बाँके : चालु आ.व.को लक्ष्य ५२३ रहेकोमा २३८ फछ्यौट


उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा वरिष्ठतम न्यायाधीश रत्न बहादुर बागचन्दले न्याय मर्न नदिन सबै लाग्नु पर्नेमा जोड दिएका छन् । बार बेन्च बैठकमा न्यायाधीश बागचन्दले गर्भमा रहेको वच्चा मर्दा कस्तो दुःखको अनुभुति हुन्छ न्याय मर्दा पनि आफुलाई त्यस्तै हुने गरेको बताए ।


नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्कीले कानूनको आवरणमा कसैको पनि वैयक्तिक स्वतन्त्रता हनन हुन नहुने भनी राखेको भनाईको प्रतिउत्तरमा हालै सरुवा भई नेपालगन्ज आएका न्यायाधीश वागचन्दले उक्त भनाइ राखेका हुन् । बारको जो समस्या हुन्छ त्यो अदालतको पनि समस्या हो र जुन अदालतको समस्या हुन्छ त्यो बारको पनि समस्या भएकाले प्रभावकारी न्याय सम्पादनमा अदालतसंगै बारको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहने न्यायाधीश वागचन्दले बताए ।

बार बेन्च बैठकमा बोल्दै नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनील कुमार श्रेष्ठले सार्वजनिक सरोकारका मुद्दामा राम्रो फैसलाको लागि नेपालगन्ज जति चर्चित छ कार्यान्वयनमा त्यति कमजोर भएको बताए ।


मानव अधिकारकर्मी समेत रहेका अधिवक्ता वसन्त गौतमले नागरिकको मानव अधिकारको संरक्षणमा अदालत सदै चनाखो हुनु पर्ने बताए । बालन्याय र फौजदारी न्यायको पूर्ण कार्यान्वयनमा समस्या रहेकोले ब्यक्तिको बैयक्तिक स्वतन्त्रता र कानून बमोजिम भए नभएको बारेमा उच्च अदालतले राम्रो संग हेर्नु पर्नेमा जोड दिए । २ बर्ष नाघेका मुद्दा अदालतमा धेरै रहेको र फैसला कार्यान्वयनका लागी न्याय क्षेत्र समन्वय समितिको बैठकमा ब्यापक छलफल हुनु पर्नेमा गौतमले जोड दिए ।

नेपालगन्ज उच्च बारमा अध्यक्ष बिकाश आचार्यले १५५ नं. को प्रभावकारी हुन नसकेको भन्दै प्रभावकारी न्याय सम्पादनमा बारको साथ रहने बताए । म्याद तामेली गर्न ढिलाई हुने गरेका कारण न्याय सम्पादनमा ढिलाई भएको भन्दै मुद्दा ब्यवस्थापनमा अदालतलाई सहयोग गर्न बार तयार रहेको जानकारी दिए ।


बार बेन्च बैठकमा वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल जिल्ला वारका सचिव गणेश थारु, अधिवक्ता बिश्वजित तिवारी, लोक बहादुर शाह, सुदिप कुमार भट्राई लगायतका कानून ब्यवशायीले अन्य कार्यालयबाट मिसिल आउनमा ढिलाई गरेका कारण न्याय सम्पादनमा ढिलाई हुने गरेको, अदालती फैसला कार्यान्वयमा समस्या रहेको, बालन्यायको कार्यबिधिको पालना हुन नसकेको भन्दै यस्ता कुरामा अदालतको ध्यान जानु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधीवक्ता देवराज भारतीले प्रमाण र तथ्यका आधारमा अभियोग लगाइने गरेको बताएका थिए ।

बार बेन्च बैठकमा उच्च अदालत नेपालगंजका न्यायाधीशहरु रत्न बहादुर बागचन्द, केशवराज जोशी, गोकर्ण डाँगी र राजेश कुमार काफ्लेको सहभागिता रहेको थियो । उच्च अदालत नेपालगन्जमा हाल ६ जना न्यायाधीश कार्यरत छन् । सरुवा भएका न्यायाधीश टेक प्रसाद ढुंगाना अदालतमा हाजिर भइसकेका छैनन् ।


अदालतका अधिकृत हेमराज तिमिल्सेनाले सञ्चालन गरेको बार बेन्च बैठकमा अदालतका रजिष्ट्रार चिन्तामणि शर्माले कार्य प्रगति बिवरण प्रस्तुत गरेका थिए ।
देशभरिका १८ उच्च अदालत मध्ये नेपालगन्ज उच्च अदालतलाई उत्कृष्ट बनाउन लागि परेको र यसको लागि बारको सहयोग आवश्यक रहेको रजिष्ट्रार चिन्तामणि शर्माले बताए । जनताले अनुभूति गर्न सक्ने गरि न्याय सम्पादनको कार्यमा लागेको भए पनि कोभिड संक्रमणका कारण लक्ष्य अनुसारको प्रगती गर्न नसकिएको शर्माको भनाइ थियो । २०७७ पौष मसान्तसम्म निर्धारित मुद्धा फछ्यौट लक्ष्य ५२३ रहेकोमा २३८ वास्तविक फछ्यौट भएको रजिष्ट्रार शर्माले जानकारी दिए । चालु आर्थिक बर्षका लागि अनुमानित मुद्दा लगतसख्या १८३७ र अनुमानित फछ्यौट मुद्दा संख्या १२५७ रहेको शर्माले बताए । आर्थिक बर्ष ०७६/०७७ मा मुद्धा लगत सख्या १३३८ रहेकोमा फछ्यौट संख्या ६६० र बाकी ६७८ थान मुद्दा रहेको जानकारी बैठकमा गराइएको थियो । मुद्दा फछ्यौटको हिसावले हेर्दा आव ०७४÷०७५ मा ७१.२९ प्रतिशत ०७५/०७६ मा ७१.२८ र ०७६/०७७ मा ४९.३३ प्रतिशत फछ्यौट भएको जानकारी रजिष्ट्रार शर्माले गराएका थिए ।


२०७७/०७८ को बार्षिक फछ्यौट लक्ष्य १२५७ थान रहेको, लगत १२८९ रहेको, बाँकी १०५१ र फछ्यौट प्रतिशत १८ दशमलव ४६ रहेको जानकारी बार बेन्चमा गराइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया