बाँके : पुनर्गठित हुँदै समानान्तर नेकपा

नेकपा विभाजित भएपछि दुवै पक्षले संगठन मजबुत बनाउन कार्यकर्ता भेलादेखि वडास्तरसम्मको बैठक गरिरहेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर र अध्यक्ष प्रचण्ड–नेपाल पक्षधरले छुट्टाछुट्टै जिल्ला भेला, गाउँपालिका स्तरीय भेला, वडा भेला र निर्वाचन क्षेत्र स्तरीय भेला गरिरहेका हुन् । उनीहरुले पार्टी पुनर्गठन गर्दै आफ्ना पक्षलाई नेतृत्वमा ल्याउनेदेखि निष्क्रिय र नखुलेकाहरुलाई आफ्नो पक्षमा खुलाउन हरसम्भव प्रयत्न गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटन सँगै बाँकेमा ओली पक्षधरको नेतृत्व नभएपछि जिल्ला भेलाको आयोजना गरी पदम धिताललाई जिल्ला संयोजकको जिम्मेवारी दिइयो । ओली पक्षधरको तर्क छ, ‘जिम्मेवारी हेरफेर गरिएको मात्रै हो, कसैलाई हटाउने वा राखिएको होइन ।’ पार्टी हितमा काम गर्नेलाई जिम्मेवारीमा ल्याएको बताउने ओली पक्षले कसैलाई कारवाही भने नगरेको बताउँदै आएको छ ।

नेकपा बाँकेमा ओली पक्षले जिल्ला भेला, गाउँपालिका स्तरीय भेला, वडा भेला, निर्वाचन क्षेत्र स्तरीय भेला गरी जिम्मेवारी हेरफेर गरेको छ ।


प्रचण्ड–नेपाल पक्षधले निर्वाचन क्षेत्र स्तरीय भेला गर्न बाँकी रहेको जनाएको छ । त्यसका लागि तयारी भने अघि बढिसकेको नेकपा बाँके अध्यक्ष आइपी खरेल बताउँछन् । उनी प्रदेश र संघीय निर्वाचन क्षेत्रको भेलाका लागि कार्यदल बनेको बताउँछन् । त्यसका लागि निर्वाचन क्षेत्र नं. १ मा महेश्वर गहतराज (अथक)को नेतृत्व, २ मा पूर्ण कुमारी सुवेदी र ३ मा दल बहादुर सुनारलाई जिम्मेवारी दिइएको छ ।

साविक नेकपा बाँकेको जिल्ला कमिटि १ सय ५५ सदस्यीय रहेको छ । जसमा पूर्व एमाले ८५, पूर्व माओवादी ७० जना रहेको सम्बद्ध बताउँछन् । बाँकेमा पूर्व माओवादी एकढिक्का छन् । पूर्व एमालेबाट जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने ओली पक्षधर पनि साविक लाइनमा छन् । नेकपा बाँकेमा प्रतिनिधित्व गर्ने नेपाल पक्षका अधिकांस नेता प्रचण्ड–माधव समूहमा देखिएपनि माधव नेपाल तथा वामदेव गौतमलाई समर्थन गर्ने २÷४ जना नेता अझै खुलेका छैनन् ।

नेकपा बाँकेका सचिव अशोक कोइराला र अध्यक्ष खरेल दुवै प्रचण्ड–नेपाल पक्षधरका हुन् । हालै भएको जिल्ला कमिटि बैठकमा ९८ जनाले हस्ताक्षर गरेका छन् । ‘१५ भन्दा बढी नेताले सोही दिन काम विशेषले उपस्थिति हुन नसकेको जानकारी दिनुभएको थियो’, नेकपा बाँके अध्यक्ष खरेलले दाबी गरे । नेकपा नेता रत्न खत्री नेकपाको १५५ सदस्यीय जिल्ला कमिटिमा १ सय १५ जना प्रचण्ड–नेपाल पक्षधर रहेको उल्लेख गर्दै भन्छन्, ‘अन्य साथीहरु पनि आउनुहुन्छ भन्ने विश्वास छ ।’

दुवै पक्षधरको जिल्ला कमिटिको अंक गणितको दाबीमा धेरै फरक भने पाइँदैन । ओली पक्षधरको जिल्ला कमिटिमा ६१ जना रहेको दाबी छ । प्रचण्ड पक्ष ७०, माधव कुमार नेपाल पक्षधर २४ जना रहेको दाबी छ । जिल्ला कमिटिका २ को मत्यु भएको र १ जनाले पार्टी छाडिसकेको बताइन्छ । नेकपाको वर्तमान कमिटिमा रहेका ४÷५ जना मात्रै यताउता हुनसक्ने दुवै पक्षका नेता बताउँछन् ।

नेकपा खजुरा गाउँपालिकाका इन्चार्ज भीम ओली पार्टीमा नेता तथा कार्यकर्तालाई ऐक्यबद्ध बनाउन हालै जिल्ला स्तरीय कार्यकता भेला र प्रशिक्षण भएको बताउँछन् । ‘गाउँमा प्रतिनिधि सभा विघटनको कारण बारे बुझाउँदै पार्टीमा कार्यकर्ता संगठित गर्दैछौं’, उनले दैनिक नेपालगन्जसँग भने ।

दुवै पक्षका बाँकेमा हुने कार्यक्रममा एक, अर्कालाई कटाक्ष हुँदै आएको छ । प्रचण्ड–नेपाल पक्षधरले संविधान विपरित प्रतिनिधिसभा विघटन लोकतन्त्रको हत्या भएको बताउँदै आएका छन् भने ओली पक्षधरले पार्टी शिर्ष नेता विरुद्ध पार्टी भित्रै षडयन्त्र भएको, सरकारलाई काम गर्न नदिएको आरोप छ ।

प्रतिक्रिया

प्रतिक्रिया