तह लाग्लान् सडक बिगार्ने टिप्पर ?

प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि तात्यो ट्राफिक, एकै दिन पौने लाख असुली


खोलाबाट बालुवा ल्याउँदा पानी पोख्दै सडकमा कुदेको दृष्य बाँकेमा नौलो होइन । नत ओभरलोड टिप्पर र ट्याक्टरले उडाएको बालुवाबाट आँखामा क्षति पुगेकै कुरा नयाँ हुन् । तर, यी दैनिक हुने लापरबाहीका घटनानै ट्राफिक प्रहरीका अबैध असुलीका भरपर्दा बहाना बन्दै आएका छन् ।
खोला तथा नदीबाट बालुवा निकालेर पानीसँगै कुदेका टिप्पर तथा ट्याक्टरले पु¥याउने नोक्सानीबारे भने सायदै कसैले हेककानै राखेको होला । सम्बद्धका अनुसार, यसरी निरन्तर सडकमा पोखिने पानी र त्यसमाथि बेतोडको गाडी कुदाइले कालोपत्रेको आयु एक्कासी कम गराउँछ ।
लापरवाही र अटेरीले सार्वजनिक सडकमा क्षति पु¥याउँदै आएका टिप्परविरुद्ध बाँके प्रहरी–प्रशासन कठोर बनेको छ । ओभरलोड, ओभरस्पीड र जथाभावी कुद्ने टिप्परलाई तह लगाउन प्रहरी प्रशासन कठोर बनेको हो ।
‘खासगरि गिट्टीबालुवा लगायत नदीजन्य पदार्थ बोक्दा पानीसँगै सडकमा कुद्दा ठुलो क्षति पुगेको गुनासो आएपछि एक्सन लिन आदेश गरेको हुँ,’ पहिलो पटक प्रति टिप्पर १ हजार ५ सय रुपिया जरिवाना काटेको ट्राफिक कारबाहीबारे प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले दैनिक नेपालगन्जसँग भने, ‘फेरिपनि अटेरी गरे कडा कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।’
प्रजिअ कुरुम्वाङले जिल्ला ट्राफिक प्रमुख राजु भण्डारीलाई खोला तथा नदीबाट बालुवा निकालेर पानीसँगै कुदेका टिप्पर तथा ट्याक्टरले पु¥याउने नोक्सानीबारे सचेत गराउँदै तत्काल नियन्त्रणका लागि निर्देशन दिएका थिए । ‘आजमात्रै ५३ वटा टिप्परलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरिएको छ,’ पहिलो पटक सामान्य जरिवानामा छाडिएको जानकारी दिंदै प्रजिअ कुरुम्वाङले भने, ‘अब थप कठोर कारबाही हुनेछ ।’ नदीजन्य वस्तु उत्खनन् सम्बन्धि व्यवस्था अनुसार, ढुवानी गर्दा ढुवानीका सवारी साधनहरुलाई अनिवार्य रुपमा ढाक्नु पर्नेछ र सडकमा पानी चुहाउन पाइने छैन । सोही व्यवस्था अनुसार कारबाही प्रक्रिया थालिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया