जाँदा उनीहरुले जाने व्यक्तिलाई यो भनेर हप्काएर पठाउँछन् कि म नर्स हो कि तिमी मलाई थाहा छ बढी कि तिमीलाई ? यदि गर्भवतीको साथमा जाने व्यक्ति उसलाई स्याहार आफु बस्न खोज्छन् भने बाहिर निकाल्दिन्छन् कि जब आफै स्याहार गर्नुथियो भने यहाँ किन ल्याएको घरै राखे हुन्थ्यो ।
अस्पतालको लापरवाहीको कुनै घटना स्मरण छ यदि छ भने के साझा गर्न सक्नुहुन्छ ?
हुन त धेरै नै घटना छन् तर मलाई साह्रै भिजेको घटना बारे भन्न चाहन्छु एउटी महिलाले हजार थरीका दुखकष्ट सहेर आफ्नो गर्भमा बच्चालाई आफ्नो रगतबाट हुर्काएर जन्म दिन्छिन् । एउटा बच्चाको जन्मको बेला उनी आफ्नो जीवन दाउमा लगाएकी हुन्छिन् । यसरी दुख गरी गर्भमा हुर्काएको बच्चा सकुशल जन्म लिएर यो धर्तीमा पाईला टेकोस् भनी उनी सुत्केरी गराउन अस्पताल जान्छिन् । यसै क्रममा केही समय अघि एक जना गर्भवतीलाई लगेर गएकी थिएँ । उसको बच्चा जन्मिने वाला नै थियो तर अस्पतालका नर्सहरुको लापरवाही हेर्नुस् न आफु उसको नजिक गइरहेका थिए न मलाई जान दिइराखेका थिए । यहाँसम्म कि उसको प्रसवपीडा बढ्यो र उसलाई नर्सहरुले घसारेर भित्र लग्ने क्रममा नै बच्चा गर्भबाट स्वतः भुइँमा खसिहाल्यो । धन्नै बच्चा भाग्यशाली थियो बाँच्यो यदि मरेको भए कसले जिम्मेवारी लिन्थ्यो तब त भन्दिन्थे जीवन मृत्यु त ईश्वरको हातमा छ ।
यत्रो कार्यकालमा कुनै प्रकारको समस्या वा चुनौतीको सामना गर्नु परेको छ यदि छ भने त्यो कस्तो खाले समस्या वा चुनौतीको सामना गर्नुपर्यो ?
यत्रा वर्ष काम गर्दा सानातिना समस्या र चुनौतीहरु आए तिनलाई पार गर्दै अगाडि बढें । मैले सुरु गर्दा ५० रुपैयाँ भत्ता मात्र दिइन्थ्यो । मैले पैसाको लोभ नमानी निरन्तर सेवा गरें । तर, जबदेखि स्वयं सेविकाहरुको खाता खोलेर भत्ता दिइन थालियो तबदेखि काम गरे पनि भत्ता पाएकी छैन । किनभने म सँग नागरिकता छैन ।
तपाईको माइत नेपालगन्ज हैन र अनि नागरिकता किन छैन ?
हो मेरो माइत नेपालगन्ज नै हो र मेरो विवाह हुँदा म १५ वर्षकी मात्र थिए । त्यसकारण उतिखेर माईततर्फ बाट नागरिकता बनेन । अनि विवाह पश्चात पतिको घर आउँदा उनको पनि नागरिकता थिएन । किनकि उनी आफ्नी आमाको गर्भमा ६ महिनाको छँदा उनको बुवा बित्नुभयो । उनको बुवाको कोही नातादार थिएनन् जो सिनाख्त गर्थे । आमाको नाममा मोही बाहेक केही थिएन । जसले गर्दा अझैसम्म पतिको नागरिकता बन्न सकेन । आफुसँग सरकारी प्रमाण भनेको जन्मदर्ता प्रमाणपत्र र विवाहदर्ता प्रमाणपत्र बाहेक केही छैन् । जसकारण बच्चाहरु बालिग भइसक्दा पनि उनीहरुको जन्मदर्ता बाहेक कुनै प्रमाण र कागजात छैन ।
नागरिकता नहँुदा के कस्ता कठिनाई र समस्याहरु भोग्नु परिरहेछ ?
नागरिकता नहुनाले २७ वर्षसम्म गरेको सेवाको फल पाउन सक्दिन । आफु यस क्षेत्रमा सकृय र दक्ष हुँदाहँुदै आफ्नो पद छाड्नु पर्ने अवस्था आएछ, मन साह्रै खिन्न छ । मेरो र पति दुबै जनाको नेपालमै जन्म भयो यसैलाई कर्मभूमि पनि बनायौं । तर कुनै पनि योजनामा सामेल हुन सक्दैनौं हरेक कुरामा नागरिकता नै खोज्छन् । छोराछोरीहरुको जन्मपछि परिवार बढ्यो अनि बस्नका लागि छानोको खाचों महसुस भइसकेपछि अनि आफ्नो परिवार भित्र कसैसंग नागरिकता नरहेकोले अरुको नाममा जग्गा किनेका छौं । अब जग्गा त किनियो तर हामी नरहे भने जसको नाममा जग्गा लिएका छौं उसले वा उसका सन्तानले बेईमानी गरी हाले भने मेरा छोराछोरी कहाँ जान्छन् कसरी बस्नछन् के गर्छन् भनी चिन्ता सताइरहन्छ । सबैलाई हारगुहार गरीसके कसैले पहल गरेन ।
अन्तमा केही भन्नुछ ?
मैले यति मात्र भन्न चाहन्छु कि म जस्तो महिला जसको जन्म नेपालमा भयो जो पूर्णरुपले नेपाली अभिभावकका सन्तानका रुपमा जन्मे तर कारणवश विवाह अघि नागरिकता बनाउन सकेनन् । विवाह पनि नेपालमै जन्मेको व्यक्तिसँग भयो तर पतिसंग नागरिकता नहुनाले उनीहरुको नागरिकता र उनको सन्तानहरुको नागरिकता छैन भने उनीहरु कसरी नेपालमा बसेर बाँचुन् । म जस्ती महिलाहरुको नागरिकता बनाउन कसले कसरी र कहिले पहल गर्ने हो । के हामी नेपालमा आफ्नो घर आफ्नो नाममा बनाएर बस्न नपाउने नै हो त ?
परिस्थिति
हामी महिला विशेष स्तम्भ बुर्काभित्र बुर्काबाहिरमा महिलासंग सीधा सरोकार हुने विषय र क्षेत्र अर्थात भेरी अञ्चल अस्पतालको सुत्केरी विभागका बारेमा चर्चा गर्छौं । हुन त नेपालगन्ज सहरस्थित भेरी अञ्चल अस्पताल यो प्रदेशकै ठूलो र सुविधा सम्पन्न सरकारी अस्पताल हो । तर त्यहाँभित्र धेरै कुरा यस्ता छन् जो सीधा महिलासंग जोडिएकोले यस स्तम्भमा चर्चा गर्न आवश्यक ठानियो । तपाई कहिल्यै भेरी अस्पतालको स्त्रीरोग विभाग तर्फ जानु भएछ भने हेर्नु भएको छ होला यदि जानु भएछैन भने एक पटक अवश्य जानुहोला । त्यहाँ जाँदा देखिएको दृश्य हेर्दा आँखा नै रसाउँछ । सुरुआती गर्भ बसेदेखि लिएर सुत्केरी हुने बेलाकी गर्भवतीहरु भेट्नु हुनेहुन्छ । जो आफ्नो सन्तान सही सलामत संसारमा आओस् भनेर अस्पतालमा चेकजांच गराउन आएकी हुन्छिन् । अधिकांश गर्भवतीहरु हातखुट्टा सुन्निएको हुन्छ, प्रसवपीडाले छट्पटिदैं हुन्छिन्, भीडियो एक्सरे गर्न घरबाट खाली पेट भोकै आएर लाममा बसेकी हुन्छिन् । त्यो लाममा बस्न उनको लागि पर्याप्त व्यवस्था नरहेकोले बिचराहरुलाई वर्षायाममा पानी पर्दा, जाडोयाममा जमिन चिसो हुँदा पनि भुइँमा बस्नु पर्ने बाध्यता छ । अनि राति सुत्केरी गराउन लग्दा पाका उमेरका सबै स्टाफ मस्त सुतेका हुन्छन् नयाँ नयाँ भर्ना भएका स्टाफहरु मोबाइल चलाउन व्यस्त हुन्छन् भनी स्थानीयहरुको भनाइ र भोगाइ छ ।
सिकाई
अस्पताल व्यवस्थान समितिको सुस्तपन, सम्बन्धित निकायको नियमित अनुगमन र देखरेख नहुनु, पीडितपक्षको गुनासो सुनदिने ठांउ नरहेकोले भेरी अंचल अस्पतालमा यसरी हुने लापरवाही भइरहेछ । यसार्थ सम्बंधित सबै पक्षको ध्यानाकर्षण हुन आवश्यक छ ।
गर्नु पर्ने पहल
अस्पताल समितिले नियमित र छड्के अनुगमन गरी लापरवाही गर्ने स्टाफहरुलाई कारबाही गर्नुपर्ने, लापरवाहीका घटनामा पीडित पक्षले सोझै गुनासो गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने स्वास्थ्य सम्बन्धी सरोकार राख्ने जिल्लाका सबै निकायको साझा पहल र निगरानी हुनुपर्ने ।
परिकल्पना
महिलासंग सीधा सरोकार राख्ने अस्पतालको सुत्केरी विभागका कर्मचारीहरुले आफ्नो कार्यपूर्ण निष्ठा, इमानदारी र सभ्य व्यवहारपूर्वक गर्नेछन् । जसले गर्दा भेरी अंचल अस्पतालप्रति जनताको लोकप्रयिता बढ्ने छ । अस्पतालमा सुत्केरी गराउन ल्याउने गर्भवतीका परिवार र स्वयंसेविकाहरुले अस्पतालका कर्मचारीहरु बीच आफ्नो जच्चा र बच्चा दुबैलाई सुरक्षित महसुस गर्नेछन् । अस्पतालको सेवा प्रति जनताको विश्वास बढ्ने छ ।