नेपालमा पछिल्लो डेढ दुई दशक देखि नै सुनियोजित रुपमा विभिन्न किसिमका समाचारहरु बनाएर नेपालीहरुमा भ्रम छर्ने काम गरिएको पाइएको छ । नेपालमा बिगत लामो समय देखि नेपालबारे गलत तथ्याङ्ग बनाएर नेपालको वास्तविकता, नेपालको इज्जतको फलुदा बनाउन कुनै कसर छोडेका छैनन् । नेपालको मिडिया क्षेत्रमा खासै अनुसन्धान पनि हुँदैन र नेपालीत्वको चिरहरण भैरहँदा पनि नेपालका मिडियाहरु चुइँक्क बोल्न चाँहदैनन् न त कुनै आपत्ति जनाउन खोज्छन् । यसको परिणाम नेपालमा विदेशीहरुको संचार देखि राजनीतिसम्म मनपरितन्त्र चलिरहेको देख्न सकिन्छ । के नेपाल राजनीति कुटनीति देखि संचारको पनि खेल मैदान बनाइरहने हो त ? के नेपालको बारेमा नेपालीले तथ्य र तथ्याङ्ग प्रमाणित गर्ने जिम्मेवारी रहँदैन त ?यसको जवाफ खोज्न कोसँग जाने भन्ने नै अन्यौल रहिरहेको अवस्थामा समस्त ती नेपाली जनता जसले नेपालको अस्मिताको चिन्ता गरेर सञ्जालमा शब्द रचना गर्न खोज्छ या फेरि पीडा महसुस गरेर दुइचार जनासँग पीडा पोख्छ उनीहरुको लागि यहाँ सम्मान स्वरुप केहि लेख्न खोजिएको छ ।

पछिल्लो डेढ दशक देखि अलि बढि नै विदेशी मिडियाहरुले नेपालको धर्म सँस्कार मौलिक सँस्कृति भाषा र सभ्यता माथि नियोजित रुपमा नै आक्रमण गर्दै समाचारहरु बनाउने र प्रसारण गर्ने गरेका छन् भने ती समाचारहरुलाई आम नेपालीले विश्वास गर्दै आफ्नै स्वधर्म सँस्कृतिलाई गाली गलौच गर्दा पनि उनीहरुसँगै खिल्ली उडाउने लाममा लागेको देखिँदै छ ।
नेपालमा चलेको र पटक पटक शासनसत्तामा पुगेका राजनीतिक दलहरुको सैद्धान्तिक आधार नै विदेशी धर्म र सँस्कृतिबाट नै ओतप्रोत रहेको छ । जसका कारण ती दलका नेता देखि अग्रपङ्तिमा रहेका कार्यकर्ताहरु नै नेपालीत्वको चिरहरण गर्ने हरेक योजनामा विदेशीहरु कै दासत्व मानसिकतामा परेको देखिन्छ । विदेश भ्रमण, छोराछोरीको शिक्षामा छात्रबृति, बिभिन्न बाहनामा मौद्रिक लाभ आदीको प्रलोभनमा परेका नेपालका राजनीतिक कार्यकर्ता र उच्च पदस्थ कर्मचारीहरु नै त्यस्ता मिडियाहरुको बैमानीलाई ढाकछोप गर्न मै व्यस्त देखिन्छन् ।

हरेक नेपालीको आन्तरिक मामिलाको र नितान्त व्यक्तिगत भन्दा व्यक्तिगत सूचनाहरु समेत राखेका कतिपय नेपालमा छाडा नाचेका विदेशी आइएनजीओहरु र यसका सञ्चालकहरु द्धारा नेपालका मिडिया घरनाहरुलाई विज्ञापनको झाँसामा फेरिमा पारिरहेको पनि पाइएको छ ।
पछिल्लो समयमा नेपालको धर्मको बारेमा नेपालको मौलिकताको बारेमा विदेशीहरुले पाखण्ड, अविकसित सँस्कृतिको हौवा पिटेर यहाँका राजनीतिक दलहरु र पत्रकारहरुलाई प्रशिक्षण नदिएको भए यो दुर्दशा पक्कै पनि हुने थिएन । अहिले नेपालको राजनीतितन्त्र, शिक्षातन्त्र, प्रशासनतन्त्र सबै नै विदेशीको वादको घोलले दुषित भैसको छ । नेपालको मौलिकता र नेपालका मूल धर्महरुलाई पाखण्ड, विकास विरोधी र अफिमको संज्ञा दिने काम नेताहरुबाट भएको छ भने नेपाली पत्रकारिता जगतले त्यसको खण्डनमा तथ्य प्रस्तुत गर्ने मनसाय पनिकहिल्यै राखेन । जनताको कथित मुक्तिको आन्दोलन भनेको त नेपाली मौलिकता मासेर विदेशी धर्म र सँस्कृतिका मञ्चहरु खडा गर्दै जाने काम उनीहरुका लागिन त अफिम भयो न पाखण्ड भयो । यसमा कसैले लेख्न र बोल्न चाहेन यसको कारण जे पनि होला तर यो सरासर नेपाली अस्मिता माथिको बैमानी नै हो ।

नेपालमा मानवअधिकार, मौलिक अधिकार, पशु अधिकार आदीका नाममा जे जस्तो खेलहरु हुने गर्छन त्यसमा कहिँ कतै नेपालको मौलिकता मास्ने गरि बाहेक अरुका कुरा नै हुँदैनन् । यहाँ एउटा उदाहरण हेरौं, मादक पदार्थ सेवनको नाममा विदेशी मिडिया र विदेशी दातृनिकायहरुका नाममा खुलेका एजेन्सीहरुले यतिसम्म प्रचारबाजी गरे यति मिडियाहरु पाले कि नेपालको मौलिक उत्पादन पेय पदार्थलाई त्यहि जनताको कर खाएर पालिएको प्रशासन संयन्त्र लगाएर मास्न लगाइयो र नेपाली जनताको गाडा कमाइलाई विदेशी ब्राण्ड र लेबल लगाएका बोतलहरुको व्यपार गाउँ गाउँ सम्ममा गराइयो । यो कुनै पनि किसिमको मादकपन या जीवनको बर्दादी आदी इत्यादी को समाचार न मिडियामा बन्यो न सरकारको एजेण्डामा पर्यो । गर्दा गर्दा घरमा आफैले उत्पादन गरेको दूध बेचेर विदेशीको रक्सी खाने परम्पराको थालनी कटेज सँस्कृति, बर्थडे पार्टी, एनभर्सरी पार्टी यसो साथी भाइ नास्ता पानी पार्टी, अफिसको पार्टी, टेबुल मुनि र माथीको सेटिङ्ग पार्टी आदी को नाममा विदेशीको उत्पादनको मात्रै व्यापार मौलाएको छ ।
नेपालमा भन्दा बढि पशुहरुको हत्या र मासुको उपयोग पश्चिमा र खाडीका मुलुकहरुमा हुने गर्छ । तर त्यहाँ भएको पशु पंक्षी हत्याालाई कहिँ कतै उठाइदैन । तर नेपालमा भएको परम्परागत पूजा पद्धति, बली पद्धति, बिभिन्न सम्प्रदायको मौलिक पद्धतिमा अपनाइएका बलि आदीलाई यहाँका मिडिया देखि ती विदेशीको फ्रिजर मासु, बिमारीको घर बोइलर मासु र औषधीको व्यापार गराउन जानी नजानी प्रायोजित भएका अधिकारकर्र्मीको निकै ठूलो र चर्को स्वर निक्किन्छ किन ? यसबारे न खोज हुन्छ न समाचार बन्छ ?

नेपालमा अलि बढि पशुपंक्षीको बलि दिने काम दशैं वा गढिमाईको मेलामा हुने गर्छ तर त्यो भनेको गैर सनातनी अन्य धार्मिक सम्प्रदायको भन्दा अति नै न्यून हो । उसैपनि नेपालीको मासुको उपभोग गर्ने दर त्यहि नेपालीको बलि परम्पराको बिरोध गर्ने देशहरुको भन्दा निकै कम रहेको छ । अमेरिकामा झण्डै १२० केजी प्रति व्यक्ति प्रति बर्ष र यूकेमा ८५ केजी प्रति व्यक्ति प्रति बर्ष रहेकोमा नेपालमा मात्रै १० के जी प्रति व्यक्ति प्रतिबर्ष रहेको छ । उसै पनि संसारका झण्डै १८६ देशहरुमा मासुको उपभोगको दर हेर्दा नेपाल सबैभन्दा कम मासु उपभोग गर्ने देशहरुमा अन्तिम १६ भित्र पर्दछ । जबकि जुन देशहरुको मिडियाबाजी वा लगानीमा नेपालीहरुको मौलिकतालाई गाली गर्न लगाइएको हुन्छ ती देशहरु र यूरोपियन देशहरुको भन्दा अति नै न्यून मासु उपभोग गर्ने नेपालको मौलिकतामा धावा बोल्न बोलाउन प्रायोजन गरिएको समाचार मात्रै हो किन नभन्ने ?

नेपालमा यदि कुनै गैर हिन्द गैर सनातनी धर्मको व्यक्तिले सनातनीहरु की चेलीबेटी बिभिन्न भ्रममा पारेर वा प्रेम जालमा फसाएर लैजान्छ भने त्यो उनीहरुको लागि मानवअधिकार भनेर निकै चर्को चर्को आवाज निकालिन्छ र समाचारहरु लेखिन्छ, लेखाइन्छ तर कुनै सनातनीले गैर सनातनी सम्प्रदाय की कन्या प्रति प्रेम गरयो भने उसले या त ज्यान गुमाउनु पर्छ नत्र भिषण साम्प्रदायिक भएको समाचारहर लेखिन्छ, लेखाइन्छ । सनातनीहरुले मात्रै आफ्नो धर्म सँस्कृतिको बारेमा केहि कुरा गर्यो भने उनीहरुलाई प्रतिगमन्कारी, सम्प्रदायिक, धर्मभिरु आदीको उपमा दिनका लागि नेपालका राजनीतिक दलहरु, नेताहरु, यहाँका आइएन्जिओले पालेका अधिकारकर्मीहरु जुलुस नै निकाल्न पुग्छन् तर गैर सनातनीले नेपाली धर्म मौलिकता मासेर गाउँका गाउँ परिवर्तन गराउँदा त्यसको बारेमा न यहाँको मिडिया बोल्छ न नेपालको सरकार बोल्छ । किन कि त्यो त उनीहरुको अधिकार हो भन्न पनि भ्याउँछन् कतिपय निर्लज्ज संघसंस्थाहरु र नेताहरु । के यसलाई पनि प्रायोजित नभन्ने छ ?

के यहि हो त नेपालको पत्रकारिताको धर्म ? नेपालमा रहेका स्वतन्त्र पत्रकारिताको वकालत गर्ने भनिएका विदेशी मिडियाले कसरी नेपालीत्वको चिरहरण हुने गरि प्रायोजित समाचार बनाउने गर्छन भन्ने उदाहरण होइनन् र ? यस्ता उदाहरणहरु । छिमेकी इण्डिया होस या पाकिस्तान या फेरि बंगलादेश त्यहाँ पनि सनातनीहरु माथि भएका ज्यादतीहरु कहिल्यै स्वतन्त्र समाचार बन्न सकेनन् । हिन्दू माथि भएको अन्यायको या आफ्नो धर्म रक्षाको कुरा आयो भने विदेशी मिडिया देखि देशका मिडियाहरु र राजनीतिक दलको आरोप हुने गर्छ हिन्दूबादी राजनीति, साम्प्रदायिक राजनीति भनेर लेख्न र चिल्लाउन थाल्छन् । यो के प्रायोजित समाचार नभएर के हो त ? प्रश्न गर्नै पर्छ ।
पछिल्लो समय नेपालको पुर्नजागरणका महानायक नेपालको एकिकरणका नायक श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनाउन देशै भरिबाट जनताहरु स्वतस्फूर्त सडकमा निस्किए । तर यसलाई नेपालका नेताहरुले राजाबादकिो भीड, प्रतिगमनकारीहरुको चलखेल भनेर उनै राष्ट्रपिताले आर्जेको मुलुकमा विदेशी वादको राजनीति गर्दै आज पर्यन्त सडकमा भाषण दिँदैछन् । विदेशी समाचारहरु बनाएर विदेशी मिडियाहरुले संसारभरि फुकेका छन् । तर नेपालका नाम चलेका धेरैजसो मिडियाहरुहरुले दातृनिकाय र विदेशी वादको राजनीतिको विज्ञापन जोगाउन प्रायोजित समाचार मात्रै लेखे किन नभन्ने ?

कहिले सम्म यो विदेशीको बोद्धिक दासत्व, लालचको दासत्वमा फसेर नेपालको राजनीति र मिडियाजगतले नेपालीत्वको, नेपाली मूल धर्म सँस्कृतिको र नेपाली मौलिकताको बिरुद्ध नीति र समाचार प्रायोजन गरिरहने हो ? किन गरि रहने हो ?सधैं काँधमा बोकेकाहरुको मात्रै राज पक्कै चल्दैन । आफ्नो अस्मिता खोसिएको अबको पुस्ताले लाचार भएर हेरी बस्तैन । समय आउँदा ती प्रायोजित कथा लेख्नेहरुले जवाफ दिन सक्नु पर्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया