प्रहरीले हठात् छापा मार्दा ‘पर्यटन क्षेत्र निरुत्साहित’

बाँकेका होटल तथा पर्यटन व्यवसायीहरुले पर्यटक निरुत्साहित हुने खालका गतिविधि तत्काल रोक लगाउन माग गरेका छन् । कोरोना कहरबाट थलिएका व्यवसायीहरुको पुनरुत्थानका लागि उपाय खोज्न बिहीबार भएको उनीहरुको भेलामा सहभागीहरुले राज्यबाटै पर्यटन क्षेत्रका लागि प्रभावकारी पहलको अभाव देखिएको गुनासो गरे ।


‘कोरोना रोकिएको छैन, तर पर्यटक भने रोक्ने काम भैरहेको छ’, १० महिनादेखि भारतसँगको सीमा नाका औपचारिक रुपमा बन्द गरिंदा भैरहेको नोक्सानीबारे मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले भेलामा भने, ‘नाका चाहीँ किन बन्द भनिएको होला ?’

नेपालगन्ज च्याम्बर अफ कमर्शका सचिव सञ्जय थापाले थलिंदै गएको बजार, व्यवसाय बिस्तारै उठ्न खोज्दा पनि पर्यटन प्रवद्र्धनका लागि संगठित पहलको खाँचो औंल्याए । ‘पर्यटन क्षेत्रले आफै उभिन खोज्दा राज्यबाट सहयोगी वातावरण आवश्यक रहेको छ’, ह्याप्पी वल्र्डका सञ्चालक थापाले भने, ‘त्यो वातावरण बनाउने काममा राज्यका निकायहरु गम्भीर भएका छैनन् ।’


भेलामा सहभागी व्यवसायीहरुले रातविरात होटलमा छापा मारेर प्रहरीले आतंकित पार्दा आन्तरिक पर्यटन समेत मृत प्राय हुन थालेको गुनासो गरे । ‘प्रहरीले यौन व्यवसाय रोक्न गर्ने प्रयासमा सबैको साथ हुन्छ’, व्यवसायीहरुको एउटै स्वर थियो, ‘तर, श्रीमान्, श्रीमति वा प्रेमी, प्रेमिका बसेका होटल र कोठाहरुमा गएर आतंक मच्चाउँदा मानिसहरु होटलमा बस्न डराउने अवस्था बनाइएको छ ।’ उनीहरुले प्रहरी, प्रशासनले जबर्जस्ती हुने यौनजन्य क्रियाकलाप तथा यौन व्यवसाय नियन्त्रणका लागि अपनाउनु पर्ने विधि भन्दा होटल÷रेष्टुरेन्टमा छापा मार्ने क्रियाकलाप बन्द गर्नुपर्ने जोड पनि दिए ।

वरिष्ठ पर्यटन व्यवसायी दिवाकर खनालले भारतीय पर्यटकहरुलाई मध्यनजर नाका सहजीकरणको माग गरे । ‘लखनउबाट मात्रै १०औं हजार पर्यटक नेपालगन्ज ल्याउन सकिन्छ’, व्यवसायी खनालले भने, ‘तर, त्यसका लागि सीमा नाकामा हुने अभद्र व्यवहार र प्रवेशपछि आतंकित गर्ने काम बन्द गरिनुपर्छ ।’


लुम्बिनी प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समितिले भेलाको आयोजना गरेको हो । समितिका सहसंयोजक श्रीराम सिग्देलको अध्यक्षतामा भएको भेलाले पर्यटन प्रवद्र्धन मञ्च समेत गठन गर्दै पर्यटन व्यवसायीहरुको समग्र हितका लागि पहल लिने प्रतिबद्धता पनि जनाएको पर्यटन व्यवसायीहरुले जानकारी दिएका छन् ।

कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा पर्यटन मञ्च

बाँकेका होटल तथा पर्यटन व्यवसायीहरुले आफ्ना समस्या र सम्भावनालाई संगठित रुपमा उठाउन पर्यटन प्रवद्र्धन मञ्च गठन गरेका छन् । बिहीबार नेपालगन्जमा भएको एउटा भेलाले नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको संयोजकत्वमा मञ्च गठन गरेको हो ।

आन्तरिक पर्यटन पुनरुत्थान समितिका सहसंयोजक समेत रहेका नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा भएको सरोकारवालाहरुको भेलाले गठन गरेको मञ्चमा होटल तथा पर्यटन व्यवसायी दिवाकर खनाल, केशव न्यौपाने, डा. ओम मिश्र, भाष्कर काफ्ले, भीम कंडेल, गगन थापा, दिल बहादुर ओली, सञ्जय थापा लगायत छन् । ‘समग्र पर्यटन व्यवसाय नै धराशयी भैरहेका बेला यसको प्रवद्र्धनका लागि मञ्च सक्रिय हुनेछ’, मञ्चका सदस्य समेत रहेका प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समितिका सहसंयोजक सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘अब यसले संगठित रुपमा समस्याको समाधानका लागि पहलकदमी लिनेछ ।’

मञ्चका संयोजक श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सवाललाई श्रृंखलाबद्ध उजागर गर्दै समाधानका लागि सरोकारवालासँग पहल लिने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया