अख्तियारमा भ्रष्टाचारका १६ हजार उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक बर्ष २०७६÷०७७ मा १६ हजार बढी उजुरी परेको जानकारी दिएको छ । पुसको पहिलो साता आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारले आयोगमा १६ हजार ५ सय ९४ वटा उजुरी परेको जानकारी दिएको छ । आर्थिक बर्ष २०७६/०७७ मा आयोगमा कुल २५ हजार १ सय ५२ उजुरी पुगेको छ । आयोगको मुख्य कार्यालयमा १४ हजार १२ र मातहतका कार्यालयमा ११ हजार १ सय ४० उजुरी पुगेको हो । अख्तियारका अनुसार, आ.व. २०७५/०७६मा ८ हजार ५ सय ५८ उजुरी रहेर गत आ.व.बाट सरेर आएका थिए ।

आयोगका अनुसार, आर्थिक बर्ष २०७६/०७७ सम्म अख्तियारमा परेका २५ हजार १ सय ५२ मध्ये १६ हजार ९ सय ५२ उजुरी फस्र्यौट गरिएको छ । जुन ६७.५ प्रतिशत हुन आउँछ । बाँकी ८ हजार २ सय अर्थात् ३२.५ प्रतिशत उजुरी आ.व. २०७७/०७८ का लागि सरेर आएका छन् । अख्तियारले प्राप्त उजुरीहरु मध्ये १ हजार १ सय ४३ वटा उजुरी उपर बिस्तृत अनुसन्धान गर्ने निर्णय गरेको छ । आयोगका अनुसार, ५ हजार ६ सय ३६ उजुरी उपर विभिन्न कारवाही गरिएको छ ।

आर्थिक बर्ष २०७६/०७७ मा परेका उजुरी मध्ये स्थानीय तहसँग सम्बन्धित ३०.७ प्रतिशत, शिक्षा क्षेत्रसँग सम्बन्धित १६.३६ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ८.२९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित ४.२१ प्रतिशत रहेको आयोगले जानकारी दिएको छ ।

अख्तियारले सरकारलाई भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न सुझाव समेत समेटेर तयार गरेको प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारीले गत पुस ९ गते बुझाएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया