नेपालगन्जको नगरी समाज सबै जातजाती धर्म लिंग वर्ग समुदाय मिलेर साझा फुलवारी छ । सम्वृद्धि, शान्ति, सद्भाव र एकता कायम होस् भनी चाहना सबैको हुन्छ तर त्यसको लागि निस्वार्थ भावले पहल कसै कसैले गर्छन् । यस सद्भावको नगरी नगरीमा एउटा टोल छ करमोहना जहाँ हिन्दु, मुस्लिम, मधेशी, दलित र पहाडी समुदायको संयुक्त बसोबास छ ।
वास्तविक घटनामा आधारित कथाको खोजिमा करमोहना पुगियो जहाँ मुस्लिम मधेशी र दलित समुदाय सयुंक्त बसोबास छ । महिलाहरुसंग छलफल गर्ने क्रममा एउटा चाख लाग्दो विषयवस्तु भेटिएको थियो ‘सखीको डाल’ । त्यो डाल र सखी समुह बारे हामी चर्चा गर्यौं । जहाँ महिलाले घरको सारा काम गर्नुका साथै बच्चा पति र परिवारको रेखदेख पनि गर्छिन् भने गाउँघरमा खेतबारीका काममा समेत हातेमालो गर्छिन् । उसको सम्पूर्ण श्रीसम्पतिको देखभाल गर्छिन् उसलाई परेको बेला सघाउंछिन् ।


पत्नीले पतिलाई यी बाहेक अरु कसरी सघाउंदैछिन् भन्ने सन्दर्भमा कुरा गर्दा जानकारी प्राप्त भएको थियो कि त्यो हो भने सखीको डाल । हामी यस अघि सखी र डाल भनेको के हो भन्ने विषयलाई प्रष्ट पारिसकेछौं तथापि नयाँ पाठकहरुलाई बुझ्न सहज होस् भनी फेरी पनि यस बारे चर्चा गर्नेछौं । साथै यसको सुरुआत कसरी, कहिले कसको अगुवाईमा भयो ? यसको सुरुआत गर्नुको उद्देश्य र कारण के थियो ? अहिले यसमा कति जना महिलाहरु आबद्ध छिन् ? यसको अगामी रणनीति के छ ? भनी यस सखी समुहकी कर्ताधर्ता एवं संस्थापक नसीबुन शेखसंग गरेका कुरा पनि साझा गर्नेछौं ।


सर्वप्रथम ‘सखी’ भनेको अवधीभाषाको शब्द हो सखीको अर्थ महिलाको महिला नै साथी हुनु अर्थात् महिलामित्र र सखी समुह भनेको महिला मित्रहरुको समुह हो । अब ‘डाल’ यो पनि अवधीभाषाकै शब्द हो र यसको अर्थ हुन्छ विवाहको शुभ घडिमा माइतीबाट आएको कोसेली अर्थात विवाहमा लगाउनका लागि चाहिने आवश्यक कपडा, श्रृंगारका सरसामानका साथै दक्षिणा स्वरुप चामल गुंड मिठाई र केही नगद रकम सहितको उपहार हो ।


सखी समुहकी अध्यक्ष नसीबुन शेख भन्छिन्, सखी समुहमा हाल करमोहना, इन्द्रगांव, शहादतपुर, परसपुर, कारकादौं र नेपालगन्ज गरी यी विभिन्न ठाउँबाट ७३ जना महिलाहरु सदस्य छन् । जसमा मधेशी १० जना, मुस्लिम ३२ जना दलित ३० जना र एक जना योगी गरी विभिन्न समुदायको सहभागिता र सकृयता रहेको छ । जसको उद्देश्य समाजमा खुशी बाँढ्नु, सखीलाई माईतको कमी महसूस हुन नदिनु, आर्थिक सहयोग गर्नु समाजिक छुवाछुत र जातीय विभेद अन्त्य गर्नुका साथै महिला सशक्तिकरण गर्नु हो । २०वर्ष जति नेपाली कांग्रेस पार्टीको सकृय सदस्य रहेकी नसीबुन किन कसरी पार्टी त्याग गरी अर्को पार्टीसंग आबद्ध भइन् भन्ने यावत विषयमा जानकारीका लागि उहांसंग गरिएको छलफलमा उनले दिएका जवाफबाट प्रष्ट हुनेछ ।


नसीबुन जी आरामै हुनुहुन्छ ?
हजुर आरामै छु र सबैको भलो होस् भनी कामना पनि गर्दछु ।

तपाईको परिचय दिंदा आफ्नो बारेमा के भन्नु हुन्छ ?
मेरो माईतीघर भारतको बहराइच स्थित नवाबगन्ज पर्छ म आफ्नो माइती परिवारमा ६ जना दाजुभाई बीच एक्ली छोरीको रुपमा जन्मेको हुनाले मेरो पालनपोषण सुखमय वातावरणमा भयो । मेरो विवाह १५ वर्षको उमेरमा नेपालको नेपालगंज करमोहना घर भएका कमरुद्दीन शेखसंग भयो । राम्रो लवाईखावाईमा हुर्केकी हुनाले म १५वर्षको उमेरमा पनि परिपक्क देखिन्थे जसले गर्दा मेरो गौना पनि विवाह लगतै भयो ।

हाल तपाईको कति सन्तानहरु छन् ?
यसलाई संयोग नै भन्नु पर्ला म आफु ६ दाजुभाई बीच एक्ली छोरी जन्मे र मेरो सन्तानहरुमध्ये पनि ६ जना छोरा र एउटी छोरी जन्मिन् । दुई छोरा र छोरीको विवाह गरीदिसकेछु अब चार जना छोराको विवाह गर्न बाकी छ ।

तपाई त राम्रो परिवारमा जन्मिनुभयो बाल्यकाल राम्रै बित्यो तर तपाईको सामाजिक कार्य तर्फ रुची कसरी बढ्यो ?
हुन त म राम्रै सम्पन्न परिवारमा जन्मे अनि विवाह पनि सम्पन्न परिवारमा नै भयो तर मेरी सासु उतिखेर कांग्रेस पार्टीको सकृय सदस्य थिइन् । उनी पार्टीको कार्यक्रम, रैली, जुलुस र सभाहरु जाने गर्थिन् । उनले नै मलाई पहिलो पटक कांग्रेस पार्टीको रैली र सभामा लगिन् । आफु खुशी जान्थे वा टोलछिमेकीले लग्थे भने पतिले नपठाउन नि सक्थे तर आफ्नै आमाले रैलीमा लग्दा पतिलाई विरोध गर्ने ठाउँ नै रहेन । त्यसपछि निरन्तर पार्टीका कार्यक्रम रैली जुलुस सभामा जान थाले ।

उसो भए तपाईलाई सामाजिक क्षेत्रमा अगाडि बढाउन तपाईको सासुको योगदान रहेको भन्न सकिन्छ ?
हजुर २० वर्ष अघि पहिलो पटक मेरी सासुले नै मलाई घर बाहिर सार्वजनिक कार्यक्रममा लग्नु भयो । जसको फलस्वरूप तत्पश्चात विभिन्न समुह संगठन र संस्थाहरुसंग पनि आबद्ध हँुदै गए । परिवारप्रतिको आफ्नो जिम्मेवारीहरु पुरा गरेर मात्र सामाजिक क्षेत्रमा सकृय हँुदा परिवारले पनि साथ दिंदै गयो । आफुले पनि कहिल्यै परिवारको विश्वास कायम राखे सधैं आफ्नो मर्यादाको पालना गरे । जसले गर्दा घर परिवार र समाजले पनि सम्मान दियो । यस कारण मेरोलाई मेरो प्रेरणाको श्रोत मेरी सासुआमा नै हुन् । आज उहाँ हामी माझ नरर्हेनी उहाँले दिएका हौसलाले मलाई संधै उर्जावान बनाउँछ ।

तपाई यतिका वर्ष कांग्रेस पार्टीसंग आबद्ध रहनुभयो कहिले चुनावमा भाग लिन उम्मेदवारी दिनु भएन ?
हेर्नुस्, जहाँ पनि महिलालाई विभेद गरिन्छ म यतिका वर्ष नेपाली कांग्रेस पार्टीमा आबद्ध रहे तर स्थानीय चुनावको बेला मलाई टिकट दिइएन । तर मेरो सकृयता र समुदायप्रतिको योगदानको कदर गरी मलाई केही व्यक्तिहरुले घरै आएर आफ्नो पार्टीको योजना र घोषणापत्र सुनाए मलाई चित्त बुझ्यो र मैले त्यही हातमा मशाल भएको समाजवादी फोरम पार्टीले टिकट दिएपछि चुनाव लडे यद्यपि चुनावमा जितेन । तथापि मलाई यस बारे चित्त दुखाइ छैन किनभने हार जीत त भाग्यको कुरा हो यदि म चुनावमा भाग नै लिदैन्थे भने अवश्य दुख लाग्थ्यो तर अहिले हारेर पनि म सन्तुष्ट छु । अनि आफ्नो समुदाय प्रतिको बाँकी जिम्मेवारीहरु पुरा गरिरहेकैछु ।

कस्ता खाले जिम्मेवारी र कृयाकलापहरुलाई प्राथमिकता दिनुभयो पछिल्लो समयमा ?
कोरोना महामारीको कारण लकडाउनले गर्दा धेरै दैनिक ज्यालादार मजदूरहरु प्रभावित भए यहाँसम्म उनीहरु भोकभोकै बस्ने अवस्था सृजना भयो । त्यतिबेला मैले आफ्नो अगुवाईमा आफ्नो घरपरिवार, सखी समुहका महिला, नातादार र केही धनी छिमेकीसंग सल्लाह गरी करिब अढाई क्वेन्टल जति चामल संकलन गरे । अनि मेरो छोरा र उसका साथीहरु मिलेर केही रकम जुटाए जसबाट तेल, दाल , चीनी, नून र सोयाबीन किनेर घटेको चामल आफ्नो तर्फबाट थप हालेर हाम्रो टोलमा रहेका र अन्य ती दैनिक ज्यालादारहरु बाढ्यौं ।

तपाईले एउटा सखी समुहको स्थापना गर्नु भएछ हो रहेछ ?
हजुर मैले समाजसंग जब घुलमिल हुने मौका पाएं तब मैले देखेकी समाजमा धेरै परिवार समस्यामा छन्, छुवाछूत व्यापक छ, गरीबीले ढाड भाँच्दैछ त्यसमाथि बच्चाहरुको विवाह खर्चले मानिसहरु बैंकको ऋणमा डुबेछन् । अनि मैले यस्तो केही सुरुआत गर्नुपर्छ जसले यी समस्या हरुको निदान होस् भनी सखी समुहको खोले जसमा सुरुमा थोरै महिलाहरु थिईन् तर आज यस समुहमा धेरै महिलाहरु जोडिछिन् ।

सखी समुहको सुरुआत गर्नुको मुख्य कारण चाहिं के थियो ?
मुस्लिम, मधेशी र दलित आदि समुदायका जुन महिलाहरुले भागेर विवाह गरिहाल्छन् तर उनलाई माइती परिवार भित्रियाउँदैन । तिनीहरुलाई अरु बेला त खासै महसुस हुदैंन् तर छोराछोरीको विवाहको बेलामा माईतको कमी असाध्यै महसुस हुन्छ । बिचरा तिनीहरु रोएर आफ्नो मनको दुःख लुकाउँछिन् । हो तिनले महिलाहरुलाई माईतीको कमी महसूस न होस् भनी उद्देश्यले यो सखी समुह बनायौं । तर यसको अरु कारण नि छन् जस्तै समाजमा विद्ममान भेदभाव हटाइ समानता कायम गर्न पहल गर्नु र साथै सहयोग गर्नु पनि हो । आर्थिक भार कम गर्न केही आर्थिक सहयोग गर्नु पनि यसको उद्देश्य हो । विवाह गर्दा खर्च बढी हुन्छ तर बैंकबाट लिईयो भने त्यसको करार अवधी हुन्छ र ब्याज पर्छ । यस कारण त्यस्ता समस्या को सामना गर्नु नपरोस् भनी हामीले सबै सहभागीहरुबाट रकम संकलन गरी एकमुस्ठ दिने गरेकाछौं ताकि उसको आर्थिक भार कम होस् र बैंकको भाका तिर्न करार अवधी र ब्याज तिर्ने झमेला नरहोस् भनी यो समुह बनाएँ ।

तपाईहरुले कति जति रकम संकलन गरेर दिने गर्नु भएछ ?
यस समुहमा पहिला ६७ जना हुँदा रु.१०००।– प्रत्येक व्यक्ति उठाएर एकमुष्ठ रु.६७०००।– नगद र प्रत्येक व्यक्तिले कम्तीमा ५ के.जी. चामल दिने गरी तय गरेका थियौं तथापि सदस्यहरुले आ आफ्नो हैसियत अनुसार कसैले १०के.जी.कसैले ५० के.जी. कसैले त्यो भन्दा बढी दिदैं गर्दा ६ क्वेन्टल ३५ के.जी. सम्म चामल कपडा र श्रिंगारका सामान सहित दिएकाछौं । हाल सम्म तीन जनालाई हामीले डाल दिइसकेछौंं । जसमध्ये ६७ जना सदस्य रहदां दुई जनालाई दिएका थियौं । त्यतिखेर चामल संकलन गर्दा सबैले आ आफ्नो खेतमा लगाएको वा घरमा राखेको रसदबाट दिने गरेका थियौं । तर त्यसरी दिएको चामल सात थरी हुदां पाउनेलाई विवाहमा काम नलाग्ने हुने गर्यो । त्यसकारण ७१ जना सखी सदस्य हँुदा हामीले डाल दिने बेला अर्को निर्णय गर्यौं र हामीले चामलको सट्टा रु. १००।– र डालको रु. १०००।– गरी ७१ जनाले ११००।– दिने गरी रकम संकलन गर्यौं । हामीले जम्मा रकम ७८१००।– संकलन गरी त्यसबाट ५०००।– को कपडा र श्रृंगार सामान र अखतको चामल मिठाइ फलफुल खरिद गर्यौं बाकी रहेको रकम दक्षिणा स्वरूप डालसंगैं राखेर लग्यौं ।

यस सखी समुहको सुरुआत भएदेखि हाल कुनै परिवर्तन भएको पाउनु भएछ ?
जब देखि यो सखीको डाल लग्ने सुरुआत गरेछौं तब देखि धेरै परिवर्तन आएछ । समुहमा विभिन्न गाउँका महिलाहरु सदस्य भएकी छिन् । जुन पुरुषले पहिला महिलाहरुलाई बाहिर निस्किन दिदैन्थे उनले अहिले डाल लग्ने बेला अर्को गाउँ जान परेमा जाने इजाजत दिएका छन् रोकटोक गर्दैनन् । विवाहको समयमा पुरुषमाथि पर्ने आर्थिक भार घटेछ किनभने गाउँघर यति रकम सानो तिनो रकम होइन् । महिलाहरु प्रति विश्वास बढेछ । अर्को कुरा डालमा आएका चामलले ५÷६ महिना नै पुग्ने गरी रासन जम्मा हँुदा पुरुषलाई त्यति दिनका लागि छाक टार्न खाद्मान्नको व्यवस्था गर्ने टेन्सन हुँदैन अनि पुरुष खुशी त हुने नै भए घरमा घरमूली पुरुष खुशी भए परिवारमा पनि शान्ति बहाल रहन्छ । भन्नाले डाल दिने व्यक्तिमा आफ्नो घरमा विवाह हुँदा यस्तै खुशियाली साट्ने र आर्थिक बोझ बाड्ने छन् त्यसका अहिलेको लगानी भोलि काम आउनेछ भनी सोचेर खुशी हुन्छन् भने डाल पाउनेका पुरुषहरुलाई त महिलाका कारण बोझ बाडिंदा खुशी र सन्तुष्टिको सीमा नै रहदैन ।

यस सखी समुहको अगामी रणनीति र योजना के छ ?
अहिलेको समयममा त हामी यसमा ७३ जना भइसकेछौं तर अगामी दिनमा हामीले अरु महिलाहरुलाई जोडेर १०० जना हुने गरी यो समुह बनाउने छौं । जसको फाइदा यो हुन्छ अहिले सम्म उखान थियो सय जनाको लाठी एक जनालाई बोझ तर अब हामीले सय जना जनाको हात एक जनालाई सहयोगमा परिणत गर्नेछौं । यसको फाइदा यो हुन्छ की जब कुनै घरमा सखीको डाल लगिन्छ त्यसलाई सय जनाले १०००।– डालको गरी दिंदा १,००,०००।– (एक लाख) नगद र १००।– अखतको चामलका लागि संकलन गर्दा १०,०००।– (दश हजार) उठ्नेछ त्यसबाट मसिनो चामल जुन प्याक गरेको आउंछ त्यो ५०००।– बराबरको रकमबाट किनेर दिनुका साथै ५०००।– बाट सखीका लागि राम्रो कपडा र श्रृंगारका सामान मिठाइ फलफुल आदि किनेर दिनेछौं । यसरी दिएको एकमुष्ठ एक लाख रकमबाट विवाहको आर्थिक मद्दत पुग्नेछ साथै उनलाई माईतीको माया पनि मिल्नेछ । साथै यस सखी समुहका महिलाहरुलाई अन्य संघसंस्थाहरुसंग जोडेर सीप सिकाउने, नेत्तृत्व विकास गरी सबै महिलालाई सशक्त बनाउन पहल गर्नुका साथै अन्य स्थानमा पनि महिलाहरुलाई यसरी एकजुट भइ हातेमालो गर्न यस मंचबाट सन्देश दिनु हो ।

उसो भए यस टोलमा पूर्ण रुपले जातीय छुवाछूतको अन्त्य भएछ भन्न मिल्छ त ?
पूर्ण रुपले छुवाछूत अन्त्यै नै भयो भन्न सकिन्न् तर हामी सबै समुदायका महिलाहरुको यो साझा मंच हो जहाँबाट हामीले समाजमा विद्ममान जातीय छुवाछुत र सामुदायिक भेदभाव हटाउन एक साझा प्रयास थालेकाछौं । यो हाम्रो सानो सुरुआत हो भेदभाव विरुद्ध जसमा बिस्तारै सफलता पनि हासिल हुनेछ । हाल हामी जति जना महिला यससंग जोडिएका छौं ती सबै जना डाल लिएर जाँदा सबैले एक अर्कोलाई गला मिलेर अंगालो हालीकन बधाई दिन्छौं माइती सम्झेर एक अर्काको कांधमा शिर राखेर आंशु झार्ने आफ्नो पीडा बाँढ्ने सुरुआत गरेका छौं । विवाहमा भोज पनि खान्छौं तर परापूर्वककालदेखि चल्दैआएको रिवाज तोड्न अझै समय लाग्ला यो अहिलेको अहिले नै परिवर्तन हुँदैन तथापि हामी हार मान्दैनौं आफ्नो प्रयास जारी राख्नेछौं । अहिले दलित र मुस्लिमको चुल्होमा मधेशीले पकाइदिए मधेशी, मुस्लिम दलित सबैले खान्छन् । तर आशा गरौं कि चांडै दलित र मुस्लिमले पस्केको खाना पनि सबैले खानेछन् ।

तपाई बहुप्रतिभाको धनी पनि हुनुहुन्छ भन्ने सुनेकीछु अनि तपाईले त सखीको डाल आफै बनाउनु हुन्छ हो र ?
हजुरमा ऊनबाट धेरै कुरा बनाउन सिकेकीछु उनको डाल, कुसोको डाल, स्वेटर, मोजा, पन्जा, विभिन्न फरक तरिकाका माटोको चुल्हो आदि बनाउन सक्छु र बनाउछु पनि मलाई खेतीबारी गर्न आउँछ । गाउँ समाजमा कुनै विवाह आदि भयो भने डाल चुल्हो बनाउन मलाई नै बोलाइन्छ । अनिआजभोलिको चलनचल्तीको कपडा जुत्ता आदिको मलाई राम्रो परख र जानकारी भएकोले सबैले पर्व विवाह जस्ता कार्यका लागि दुल्हा दुलहीका कपडा जुत्ता श्रृंगारका सामान किन्नु परेमा मलाई नै लग्छन् ।

वर्तमान परिस्थिति
हाम्रो समाजको वर्तमान परिस्थितिलाई नियाल्ने हो भने समाजमा विद्यमान कुरीति रुढीवादी परम्पराले गाउँ समाजमा अझै जरो जाडेछ हुन त छुवाछूत विरुद्ध कानून पनि छ तर पनि समाजमा छुवाछूत जस्तो विभेद मौन रुपमा कायम नै छ । जुनकि तत्काल अन्त्य हुन गाह्रो छ । दाईजोप्रथाको हाल पनि उस्तै छ । अनि कोरोनाकालमा घोषणा गरिएको गरीबी र लकडाउनले गर्दा आर्थिक अभावले समाज प्रभावित छ । जसले गर्दा अरु महिलाहरु सखी समुहमा जोडिने इच्छा हुँदाहँुदै जोड्न सकिरहेकी छैनन् ।
चुनौती
हाल महिलाहरुका लागि अगाडि बढ्न परम्परागत धारणा, रुढीवादी सोच, पुरुषप्रधान समाज, अशिक्षा, गरीबी र महिलाका लागि सुरक्षित वातावरण नहुनु ठुलो चुनौतीका रुपमा कांडा सरह उभिएका छन् ।
सिकाइ
सखी समुहको कार्यशैलीले एउटा साझा सिकाई भ एछ कि जसरी एकले थुकी सुकी सयले थुकी नदी हुन्छ त्यसरी नै सबैले एकजुट भइ कुनै पहल गरेमा त्यसको परिणाम सुखदायी र सकारात्मक हुनेछ किनभने एकतामा बल हुन्छ ।
परिकल्पना
नसीबुन जस्तै अन्य महिलाहरुले यदि देश व्यापी रुपमा यस्तै पहल गर्ने हो भने धेरै गरीब परिवारलाई राहत हुनेछ । हाम्रो समाजबाट जातीय छुवाछूतको अन्त्य हुनुका साथै गरीब परिवारले छोराछोरीको विवाह गर्दा बैंकको ऋणको बोझ झेल्नु पर्दैन । समाज एक अर्कालाई सहयोग गर्ने बानी संस्थागत हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया