खाद्य पदार्थको निकासी पैठारी निरिक्षण तथा प्रमाणीकरण नियमावली २०७७ को मस्यौदामा छलफल
नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले उपभोक्ता बजारका सार्वभौम भएकाले उपभोक्ताको हित अनुकुल हुने गरि कानून बन्नु पर्नेमा जोड दिएका छन् । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, बाँकेले नेपालगन्जमा आयोजना गरेको खाद्य पदार्थको निकासी पैठारी निरिक्षण तथा प्रमाणीकरण नियमावली २०७७ र खाद्य व्यवसाय दर्ताको सिफारिस र अनुमति पत्र नियमावली २०७७ को मस्यौदा बारे छलफल कार्यक्रमका सहभागीहरुले उपभोक्ताको हितको पक्षमा कानून बन्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार भएकाले कानून बनाउदा उपभोक्ताको अधिकार संरक्षण गर्ने गरि बनाउनु पर्नेमा जोड दिए ।
खाद्य पदार्थको निकासी पैठारी निरिक्षण तथा प्रमाणीकरण नियमावली २०७७ र खाद्य व्यवसाय दर्ताको सिफारिस र अनुमतिपत्र नियमावली २०७७ को मस्यौदा बारे छलफल खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका कार्यालय प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्ञानेन्द्र प्रसाद मण्डलको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुले समय परिस्थिति अनुसार उपभोक्ताको अधिकारको संरक्षण र ब्यवसायीको हितलाई मध्यनजर राख्दै कानून निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।
छलफल कार्यक्रममा खाद्य आयत निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका निमिक्त कार्यालय प्रमुख एकराज बुढाथोकीले खाद्य पदार्थको निकासी पैठारी निरिक्षण तथा प्रमाणीकरण नियमावली २०७७ र खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक नेत्र बोगटीले खाद्य व्यवसाय दर्ताको सिफारिस र अनुमतिपत्र नियमावली २०७७ को मस्यौदा भएका मुख्य प्रावधान र कार्यसम्पादनका क्रममा भोगेका समस्याहरु बारेमा प्रकाश पारेका थिए ।
खाद्य पदार्थको निकासी पैठारी निरिक्षण तथा प्रमाणीकरण नियमावली २०७७ को मस्यौदा बारे प्रस्तुत गर्ने क्रममा एकराज बुढाथोकीले खाद्य पदार्थको पैठारीमा निषेध र प्रतिबन्धको लागि आदेश जारी गर्ने सम्बन्धी विभागको अधिकारको बारेमा, साथै निकासीकर्ताको दर्ता, अनुमतिपत्र र सुचिकृत प्रमाणपत्र, निकासीकर्ताले पैठारी गर्ने देशका प्रावधानहरु पुरा गर्नुपर्ने, निकासी प्रमाणीकरण आवेदन, निरिक्षण र नमुना संकलन, निकासीकर्ता उपस्थित हुनुपर्ने, निरिक्षण प्रतिवेदन र विश्लेषण प्रतिवेदन बारे बोलेका थिए ।
नियमावलीमा रहेको आयातित खाद्य कन्साइनमेन्टको अस्वीकृति, जोखिममा आधारित फ्रेमवर्क र कार्य प्रक्रिया, कुटनैतिक नियोगको प्रयोगको लागि, व्यक्तिगत उपभोगका लागि, नेपालको बाटो प्रयोग गरी विदेश लैजाने, प्रशोधन पश्चात शत प्रतिशत निकासी गर्ने, विदेशमा निकासी भएको तर अस्वीकृत भइ फिर्ता गरिएको, अनुसन्धान र विकास, प्रदर्शनी उद्देश्यका लागि, निकासी गर्ने देशको व्यक्ति वा खेलाडीको व्यक्तिगत खपतको लागि, आपतकालिन अवस्थामा गरिएको सहयोगका मुख्य मुख्य कार्यहरु बारेमा बुढाथोकीले जानकारी गराएका थिए । यसै गरि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक नेत्रा बोगटीले खाद्य व्यवसाय दर्ताको सिफारिस र अनुमतिपत्र नियमावली २०७७ को मस्यौदा बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुति पश्चात छलफलको क्रममा सरोकारवाला, व्यापारी र बिभिन्न वर्गका सहभागीहरुको प्रश्नको जवाफ दिदै सम्बन्धित कार्यालयका प्रमुखहरुले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण कार्यक्रमहरु संचालन गर्न नसकिएको र दरबन्दी अनुसारको जनशक्ति नहुँदा कार्यालयको लक्ष्य अनुसार कार्यसम्पादनमा चुनौती रहेको बताएका थिए ।
त्यसैगरी उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतमले खाद्य पदार्थको निकासी पैठारी निरिक्षण तथा प्रमाणीकरण नियमावली २०७७ र खाद्य व्यवसाय दर्ताको सिफारिस र अनुमतिपत्र नियमावली २०७७ को मस्यौदा बारे उल्लेख गर्दै मस्यैदामा देखिएका कमी कमजोरीहरु औल्याउँदै राम्रो र गुणस्तरिय सेवा प्रवाहका लागी शुभेक्षा दिएका थिए । उपभोक्ता अधिकारको संरक्षणका लागी आफुहरु मिलेर काम गर्न चाहेको उल्लेख गर्दै गौतमले उपभोक्ता शिक्षा र खाद्य स्वच्छतामा जोड दिएका थिए ।
छलफलमा गुणस्तर तथा नापतौल कार्यालय, बाँकेका प्रमुख योगेन्द्रकुमार पौडेल, बाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका प्रतिनिधि देवीलाल चौलागाई, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख जयराम थारु, खाद्य आयत निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका निमिक्त कार्यालय प्रमुख एक राज बुढाथोकी, नेपालगन्ज उपमहानगरपालिका दिपेन्द्र श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका ५ नं प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।
खाद्य आयत निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका निमिक्त कार्यालय प्रमुख एक राज बुढाथोकीले संचालन गरेको कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, तथा सरोकारवालाहरु, बिभिन्न ब्यवसाय संग सम्बन्धित ब्यापारीहरु, उद्योगीहरु, उपभोक्ता अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।