घरायसी सामान पनि समातिन थाले सीमामा

कोरोनाको जोखिमका कारण नेपाल–भारत सीमा औपचारिक रुपमा बन्द रहेका छन् । सीमा औपचारिक रुपमा बन्द भएपनि काम विशेषमा व्यवहारिक भन्दै सीमा आवातजावत भने रोकिएको छैन । त्यही बहानामा रुपैडिहा जाने र घरायसी भन्दै मालसामान भित्र्याउने क्रम जारी छ । हालको अवस्थामा नेपालमा मालसामान उपलब्ध हुँदाहुँदै भारतीय बजार नै धाउनु पर्ने अवस्था भने छैन । यद्यपि, कतिपय अत्यावश्यक औषधी लगायतका सामाग्री लिन रुपैडिया पुग्नु पर्ने अवस्था छ । त्यही औषधी लिन जाने बहानमा मालसामान भित्र्याउने, नियमित क्यारिङ्ग मार्फत ल्याइने सामान सीमामा खटिएको सशस्त्र प्रहरीले जफत गर्न थालेको छ ।

बाँकेका तस्करी मौलाउँदै गएको निरन्तरको समाचार प्रकाशमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले त्यस विरुद्ध ‘एक्सन’ लिएको छ । प्रशासनले भन्सार छली हुने सबै मालसामान बरामद गर्न प्रशासनले सुरक्षा प्रमुखहरुको बैठकमा निर्देशन गरेपछि भन्सार कडाई हुन थालेको हो । ‘कानुनले तोके भन्दा बाहेकका कुनै पनि मालसामान, कुनै पनि बहानामा भन्सार नगरी ल्याउन नदिन भनेका छौं’, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले दैनिक नेपालगन्जसँग भने, ‘मुख्य नाकाबाहेक भित्री नाकाहरु पनि निगरानीको निर्देशन दिएका छौं ।’
बाँकेमा तस्करी तथा भन्सार छली रोक्नेका लागि बाँके प्रशासनले सीमामा खटिने सशस्त्र प्रहरी, जनपद प्रहरी प्रमुखहरु सँग छलफल गरेको थियो । बैठक लगत्तै भन्सारमा कडाई सुरु भएको थियो ।

हाल औपचारिक रुपमा नाका बन्द भएपछि विभिन्न बहानामा रुपैडिहा पुगेर भन्सार नगरी मालसामान लिएर फर्किनेहरुको मालसामान सीमामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको छ । घरायसी प्रयोजनका लागि ल्याइएको सामान सशस्त्रले समातिदिएको भन्दै त्यसको विरोध पनि हुन थालेको छ । यद्यपि प्रहरी कडाईपछि दैनिक सेटिङ्ग मिलाएर नियमित क्यारिङ्ग गर्नेहरु भने नियन्त्रणमा आउने भन्सारका अधिकारीहरु बताउँछन् । ‘मालसामान त नियन्त्रणमा लिए त्यसभित्र रहेको औषधी समेत सशस्त्रले लगिदियो’, मंगलबार दैनिक नेपालगन्जसँग कुरा गर्दै एक व्यक्तिले भने, ‘घरायसी मालसामान त छाडिदिनु पर्छ ।’
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका प्रहरी उपरीक्षक अशोक बमले जुनसुकै बहाना बनाएपनि बिना भन्सारको मालसामान अब भित्रिइन नदिने बताए । ‘घरायसी प्रयोजन भए पनि कानुन बमोजिम भन्सार गरेर नै ल्याउनु पर्छ’, उनले भने, ‘हामी नियमित भन्सार निगरानी गर्दै भन्सार छली नियन्त्रण गर्दै आएका छौं ।’ सशस्त्रको बाँकेमा खटिएका अन्य इकाइहरुले पनि भित्री नाकामा हुने भन्सार छली नियन्त्रणमा लिंदै आएको छ । औपचारिक रुपमा नाका बन्द रहेपनि भन्सार छलेर ल्याइएका मालसामान साउन यता डेढ करोड बढीको बरामद गरी भन्सार दाखिला गरेको प्रहरी उपरीक्षक बम बताउँछन् ।

जनपद प्रहरीले पनि सीमाका भित्री नाका तथा बजार क्षेत्रमा निगरानी बढाएको छ । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले मातहतका प्रहरी यूनिटलाई कुनै पनि बहानामा भन्सार छली हुन नदिन निर्देशन दिएपछि दैनिक जसो मालसामान बरामद भैरहेका छन् ।

भन्सार छलेर चामल, दाल, चिनी, इलेक्ट्रोनिक्स सामान, मल, बिउ, कपडा तस्करी हुने गरेको छ । स–सानो परिणाममा व्यवसायीहरुले नै क्यारिङ्ग मार्फत भारतबाट सामान मगाउने गरेको पाइन्छ । नेपालगन्ज उद्योग वाणिज्य संघले पटकपटक भन्सार छली नियन्त्रण गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया