युरोप, अमेरिका मात्र होइन केहि एशियन सहरहरु पनि आफ्नो सहरहरुमा भएका सडकलाई साइकल मैत्री बनाएर अगाडि बढिरहेको अवस्थामा नेपालका सहरहरुको अवस्था दयनीय छ । हाम्रो सहरका सडकहरु साइकल मैत्री छैनन् । हप्ता दिन अघि काठमाडौ पुग्दा मैले ललितपुरका सडकमा केहि दिन हिडे हाल सालैमात्र सडकमा अलग्गै साइकल लेन बनाइएको हो तर ती लेनहरु ट्याक्सी, जिप र कारहरुले ओगटेको देखे, साइकल हिड्न अलग्गै लेन त बन्यो तर साइकलेलाई दुःख र सास्ती पुरानै छ । साइकल लेन हुँदा पनि त्यसमा साइकल गुडाउन मुस्किल छ ।
सडक साइकल मैत्री नहँुदा तराईका सहरहरु नेपालगन्ज, बिरगन्ज, बुटवल, धनगढी, बिराटनगर लगायतका ठाउँमा दिनदिनै ट्रक, बस, टिप्पर, ट्याक्टर लगायतका सवारी साधनको ठक्करबाट दुई चार जना साइकल यात्रीहरु दिनहुँ मृत्युु भएका दर्दनाक तस्वीर सहितका समाचार हामी पढिरहेका छौं, एउटा साइकल अभियान र साइकल मैत्री सहर बनाउने अभियानमा जोडिएको म यस्ता समाचार दिनहुँ पढ्नुपर्दा दुखी हुने गर्छु । आम तराईबासीहरुको अहिले पनि साइकल प्रमुख सवारी साधन हो । उनीहरुका लागि साइकल सवारीसाधन मात्र होइन जिन्दगी हो अर्थात जीवन चलाउने एउटा प्रमुख अस्त्र हो । साइकलमा आलुप्याज बोकेर गाउँ सहरमा डुलाउँदै तरकारी बेचेर जीवन धान्ने हुन् वा पाउरोटी, बालामुन्द्री, खेलौना वा विभिन्न सरसमान साइकलमा लादेर गाउँ सहर बिहानैदेखि साँझसम्म डुलेर छाक टार्नेहरु हुन् यी सबैका लागि साइकल नै सबैथोक हो यदी उनीहरुसँग यो साइकल नहुने हो भने उनीहरुको जिन्दगी कष्टपूर्ण मात्र होइन मुस्किल छ ।
झट्ट कुरा सुन्दा धेरैलाई ठट्टा लाग्न सक्छ अनि रिस पनि उठ्न सक्छ सहरमा धेरै कुरा गर्न बाँकी छ सडकमा साइकल लेन वा साइकल मैत्री सडक कसरी प्राथमिकता को कुरा हो ? यो त बिहान साँझ गियर भएका हजारौं र लाखौं पर्ने साइकलमा हेल्मेट लाएर कुद्नेहरुको लागि हो वा उनले उठाएको मुद्दा हो तर सत्य कुरा त्यो हुँदै होइन वास्तवमा सहरमा साइकल लेन र साइकल मैत्री सडकले आम मानिसहरू जीवनमा सहजता ल्याउने छ, सडक दुर्घटना कम गराउने छ, सडक दुर्घटनाबाट हुने मृत्युबाट जोगाउने छ समग्रमा एउटा सुन्दर र वातावरण मैत्री सहर बनाउन मद्दत पुर्याउने छ यसर्थ साइकल मैत्री सहर र सडकमा साइकल लेन रहर होइन आवश्यकता हो ।