कस्ले लियो प्रविनको ज्यान ?, आज अन्त्येष्टि गरिंदै

राष्ट्रिय अनुसन्धानमा कार्यरत सिपाहीको रहस्यमय मृत्यु


‘कामका क्रममा लिइएको रिस्कको रिभेन्ज होइन भने पर्सनल इस्यु के हुनसक्छ ?,’ रहस्य खुल्दै जाला

राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचक (सिपाही) रहस्यमय ढंगबाट मृत भेटिएका छन् । राष्ट्रिय अनुसन्धानका सिपाही नेपालगन्ज– १८ स्थायी निवासी २७ वर्षीय प्रविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेका हुन् ।

सम्बद्ध स्रोतका अनुसार, विहीवार अपरान्ह सवा ५ बजेसम्म कार्यालयको सम्पर्कमा रहेका प्रविन साँझ ६ बजेसम्म घरपरिवारसँगको सम्पर्कमा थिए । ‘राती ९ बजेपनि घर नफर्किएपछि कार्यालयको कामले बाहिर गएको हुनसक्ने आशंकाले कसैलाई केही भनिएन,’ परिवार स्रोत भन्छ, ‘बिहान अबेरसम्म पनि सम्पर्कमा नआएपछि अत्तालिएर प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयमा जानकारी गराइएको हो ।’

बाँके प्रहरीले बिहान साढे ९ बजेतिर परिवारले जानकारी दिनासाथ खोजीकार्य अगाडी बढाएको जनाएको छ । ‘बिहान सूचना पाउनासाथ खोजीकार्य अगाडी बढाइँदा डेढ÷दुई घण्टामा शव फेला पारियो,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले दैनिक नेपालगन्जसँग भने, ‘अण्डर इन्भेष्टिगेशन रहेकाले घटनाबारे थप कुरा सबै यकिन भइसकेपछिमात्रै भन्न सकिन्छ ।’

घटना बाहिर आएलगत्तै तात्तिएको प्रहरीले अनुसन्धानका लागि केहीलाई पक्राउ गरिसकेको छ । प्रविनको टाउकोमा धारिलो हतियारको चोट देखिएकाले ४÷५ जनाको समूहले नियन्त्रणमा लिएर आक्रमण गरेको हुनसक्ने घटना प्रकृतिले अनुमान गर्न सकिने अनुसन्धानमा खटिएका एक अधिकृतले जानकारी दिए । उनका अनुसार, प्रविनको निजी मोटरसाइकल नेपालगन्ज– १८ को छब्बेलाल मार्ग नजिकैको आँप बगियामा व्यवस्थित ढंगबाट राखिएको थियो । त्यसको करिब २÷३ सय मिटर उत्तर–पूर्वमा वस्तीदेखि केही पर खेतमा उनको शव भेटिएको हो ।

राष्ट्रिय अनुसन्धानका सिपाही प्रविन ५ वर्षदेखि राष्ट्रसेवामा थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका प्रमुख नरेन्द्र गिरिका अनुसार, सहायक सूचक प्रविन थापामगर दुई वर्षदेखि नेपालगन्जमा कार्यरत छन् । ‘उनलाई सहरी जिम्मेवारी भएकाले कुनै थ्रेट थिएन,’ अनुसन्धानका प्रमुख गिरिले घटनाको अनुसन्धान आफ्नै कार्यालयले पनि गरिरहेकाले धेरै कुरा भन्न नसकिने प्रतिक्रिया दिंदै दैनिक नेपालगन्जसँग भने, ‘विशेष अपरेशनल रेस्पोन्समा रहेका साथीहरु रिस्कमा हुने भएकाले अन्डरकभर रहेर काम गर्नुहुन्छ ।’

प्रविनको काम त्यस्तो थिएन, त्यसैलेपनि घटना थप रहस्यमय भएको सम्बद्ध अनुसन्धान अधिकारीको भनाइ छ । ‘कामका क्रममा लिइएको रिस्कको रिभेन्ज होइन भने पर्सनल इस्यु के हुनसक्छ ?,’ प्रहरीले अनुसन्धानलाई धेरै अगाडी पु¥याइसकेको दावी गर्दै अनुसन्धानमा सक्रिय एक अधिकृत भन्छन्, ‘केही दिनमै सत्य बाहिर आउँछ । प्रहरी उपरीक्षक रानाले छिट्टै अपराधी समातिने र घटनाको सत्य बाहिर ल्याइने बताउँछन् ।

शुक्रवारनै पोष्टमार्टम भइसकेकाले आज शनिवार दाहसंस्कार गरिने बताइएको छ ।

परिवारमा बज्रपात

शुक्रवार खेतमा मृत भेटिएका राष्ट्रिय अनुसन्धानका सिपाही प्रविन थापामगर राजनीतिमा सक्रिय व्यवसायी, नेकपा नेता डम्बर थापामगरका एकमात्र सुपुत्र हुन् । २७ वर्षीय युवा प्रविन अविवाहितनै थिए ।

गत वर्ष सडक दुर्घटनामा गम्भीर घाइते छोरीको उपचारमा अहोरात्र खटिएका डम्बरले त्यसअघिदेखिनै धर्मपत्नीलाई पक्षघात भएपछि उपचारसँगै स्याहारसुसार गरिरहेका छन् । ‘डम्बर दाईमाथि एकपछि अर्काे पीडा थपिएको छ,’ नेकपाका युवा नेता, वडा नम्बर १८ का वडाध्यक्ष दीपककुमार बर्माले दैनिक नेपालगन्जसँग भने, ‘यो घटनाले उहाँमाथि बज्रपातनै भयो ।’
घटनालाई लिएर सम्बद्ध सबैले दोषीको खोजी र अपराधीलाई कारबाहीको माग गरिरहेका छन् । ‘हत्यारालाई छिटोभन्दा छिटो काबाहीको दायरामा ल्याइयोस्, नेपालगन्ज– १८ का वडाध्यक्ष बर्मा, वडा सदस्य दिग्बीजय ढुंगाना लगायतले भनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया