‘जानकी गाउँपालिकाको वडा नम्बर ३ इन्द्रपुरमा वडाभेला गरिरहेका छौं,’ नेकपाका पाका नेता पदम धितालले दैनिक नेपालगन्जको सम्पर्कमा आइतवार यसो भनिरहँदा पृष्ठभूमिमा सरकारले गरिरहेका काम र विरुद्धको षड्यन्त्रबारे भाषण चल्दै थियो ।
त्यतिबेलै नेकपा बाँकेका सचिव अशोक कोइराला भने सोमवार हुने पार्टी जिल्ला कमिटि बैठकको तयारीमा थिए । जुन बैठकमा धितालहरु पुग्दै छैनन् । जिल्ला पार्टी अध्यक्ष आइपी खरेल र सचिव कोइराला प्रतिनिधि सभा विघटन गर्ने पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निर्णयपछि पहिलो पटक औपचारिक बैठकको तयारीमा जुटिरहँदा धितालहरुले भेला आयोजना गरि १९५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरिसकेका छन् । त्यसको संयोजन पदम बहादुर धितालले गरिरहेका छन् ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावसँगै नेकपा विभाजनमा पुगेको थियो । त्यो अवस्थाले कानुनी र न्यायिक निरोपण नभइसकेपनि विभाजनको अभ्यास वडास्तरमैं पुगेको हो । ‘वडा भेलामार्फत वडा कमिटि निर्माण गरि ८१ वटै वडामा पार्टी संरचना तयार गरिंदैछ,’ खजुराका सबै वडामा आइतवार कमिटि विस्तार गरिएको जानकारी दिंदै पार्टी इञ्चार्ज भीम ओलीले दैनिक नेपालगन्जसंग भने, ‘कसैलाई हटाइएको छैन, जिम्मेवारी हेरफेरमात्रै गरिएको हो ।’
बाँकेमा प्रष्टसँग नेकपाको विभाजन देखा परेको छ । ओली नेतृत्वको नेकपाले जिल्लामा धिताललाई जिल्ला अधिवेशन आयोजक कमिटिको संयोजक बनाएर पार्टी कमाण्ड सुम्पिएको छ । ‘अब अधिवेशनसम्मनै धितालले जिल्लाको पार्टी संयोजन गर्नु हुनेछ,’ केन्द्रीय सदस्य देवराज भार भन्छन्, ‘पार्टी विभाजनभन्दा पनि जिल्ला एकता अधिवेशनको तयारी गरिएको हो ।’
प्रचण्ड–नेपाल पक्षधर नेकपाले पार्टी प्रशिक्षण र प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शनपछि जिल्ला कमिटी बैठक गर्न लागेको हो ।
‘पार्टी बैठकले नै आगामी योजना तय गरेर अगाडी बढ्छ,’ अध्यक्ष खरेलले दैनिक नेपालगन्जसँग भने । प्रदेश सभा सदस्यसमेत रहेका खरेलले आफुहरुसँग अध्यक्ष, सचिवसहित कार्यालय, सचिवालय र सिंगो जिल्ला कमिटि बहुमत रहेकाले आफ्नो नेतृत्व रहेको पार्टीनै आधिकारिक रहेको दावी गरे । ‘स्वाभाविक रुपमा पार्टी कार्यालय पनि हामीसँगै हुनेछ,’ उनले भने ।