वर्तमान नेपाली राजनीतिक सत्तावृतका धूर्त खेलाडी मानिने पुष्प कमल दहाल प्रचण्डको एक निर्देशनमा आफ्नो सिँङ्गो जीवन नै न्यौछवार गर्न लाम लागेको रोल्पा आज मौन छ । मानौं त्यहाँ मुर्दा शान्ती छाएको छ । कोहि पनि हिजोको त्यो कोरा सपना सम्झेर मुख खोल्न चाँहदैन । कसैलाई पनि त्यो हिजोको निद्रा भंङ्ग गर्ने जाँगर छैन । हिजो के सपना बाँडियो र त्यसमा कसरी कस्तो उत्साह लिएर कुँदियो कसैलाई पनि आज सम्झेर पीडा बोध गर्न मन छैन । अतितलाई आज फेरि खोतलेर भित्र भित्रै अमन्नियको घाउमा पीपको धारा बगाउन पनि मन छैन । कोहि कसैले यसको बारेमा कुरा गर्न खोज्यो भने पनि उसले कस्तो शाब्दिक झटारो पाउने हो निधो छैन । त्यो हिजोको कथा एउटा भयानक सपना थियो, उठाउन नसकि नसकी उठाउन खोजेको भारी थियो जुन भारी आज रोल्पाले बिसाइ सकेको छ ।

नेपालका तत्कालिन पाँच बिकास क्षेत्र मध्ये मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको राप्ती अञ्चल रोल्पा जिल्लाको होलेरी वर्तमान नेपालमा निर्रथक शसस्त्र आन्दोलनको एउटा बिर्सनै नसकिने ठाउँको रुपमा चिनिन्छ । जहाँ तत्कालिन माओवादीहरुले २०५८ साल असार २८ गतेका दिन बिहान ५ बजेतिर रातभरिको ड्यूटी गरेर आराम गर्न डेरा पसेका झण्डै ६ दर्जन जति प्रहरीलाई घेरा हालेर आक्रमण गर्दै कब्जा गरेका थिए । उनीहरुलाई कब्जा गरेर तीन महिना बन्दी बनाएर होलेरी देखि चुनवाङ्ग र रुकुमकोटसम्म लगेर राखेका थिए । यहि नै यस्तो घटना थियो जहाँबाट नै नेपालको राजनीतिमा विदेशी प्रपञ्चको यात्रा आरम्भ भएको भनिन्छ । त्यो कुरा आजका बिभिन्न राजनीतिक घटनाक्रमले साबित पनि गरेका छन् । आज त्यो शसस्त्र द्धन्दको उठानको ठाउँमा न कुनै सपना छ न कुनै गर्वगर्ने कथाहरु हालिन्छ । न त्यो हिजोको कथित गौरवपूर्ण भनिएको इतिहासको बारेमा कसैको मौनता टुट्छ । आज त्यहाँ मुर्दा शान्ति छ । हिजोको त्यो भारी धेरैलाई गह्रौं भै सकेको छ ।

अहिले माओवादीको सशस्त्र द्वन्द्वको चित्रण गर्न जनयुद्ध इतिहासको राष्ट्रिय संग्रालय निर्माण गर्न घेराबेरा गरिएको सात हेक्टरको पाखोमा एउटा द्वार र एउटा सानो घर बनेको छ । केहि सशस्त्र प्रहरीको पहरा दिइएको त्यो ठाउँले हिजोका ती मिठा मिठा सपनाहरु रोल्पाली जनतालाई पटक पटक सम्झाइ रहेको छ । हिजो खाएको सपनाको गासमा आज लागेको बालुवाले दाँत किरकिराउँदै गर्दा तिलाले आफ्नौ मौनता तोड्न सकेको छैन । आज पनि त्यो सपनाको खोले खाएको दुई दशकसम्म त्यहाँका कलिला बालबालिकाहरु लावारिसे बमको शिकार बनेका छन् । ती बालबालिकाका आमाबाले हिजो त्यहि सपनाको खोले बाँड्नेहरुको स्थानीय, प्रदेश देखि केन्द्रसम्मको सरकारबाट न्याय पाउन रुँदै छन् । त्यहाँ मौनता भित्र पनि चित्कार छ । तर त्यो चित्कार सुन्ने यो देशमा न हिजोको सपना बाँड्ने सरकार छ न समाज । ती सपना बाँड्नेहरुका नाइके हिजो अरुलाई सामन्त र तानाशाह भन्दै टाउका काट्नेहरु आफै सामन्त र तानाशाह बनेर बसेका गुनासो छ । निकै सोचि सम्झी तीन पटक अनुहार हेरेर बोल्ने तिलाबासीको मौनताले हिजोको हिँसाको हिस्सेदार भएकोमा पक्कै पनि गर्व गर्न सकेको छैन । आज मनभित्र बोकेको पश्चातापको भारी मझेरीमा बिसाएर सुस्केरा हाल्दै छ तिलाले । आफ्नो सँस्कृतिमा हानिएको बञ्चरोले पोलेको मुटु लिएर हिजोको त्यो गाइको आलो मासुको फेरि सम्झना गर्न चाहँदैन त्यो रोल्पाले ।

रोल्पाको त्यो खोंचमा प्रकृतिले सुन्दर हरपल मुस्कुराउन तम्तयार देखिने घर्तीगाउँले निकै लामो सास फेरेको छ । हिजोका ती अनाहकका कोरा सपनाहरुलाई बिर्सन निकै प्रयासरत यो गाउँ बजारिकरणको दौडमा पनि सामेल भएको छ । कोरोनाको त्रासलाई पनि बोक्दै समालिँदै हिजोको जस्तो अर्को हिँसात्मक त्रासदीमा जान मञ्जुर नभएको घर्ती गाउँ त्यो अतितको घाउ कोट्याउन चाहँदैन । आज आफ्नै लयमा आफ्नै मौलिक सँस्कृतिमा रमाउँदै हिजो बोकेको अनुचित भारी बिसाएर हिँड्न खोजेको छ यो गाउँले । तथापि त्यहाँ पनि हिजोको त्यो सिनो गन्हाइ रहेको छ । गिद्धहरुको घेराबन्दिमा घर्तीगाउँ आजपनि मौलिकतामा परेको बज्रबाट छट्पटाइरहेको छ । मामा, दाजु, काका, मितबा, मितआमा, फुपु बज्यैको साइनो लगाएर खामभाषामा ठठ्यौली गर्दै कोदोको तीन पाने सुरुप्प पार्दै आनन्द लिन खोज्ने ठाउँमा सोफिका फुच्चे बोतल र विदेशी रक्सी र जुसमा आधुनिकताको बासना खोज्दै हिजोको त्यो भारी बिसाएको अनुभूत गर्न खोज्दै छ ।

खरबारीमा घाँस काटेर बिसौनी बस्दै आफ्नो मनखुशीले सुन्तला टिपेर खाँदै बोक्रा निचोरेर साथीहरुको आखाँतिर हाल्दै जिस्किनेर पोखराको विद्यालयका पर्खालमा ओखर फोरेर खाँदा पर्खालका छपनीमा परेका खाटाहरु मात्रै आजपनि राङ्गसीका स्मृतिमा छैनन्, पोखराको विद्यालयमा लगाएका मुर्दाबाद जिन्दाबादका नारा र कथित समृद्धिका कथामा पनि राङ्गसी पोखरामा आज आगो तापेर बस्नेहरुलाई ताजैछन् । साँझको बटुवालाई आत्मियताको न्यानो चकटी बिछाइदिने राङ्गसी आज रित्तिएको गाउँमा उजाड बन्दै गरेका घरका बार्दलीबाटै बाटो देखाइदिन मात्रै खोज्दै छ ।

मौलिकताको फन्को मार्दै रुेथानेपनको आत्मीयता साटेर लाग्ने त्यो चप्का मेला र हप्ता भरि रमाउन सक्ने मावाङ्ग मेलामा आज कुनै रौनकता छैन । मेलाको ओछेलमा बसेर फेरि अर्का कुनै रक्त पिपासुहरुले रगतको व्यापार गर्ने पो हुन कि भन्ने त्रासले यसको महत्व मासिको छ । बर्षभरिका गाउँघरका दुख सुखका भाकाहरुले मेलाका चौपालहरु रङ्गिन छाडेका छन् ।
रोल्पाको प्रशासनिक केन्द्र लिवाङ्गलाई हिजोको पीडासँग मित्रता छैन । हिजोको त्यो सपनालाई तिला नदीमा मिल्काएर भविष्यको चौबाटोमा बसेको छ आजको लिवाङ्ग । आज पनि बेलाबेला सपना बाँड्न जानेहरुको कथामा लिवाङ्गलाई खासै चासो छैन । बिहानै देखि लाग्ने जाडोका पारिलोमा सकेसम्म कसैले पनि अतितलाई कोट्याएर मुटु नै अमिलो नबनाओस भन्ने चाहना बोक्दै कौवालाई बेल पाक्यो न हर्ष न बिस्मातमा तमासे बनेको रोल्पाको त्यो केन्द्र आफ्नै मौलिकतामा सुन्दर संसार देख्न चाहि रहेको छ । नेपाल र नेपालीपनको रैथाने खास्टो ओडेर घाम ताप्दा आउने आनन्दमा आजको वैबनश्य कित्ताकाट र घृणावादको विदेशी वादको जगमा उभिएको समृद्धिको कथाको कुनै स्थान छैन । हिजोको साम्यबादको भारीले थिचेको अनुभूति लिपिबद्ध गर्न पनि चाहँदैन आज लिवाङ्गले ।

नेपालको मौलिकता नेपाली सँस्कृति र यो देशका मूल धर्म (हिन्दू, बौद्ध, किराँत, जैन र बोन ) ले सृजना गरेको सभ्यतालाई आज चौबाटोमा लगेर वर्तमान सत्ताका भुसतिघ्रेहरुले लिलामी गरिरहेका छन् । नेपालीत्वलाई गाली गलौच गर्दा क्रान्तिकारी भइने दौडमा हिँडेका नेताहरुको बृहत योजनामा हामफालेर हिँडेको रोल्पा कुनै बेला आफुले गोडाको जल खाएर पूजा गर्ने गाईको मासु पकाउन बाध्य भएको थियो । रोल्पालाई सपनाका दलालहरुले आफ्नो प्रकृति र सँस्कृतिको छायाँ फेर्न बाध्य बनाएका थिए र आज पनि कतिपय पैसामा आमा बेच्न खोज्नेहरु रोल्पालीलाई आफ्नो कुलधर्मबाट बिमूख बनाउन उद्यत भएका छन् । तर पनि रोल्पा त हिजोको आफ्नोपनमा नै हाँस्न खोजेको छ ।

आज त्यो बाध्यतामा पारिएको रोल्पाको बिगतको अत्यास लाग्दो भारी बोकिरहन चाहन्छ कि चाहँदैन भन्ने चासो लिएर वास्तविक नेपाली रैथानेपनको पुर्नजागरण गर्न हिँडेको मौलिक जरोकिलो पार्टीको अभियानमा हाम्रो छ जनाको टोलीले निकै आतिथ्यताको अनुभूति गरेर फर्केको छ । रोल्पाले आफ्नो मौलिकतामा देखाएको चासो र हामीलाई दिएको न्यानो अपनत्वको खास्टोले पक्कै पनि हामीहरु भावविव्हल भएर फर्केका छौं । होलेरी देखि तिला घर्तीगाउँ अवाङ्ग, राङ्सी देखि लिवाङ्गसम्म पाएको अपनत्वमा आजपनि नेपाल जिउँदो भेटिएको छ । आज पनि नेपाली सँस्कृति र रैथानेपनमा उल्लास भेटिएको छ । तथापि बन्दूक बिसाएर बाइबल बाँडेकाहरु र रैथाने धर्मलाई अफिम र रुढिबाद भन्नेहरुले रैथाने धर्म र सँस्कृतिलाई मात्रै अफिम भनेको उदाङ्गो भएको छ । धर्मलाई अफिम सँस्कृतिलाई रुढिबादको नारा दिनेहरुका दैलादैलामा बनाएका चर्चहरुले रोल्पाको अनुहार कुरुप बनाउन खोजेको छ । त्यस्तो आफ्नो मौलिकतामा भएको कुठाराघातसँगै देशलाई निकै समृद्ध बनाउने र समतामुलक समाज निर्माणको सपना बोकाएर ओठ निचोर्दा दुध आउने बालबालिकाहरुलाई बन्दुक बोकाएको त्यो रोल्पालाई आज इतिहासको खलपात्र बनाउन कुनै कसर नछोड्नेहरु प्रति अब रोल्पाले समवेदना मात्रै भन्न खोज्दै छ । अब रोल्पाले छलकपटका कथा लेख्नेहरु, त्यहि छलकपटको बैसाखी टेकेर क्रस चढ्न मच्चिनेहरु, गाईको मासु र मानिसको रगतको आहलमा पिर्का चढ्नेहरुको भारी बोक्न चाहँदैन । आफ्ना र आफन्तको सत्ताको हानालुझिको भागिदार बन्न अब रोल्पा तयार छैन । हामीले छामेको रोल्पाको मन यहि हो । किन कि अब यिनीहरुको भारी बिसाएको छ रोल्पाले ।

प्रतिक्रिया

प्रतिक्रिया