राष्ट्रपति विद्यादेवी भण्डारीप्रति अपशब्द प्रयोग गरिएको भन्दै अधिकारकर्मीहरुले आपत्ती जनाएको छ । सार्वजनिक सभा सम्मेलन तथा नारा जुलुसमा राष्ट्रपति भण्डारीप्रति अपशब्द प्रयोग गरिएको भन्दै देशभरका अधिकारकर्मी महिलाहरुले आपत्ती जनाएका हुन् । अखील नेपाल महिला संघको नेतृत्वमा आज अधिकारका क्षेत्रमा क्रियाशिल देशभरका महिलाहरुले आज संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।
उक्त कार्यक्रम अनुसार, बाँकेका अधिकारर्मी महिलाहरुले पनि जिल्ला प्रशाशन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वांगलाई संयुक्त रुपमा ज्ञापनपत्र वुझाएका छन् । देशको पछिल्लो राजिनीतिक घटनाक्रममा भईरहेका सार्वजनिक सभा सम्मेलन र नारा जुलुसमा राष्ट्रको सर्वोच्च निकायको रुपमा रहनुभएको राष्ट्रपतिको विरुद्धमा आईरहेका अमर्यादित र अपमानित अभिव्यक्तिले सिङ्गो महिलाहरुको अपमान भइरहेको भन्दै अखिल नेपाल महिला संघले देशभरका जिल्ला प्रशाशन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र वुझाएको हो ।
अखिल नेपाल महिलासंघका केन्द्रीय सदस्य एवं नेकपाका केन्द्रिय कमिटी सदस्य दिपा शर्माले सार्वजनिक स्थलमा महिलामाथि गरिने टिप्पणीहरु प्रचलित कानुनी व्यवथाले अपराध घोषणा गरेको प्रति ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी कुरुम्वांगलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो ।
“अत्यन्त अमानविय, अमर्यादित, अशोभनिय र निकृष्ट भाषा प्रयोगले महिलाहरुलाई अपमानीत गरेको ठहर गर्दै क्रियाशिल महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले ऐक्यबद्धता जनाउदै दोषिलाई छानविन गरी यथाशिघ्र कानुनी कारवाहिका लागी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ” विज्ञप्तीमा भनिएको छ ।
बाँके जिल्लामा महिलाको क्षेत्रमा क्रियाशिल १८ वटा संघसंस्थाले संयुक्त रुपमा हस्ताक्षर गरी उक्त ज्ञापन पत्र वुझाएका हुन् । ज्ञापनपत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले महिलाहरुको उच्च सम्मान गर्दै कानुनविपरीत काम गर्नेलाई कारबाहि प्रक्रिया अगाडि वढाउन प्रतिवद्ध रहेको जनाएका छन् ।