मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा काँग्रेसद्वारा प्रदर्शन
नेपाली कांग्रेसले अहिले कसैलाई सत्ताबाट हटाउनेभन्दा संविधानको रक्षा गर्नका लागि आन्दोलनमा उत्रिएको बताएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध मुलुकका सबै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरेको काँग्रेसले बाँकेका सबै तहमा विरोध आयोजना ग¥यो ।
त्यसक्रममा नेपालगन्जमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेता, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले अहिलेको आन्दोलन केपी शर्मा ओलीलाई सत्ताबाट फाल्न नभइ संविधानको रक्षाका लागि भएको धारणा राखेका छन् । नेकपाको प्रचण्ड–माधव पक्षले थालेको सडक आन्दोलन ओलीलाई सत्ताबाट हटाउनमात्रै भएको उनको भनाइ छ ।
नेता डा. मिनेन्द्र रिजालले नेपाली काँग्रेसको पहिलो जिम्मेवारी संविधान जोगाउने रहेको बताए । ‘हाम्रो आन्दोलन संविधानको रक्षा गर्न र विधिलाई जोगाउनका लागि हो’, नेता रिजालले नेपालगन्जमा आयोजित विरोध कार्यक्रममा भने, ‘ओलीलाई सत्ताबाट फाल्न मात्रै होइन ।’
डा. रिजालले नेपाली काँग्रेस नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिका स्तरीय समितिले शनिबार छुट्टा–छुट्टै स्थानमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गरेका थिए । त्यसक्रममा नेता रिजालले संविधान र लोकतन्त्र जोगियो भने मात्र देश जोगिने भन्दै काँग्रेसलाई सत्ताको भन्दा संविधानको चिन्ता रहेको बताए ।

कम्युनिस्ट पार्टीभित्रको आन्तरिक कलहका कारण प्रतिनिधि सभा विघटन भएको भन्दै डा. रिजालले कम्युनिस्टहरुको असली चरित्रलाई जनताले मुल्यांकन गर्नुपर्ने बेला आएको बताए । प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको भन्दै उनले संसद पुनःस्थापना भएपनि वा निर्वाचन भएपनि सत्ताबाट बाहिरिने ठोकुवा गरे ।
विरोध सभामा काँग्रेस बाँकेका सभापति किरण कोइराला, पूर्व सभापति गजेन्द्र हमाल, प्रदेश सांसदद्वय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, काँग्रेस क्षेत्र नम्बर–२ का सभापति रमेशकुमार गुप्ता, काँग्रेस नेता निरन्जनसिंह सिजापति, काँग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त बिष्ट लगायतले सम्बोधन गरेका थिए ।
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै काँग्रेसले सरकार विरुद्ध सडक प्रदर्शन गर्दै आएको छ । त्यसक्रममा शनिवार मुलुकका सातसय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिएको हो । पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेसले तत्कालै त्यसको विरोध गर्दै सडकमा उत्रिएको थियो ।