हात्तीपछि बर्दियामा बाघको आतंक, सडकमा बाघ यात्रु त्रसित

भावुक योगी

बर्दिया ठाकुरबाबा नगरपालिकाको भुरिगाउँमा रहेको मनुषा टिकासिंह थापा क्याम्पसका प्रमुख युवराज अधिकारी साथीहरुसँग गएको पुस १७ गते चिसापानी जाँदै हुनुहुन्थ्यो । बर्दिया निकुञ्जभित्र पर्ने राजमार्गमा एक्कासी बाघ हिँडिरहेको देखियो । ‘हाम्रै अगाडि बाघ हिँडेको देखेपछि एकछिन गाडी रोक्यौं र गाडी भित्रबाट बाघको भिडियो खिच्न लाग्यौँ । हाम्रो पछिल्तिर रहेको जिप अघि बढ्यो, रातीको साढे ८ बजेतिर हो । हामी भिडियो खिच्दै केही छिनपछि अघि बढ्यौँ, त्यो भन्दा ३ मिटर अगाडि बाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेछ’ उहाँले केही दिनअघिको घटना सुनाउनुभयो ।

त्यो घटनापछि निकुञ्ज भित्र पर्ने राजमार्गमा दिनहुँ बाघ देखिने गरेको यात्रु र स्थानीय बासिन्दाले बताएका छन् । ‘पुस २४ गते पनि हामी कर्णाली चिसापानीतर्फ जाँदै थियौँ, बेलुकी साढे ६ बजेको समयमा दुई वटा बाघ राजमार्गमा देख्यौँ’ क्याम्पस प्रमुख अधिकारीले भन्नुभयो, ‘निकुञ्ज भित्र पर्ने राजमार्गमा हिजोआज दिनहुँजसो बाघ देखिने गरेको छ ।’

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा गएको पुस १७ गते राती पाटे बाघले गुडिरहेकै मोटरसाइकलमा आक्रमण गरी एक महिलाको ज्यान लियो । त्यो घटनापछि निकुञ्जका बाघ हिंस्रक बनेको भन्दै चिन्ता र आक्रोश बढिरहेको छ । राजमार्ग हुँदै यात्रा गर्नेहरुले आजभोली हरेक दिन सडकमा बाघ भेटएको फोटो र भिडियोहरु सामाजिक सञ्जालमा राखिरहेका छन् ।

जंगली हात्तीको आतंक पछि अब पाटे बाघको पालो

तराई क्षेत्रको सबैभन्दा ठुलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्र ५ सय ७ वर्ग किलोमिटर रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक बन र राष्ट्रिय बन भित्रबाट आएका बँदेल, निलगाई र बाँदरले किसानहरुको अन्नबालीमा वर्षेनी क्षती पुर्याउँदै आईरहेका छन् । निकुञ्ज र सामुदायिक बन भित्रबाट निस्केका चितुवाले हरेक वर्ष घरपालुवा पशुचौपाया खाने र जंगली हात्तीले घरगोठ भत्काउने, अन्नबालीमा क्षती पुर्याउने र मान्छे मार्ने पनि गरिरहेका छन् ।

जंगली हात्तीलगायत वन्यजन्तुबाट हुने जनधनको क्षति रोक्न विकल्पहरु अपनाउने प्रयास भइरहेका बेला पाटे बाघले मान्छे मार्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन् । जंगली हात्तीपछि पाटे बाघ अहिले आक्रामक बन्न थालेका छन् र जनधनमा क्षति पुर्याइरहेका छन् । पछिल्लो समय पाटे बाघले मानिसमाथि आक्रमण गरिरहेका घटनाले मध्यवर्ती क्षेत्रका स्थानीयबासी त्रसित बनेका छन् ।

बर्दियामा ५ महिनाको अवधिमा पाटे बाघको आक्रमणबाट ७ जनाले ज्यान गुमाइसकेका छन् । दुई वर्षयता हालसम्म बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्र अन्तर्गतका जैविक मार्ग तथा सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट १४ जनाको ज्यान गएको छ । स्थानीयहरु निकुञ्ज र राष्ट्रिय वन आसपासका सामुदायिक वनमा घाँस दाउरा लिन गएका बेला र जंगल आसपासका गाउँमै पसेर पाटेबाघले घरपालुवा पशु चौपाया र मानिसको ज्यान लिने गरेको छ ।

यतिबेला राजमार्गमा यात्रा गर्दा जोखिम बढेको छ । वन र वन्यजन्तु संरक्षण अभियानमा लागेका मध्यवर्ती क्षेत्रका स्थानीयबासीन्दाहरु निकुञ्ज र वन क्षेत्र छेउछाउका गाउँमा पाटे बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेपछि स्थानियहरु त्रासमा भएको श्रीरामनगर उपभोक्ता समितिका पुर्व अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । सरकार र स्थानिय संरक्षणकर्मीको पहलमा बर्दिया निकुञ्जमा बाघ लगायतका वन्यजन्तु बढिरहेका छन् । सकारात्मक कुरा हो, तर मान्छे भन्दा ठुलो वन्यजन्तु हुन सक्दैन, त्यसैले मान्छे जोगिने र वन्यजन्तु जोगिने खालको दिगो व्यवस्थापन गर्न वन्यजन्तुमैत्री संरचना बनाउन खाँचो छ न्यौपानेले भन्नुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया