
आज हामी बुर्काभित्र र बुर्का बाहिर स्तम्भमा बच्चाहरुको पालनपोषणमा कसको जिम्मेवारी बढी हुन्छ र त्यो जिम्मेवारी हुनुको कारण के हो भन्ने विषयमा खुलेर चर्चा गर्नेछौं । जहाँ महिला आज घर बाहिरका काममा पुरुषको काँधमा काँध मिलाएर सामाजिक, शैक्षिक, राजनैतिक व्यापारिक क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्दैछिन् । त्यही महिलाहरु घरभित्र आफ्नो सन्तानहरु राम्रो शिक्षादिक्षा र पालनपोषण गर्न पनि आफ्नो जिम्मेवारी पूर्ण निष्ठा र इमान्दारीका साथ निभाइरहेकी छिन् । एउटा बच्चालाई सभ्य नागरिक बनाउनमा महिलाको नै मुख्य भूमिका रहेको हुन्छ । हुन त विज्ञानले पनि प्रमाणित गरिसकेछ कि बच्चाहरु जन्मिदा आफ्नो आमा र बुवाको वंशानुगत गुण साथ लिएर जन्मिन्छन् ।
मेरो बच्चा ठूलो भएपछि राम्रो बनोस्, मेरो बच्चा सफल व्यक्ति बनोस्, मेरो बच्चा आदर्श व्यक्तित्व बनोस् भनी सबै अभिभावकहरुको चाहना हुन्छ । कुनै अभिभावक वा कसैको आमाबुवाले यो कदापि चाहदैनन् कि उनको बच्चा खराब होस्, कसैले यो चाहेको हँुदैन कि उसको बच्चा चोर डाका र फटाहा बनोस् । आफ्नो बच्चाको नराम्रो छवि र पहिचान कसैले चाहँदैनन् । यस कारण अभिभावकहरु बाल्यकालदेखि नै आफ्नो बच्चाभित्र आफुले इच्छाएको व्यक्तिलाई भेटाउन उसलाई त्यही अनुसार बनाउन खोज्छन् जसलाई बच्चाले प्रत्यक्ष त के सपनीमा पनि देखेको हुँदैन ।
वास्तवमा भन्ने हो भने बच्चाप्रति पहिलो र सबभन्दा ठूलो जिम्मेवारी आमाको नै रहेको हुन्छ । बच्चाको जन्मदेखि उसलाई सिकाउने पहिलो शिक्षक अभिभावक हुन र पहिलो पाठशाला आमाको काख हो । जब आमा बुवा शिक्षित हुन्छन् तब बच्चाको सिकाइ अझ राम्रो र प्रभावकारी हुन्छ । यसकारण अभिभावकहरुको प्रत्यक्ष बच्चासंगको संलग्नताले बच्चाको सिकाईमा सकारात्मक भूमिका निर्वाह गर्दछ । यही कारण हो कि अभिभावकलाई नै बच्चाहरुको मार्गदर्शक मानिन्छ र बच्चाहरु अभिभावकका प्रतिविम्ब हुन्छन् भन्नाले बच्चाहरु हुबहु आमाबुवाका कपी हुन्छन् । किनकि जन्मेदेखि सिक्ने उमेरसम्म बच्चाहरु अभिभावकलाई नै फ्लो गरीरहेका हुन्छन् । बच्चाले डाक्टर, इन्जीनियर, वकिल र पाइलट आदि बन्ने सोच भन्दा पहिले आमाबुवालाई देखेका हुन्छन् । उनले डाक्टर, इन्जिनियर, वकिललाई देखेका हुँदैनन् ।
उनीहरुमा पहिला त आफु ठुलो भएपछि बुवा जस्तै वा आमा जस्तै बन्नेछु भन्ने सोचको विकास हुन्छ । किन भने उनीहरुले जन्मिदादेखि आफु समिप सबभन्दा बढी आमा बुवा र तिनले गर्ने कृयाकलाप र व्यवहार देखेर हुर्केका हुन्छन् । यही कुरा आज यहाँ गर्नेछौ । सन्तान जन्माउनु प्रकृतिको नियम हो विधिविधान हो यसरी नै यही अनुसार संसार प्रकृयारत चलिरहेको छ ।
बच्चा जन्माउन त कुकुर, बिराला, चराचरुङगी र किराफ्टयाङग्राले पनि सक्छन् र जनावरमा पनि आफ्नो सन्तान प्रति माया हुन्छ । तर मानव सर्वश्रेष्ठ प्राणी हो । उसको जिम्मेवारी अरु प्राणी भन्दा फरक छ । किनकि संसार सबै जीवित प्राणीहरु मध्ये मानवजाती नै विवेकशील प्राणी हो । हामी सबैलाई थाहा भएकै कुरा हो कि सन्तान जन्माउनु र उनको पालनपोषण गर्नु कति ठुलो जिम्मेवारी हो र यसमा अलि कति पनि चूक भयो भने के के पीडा सहनुपर्छ साथै बच्चाहरुको पालनपोषणमा लापरवाही भयो भने कस्ता समस्याहरु बारे पनि सबैलाई थाहा नै छ । यसकारण यस बारेमा कुरा नगरी बरु बच्चाहरुको परवरिश कसरी गर्नुपर्छ भनी खुलेर चर्चा गर्नेछौं ।
हाम्रो समाजमा सामान्य बुझाइ र गराइ छ कि बच्चा अहिले सानै छ अलि ठुलो भएपछि उसलाई सिकाउला । तर, वास्तविकता गराई र बुझाई भन्दा धेरै फरक छ । बच्चा जन्मिसकेपछि बच्चाहरुलाई बाहिरी कुराले त धेरै पछि असर पार्छन् । उनीहरुलाई घरभित्रको माहोलले बढी असर पार्छ । किनभने बच्चाहरु गर्भबाट नै सिक्दै हुन्छन्, हुन् सक्छ यो कुरामाथि धेरै जसोलाई विश्वास नलाग्ला । तर इस्लामिक र वैज्ञानिक तवरले यहां यो कुरा प्रमाणित गरिनेछ कि बच्चाहरुले गर्भमा हँुदादेखि नै सिकिरहेका हुन्छन् ।
एक उदाहरण यहाँ यस्ता वलीअल्लाहको दिइदैछौं । हाम्रा वलीअल्लाह सय्यद शेख अब्दुल कादिर जिलानी सय्यदना गौशे आजम अलैरहमा जब पढ्ने उमेरका हुनुभयो । उहाँलाई पढाउन मदरसा लगियो र मौलानाले उहांलाई भने कि बिस्मिल्लाह पढ उहाँले बिस्मिल्लाह देखि सुरु गरि किताबमा नदेखेरै कुरान मजीदको २१ पारा सम्म पढेर सुनाउनुभयो । उपस्थित सबै आश्चर्य चकित भए अनि कारण पत्ता लगाए । तब थाहा भयो कि उहाँ गर्भमा रहँदा उनका अजीम आमा २१ पारासम्म कुरान पढ्नु भयो जसलाई गर्भमा हुदांले उहांले सुनेका थिए र गर्भमा नै कण्ठ गरेका थिए ।
अब अर्को उदाहरण हेरौं जुन कि महत्वपूर्ण छ तर हामीले सामान्य रुपमा लिदैं आएका छौं । गर्भमा चार महिना पछि बच्चाहरुको सुन्ने र सम्झिने ज्ञानेद्रियहरुको विकास भइसकेको हुन्छ । यति बेला गर्भमा रहँदा बच्चाले जुन आवाज बढी सुन्छन् उनीहरुमाथि त्यसको असर बढी पर्ने गर्छ । गर्भवती भएपछि महिलालाई चेकअप गराउन लगिन्छ । डाक्टरले गर्भवती महिलालाई खुशी राख्न भनी सल्लाह दिन्छन् किनभने महिला खुशी हँुदा गर्भमा रहेको बच्चामाथि त्यसको साकारात्मक असर पर्छ । अनि गर्भवती महिलालाई टेन्शनबाट टाढा राख्न भनी सल्लाह दिन्छन् । मनोवैज्ञानिकहरुको भनाइ छ कि यदि गर्भको बेलामा महिलाको पतिले उनीसंग चर्को आवाजमा कुरा गर्छ, दिनकै झैझगडा हुन्छ भने त्यस्तो माहोलमा जन्मेको बच्चाको स्वाभाव सामान्य बच्चा सरह रहेको हुँदैन । किन भने त्यस्तो कलहको वातावरणले बच्चामाथि नकारात्मक असर पर्छ । डाक्टरले गर्भवती महिलाको कोठामा सुन्दर बच्चाहरुको तस्वीरहरु राख्न पठाउछंन् ताकि गर्भमा रहेको बच्चा सुन्दर जन्मियोस् । यसरी प्रमाणित हुन्छ कि बच्चाहरु ठुलो भएपछि होइन कि गर्भमा हुँदा नै सिकिरहेका हुन्छन् । गर्भमा छँदा नै उनीहरुमाथि बाहिरी कुराहरुले सकारात्मक र नकारात्मक प्रभाव पारिहरका हुन्छन् ।
अब हामी कुरा गरौं बच्चाहरुलाई कसरी सिकाउने त । बरु सिकाउनु भन्दा पनि के गर्न जरुरी छ । जसले गर्दा बच्चाहरुमा सकारात्मक परिवर्तन आओस् । बच्चाहरु दुई तीन वर्षको उमेरमा बच्चाहरु कथा कहानी सुन्न रुचाउँछन् जसमा आश्चर्य जनक कुरा होस् अर्थात परी जादुगर आदिका कथामा बच्चाहरु बढी रुची लिन्छन् । तर हामीलाई थाहा छ कि ती कथामा सत्यता हँुदैन । अब के गर्ने भनी दोधार हुन्छ किनकि बच्चालाई आश्चर्य जनक कुरा सुन्ने रुची हुन्छ तर कथामा सत्यता हुँदैन । अर्थात बच्चालाई झूठो कुरा पनि गर्न भएन हैन् भने पछि बच्चाहरुले अभिभावक प्रति नकारात्मक सोच राख्छन् ।
त्यस कारण सजिलो उपाय छ बच्चाहरुलाई धर्मका कुरा र सत्य घटनाहरु सुनाउनु होस् । यसो गर्दा बच्चाहरुमा धर्म प्रति आस्था पनि बढ्छ र भनिएका कुरामा रत्ति बराबर पनि झुठ सामेल हुँदैन । बच्चाहरुलाई नबीए करीमको जीवनी मुबारक सुनाउनुहोस् कसरी उहांकी आजीम आमा हजरत आमना रजि.लाई पहाड रुखविरुवा र जनावर आदिले सम्मान पुर्वक झुकेर सलाम गर्दथे । बच्चालाई बताउनुस् हाम्रा नबीकरीम सल्लाहो अलैहे वसल्लम आमा आमना रजि.को गर्भमा हुँदा केही पनि नलाउँदा नि उनको जीउमा कस्तो राम्रो सुगन्ध आउन्थ्यो । सुनाउनुहोस् कि हाम्रा नबीकरीम सल्लाहो अलैहे वसल्लमलाई बच्चाहरुसंग कति माया थियो कि जब बाल्यकालमा हसनैन करीमैन नमाज पढ्ने पढाउने बेलामा उहांको पिठ्यूमा सवार हुन्थे तब उहांले आफ्नो सज्दा लामो गरिदिनुहुन्थयो । यो सोचेर कि यदि म सज्दाबाट छिटै र अकस्मात उठें भने हसनैन करीमैन खसिहाल्नुहुन्छ ।
फातेह खैबर सय्यदना हजरत मौला अली शेरे खुदाका वीरताका घटना र जीवनी सुनाउनुहोस् कसरी मौला अली शेरे खुदाले खैबरकिलाको त्यो ढोकालाई एक हातले उखालेर फ्याल्नुभयो जसलाई १०० जना नौजवानहरुले मिलेर खोल्थे । हजरत फारूके आजमका न्याय गर्ने सत्य घटना सुनाउनुहोस् कसरी एक बुढीआमाको तेल भुईमा खस्दा उहांका न्याय माग्न आउँदा उहाँले धर्तीलाई आदेश कि यदि खसेको तेल फिर्ता नदिएमा बेनमाजी (नमाज नपढ्ने) लाई धर्तीमा पुरिदिने भनेका थिए त्यसपछि धर्तीले सोसेको तेल फिर्ता गरेको थियो । यसरी बच्चाहरु न्याय र नमाजप्रति आकर्षित हुन्छन् र नमाजी र न्यायप्रेमी बन्छन् तर यो जिम्मेदारी आमा र बुवा दुबैको हो यसकारण आमा र बुवा दुबै मिलेर बच्चाहरुलाई सत्य घटना र धर्मका कुरा सिकाउनु पर्छ ।
यस्तो गर्दा बच्चाहरुमा अझ बढी जान्ने इच्छा जाग्छ र उनीहरु तपाई समक्ष आएर बढी समय बिताउंछन् । अनि यही बानी उनीहरु बढ्दो उमेरका साथ बढ्दै जान्छ उनीहरु झन बढी जान्न खोज्छन् र यही शौख बच्चाहरुलाई अभिभावकसंग सदाका लागि नजिक गरिदिन्छ । अनि पछि बुढेसकालमा यो भनेर चित्त दुखाउनु पर्दैन कि बच्चाहरु दुई घरी बसिदिए हुन्थ्यो । किनभने उनीहरु त सानैदेखि अभिभावकको नजिक भइरहेका हुन्छन् ।
जब बच्चाहरु सात देखि आठ वर्षका हुन्छ त्यतिखेर उनलाई बताउनुहोस् कि कसरी आका करीम घरका काममा आफ्नी पत्नीलाई सघाउनु हुन्थ्यो । कसरी महिलाको सम्मान गर्नु हुन्थयो । जब हामी बच्चालाई नबीकरीम सल्लाहो अलैहे वसल्लमको जीवनी उनका सहाबाका जीवनी र करबलाका शहीदहरुको जीवनी बारे बताउँछौं तब बच्चाहरुमा उनीहरु जस्तै बन्ने इच्छा जाग्छ ।
जब बच्चा नबीकरीम, सहाबा र करबलाका शहीद जस्तै जीवन गुजार्ने चाहना राख्छन् र त्यही पथमा पथप्रदर्शक भइ चल्छन् भने ती बच्चाहरु निश्चय नै सही बाटोमा हिडेर आफ्नो र तपाईको जीवन सफल बनाउछन् । यसका साथ साथै बच्चा बढ्नेक्रममा आफ्ना अभिभावकलाई नजिकबाट हेरिरहेका हुन्छन् । अभिभावक हरुको कृयाकलाप, उनका हाउभाउ, उनको चरित्र, उनका व्यवहार सब नियाल्दै गरेका हुन्छन् ।
सो यदि हामी चाहन्छौं बच्चा सदाचारी बनोस् भ्रष्टाचारी नबनोस् भने पहिला आफु सदाचारी बनौं भ्रष्टाचार बाट जोगिऔं । हामी चाहन्छौं कि बच्चा राम्रो बाटोमा हिडोस् भने अभिभावक आफै राम्रो बाटोमा हिड्नु पर्छ । यदि चाहन्छौं बच्चा कुलतमा नलागोस् भने हामी अभिभावक आफै कुलतबाट बच्नुपर्छ ।यदि हामी चाहन्छौं बच्चा हलालको कमाइ खाओस् हरामबाट टाढा रहोस् भने अभिभावक आफै पनि हलालको कमाइ गर्नुपर्छ र हराम बाट बच्नु पर्छ । हामी चाहन्छौं छोरी हिजाब लगाओस् भने आमा आफु लगाउनुहोस् छोरीले हेरेर आफै लगाउन सुरु गर्छिन् । हामी चाहन्छौं बच्चा नमाज र कुरान मजीद पढोस् भने पहिला आफु नमाज र कुरान मजीद दिनकै पढौं अनि बच्चाहरु पनि देखेर पढ्न शुरु गर्छन् । हामी चाहन्छौं बच्चाहरु समयमा घर आउन भने आफै समयमा घर आऔं । हामी चाहन्छौं बच्चाले बुढापाखालाई सम्मान सानालाई माया गरोस् भने हामी आफु नै त्यसतो गर्नुपर्छ अनि बच्चाले त्यही बानी अवलम्बन गर्छ । हामी चाहन्छौं अरुको छोराछोरीप्रति बच्चाले नराम्रो दृष्टिकोण नराखुन् भने आफुले अरुप्रति नराम्रो दृष्टिकोण नराखौं । हामी चाहन्छौं बच्चा झुठ नबोलोस् भने आफु झुठ बोल्न छाड्नुस् । उदाहरण स्वरूप अहिलेको चलनचल्तीको झुठ घरमा बच्चाहरुको सामु बसि रहेको अवस्थामा नै कुनै त्यस्तो व्यक्ति को फोन आयो जो संग भेट्ने इच्छा छैन, भने हामी फोनमा त्यो व्यक्ति लाई झुठो कुरा गर्छौं म फलाना ठांउमा छु । अहिले भेट्न त सम्भवै छैन् । हुन् त हामीलाई लाग्छ यो कुरा सामान्य हो । तर सगैं बसेको बच्चाले त्यो कुरा मनन गरी गरिहेको हुन्छ । अनि उसले त्यही धारणा आफ्नो मस्तिष्कमा बनाई सकेको हुन्छ जस बारे हामीले सोचेकै हुदैनौं कि जोसंग भेट्न मन न भए उसंग झुठ बोल्दा हुन्छ । अनि अब बच्चाले पनि आफु जोगिन झुठ बोल्न सुरु गर्दिन्छ । जसको जिम्मेवार अभिभावक नै हुन् । किन भने बच्चाले तपाईको गराइबाट नै सिकिरहेको हुन्छ उसले तपाईलाई नै फ्लो गरिरहेको हुन्छ ।
बच्चाहरुलाई राम्रो शिक्षादिक्षा दिइ एक सभ्य नागरिक बनाउने जिम्मेवारी अभिभावकहरुको नै हो अभिभावक भन्नाले आमा र बुवा दुबैको बराबरी जिम्मेवार हुन्छन् यदि परिवार सयुंक्त छ भने बच्चाहरु बढी समय आफ्नो हजुरबा र हजुर आमासंग बिताउन रुचाउंछन् अनि उनीहरु आफ्नो हजुरबा हजुर आमा प्रतिका तपाईका व्यवहार मनन गरिरहेका हुन्छन् । त्यसकारण हामी अभिभावकहरुले आफ्ना बच्चाहरुलाई जस्तो बनाउन चाहन्छौं जस्तो हेर्न चाहन्छौं । जरुरी छ कि पहिला आफु त्यस्तो बनौं । जब हामी राम्रो बाटोमा हिड्छौं बच्चाहरु पनि त्यही बाटो हिड्छन् किन भने वास्तवमा, ‘बच्चाको व्यक्तित्व अभिभावकको गुण र व्यवहारमा भर पर्छ ।’