खजुरालाई प्लाष्टिक मुक्त बनाइने

खजुरा गाउँपालिकाको ८ औं गाउँसभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजश्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अध्यावधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ ।

गाउँसभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले आर्थिक वर्ष २०७७÷०७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पूँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए । त्यस्तै संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पूँजीगत खर्च शून्य रहेको, प्रदेश सकरकाबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पूँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको प्रमुख कक्षपतिले बताए । उनले सबै वडामा संचालित विभिन्न योजनाहरुको ठेक्का सम्झौत र उपभोक्ता समितिमार्फ हुने काम पनि संचालनमा रहेको बताए । ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उनले जानकारी दिए । अध्यक्ष कक्षपतिले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा गाउँपालिकाका बासिन्दाबाट साथ सहयोग रहेको भन्दै आभार प्रकट गरे ।

सभाले चालू आर्थिक वर्षमा केही योजनाहरु संसोधन र परिमार्जनसहित पारित गरेको छ । सभामा वडाध्यक्ष तिलकवीर सुनार, देविलाल खनाल, कार्यपालिका सदस्य निसार अलि दर्जी, झुमा योगी, सदस्यहरु देउमाया थापा, जगबहादुर कामी, हजुरा बम, टोपबहादुर ओली, कमाल खाँले भाग लिएका थिए । चालू आर्थिक वर्षको राजश्व संकलनको अवस्था सुधार रहेको जानकारी गराउँदै अध्यक्ष कक्षपतिले मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार ९५६ रुपैयाँ राजश्व संकलन भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया