हातमा सुर्य, कोहलपुरमा ओली त नेपालगन्जमा प्रचण्ड–माधव जिन्दावादको नारा

प्रतिनिधिसभा विघटन पछि बाँकेमा पनि राजनीतिक कार्यक्रम बढ्दै गएका छन् । दैनिक जसो राजनीतिक कार्यक्रमहरु बाँकेमा हुन थालेका हुन् । बाँकेमा प्रतिनिधिसभा विघटनका विरुद्ध तथा बाध्यकारी भन्दै समर्थमा पनि प्रदर्शन हुन थालेका हुन् ।

जसपा समाजवादीले प्रतिनिधिसभा विघटन विरुद्ध मसाल जुलस प्रदर्शन गरिसकेको छ । नेपाली काँग्रेसले सोमबार मात्रै नेपालगन्जमा विरोधसभाको आयोजना गर्यो जसलाई काँग्रेस केन्द्रीय नेता गगन थापाले सम्बोधन गरेका छन् । उनले मंगलबार विहान पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेका छन् ।

प्रतिनिधिसभा विघटन लगत्तै नेकपाको केपी शर्मा ओली पक्षधरले कोहलपुरमा पार्टी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दियो । नेकपाको अर्को पक्षधरले पनि नेपालगन्जमा जिल्लाका नेता तथा कार्यकर्ताका लागि प्रशिक्षण भेला आयोजना गरिसकेको छ । जसलाई नेकपा केन्द्रीय नेता योगेश भट्टराईले सम्बोधन गरे ।

मंगलबार विहान नेकपा ओली पक्षत्रका केन्द्रीय नेता महेश बस्नेतले नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्री ओलीको कदम बाध्यकारी भएको बताए । उनले पार्टी भित्रबाटै प्रधानमन्त्री विरुद्ध षडयन्त्र भएपछि प्रधानमन्त्रीले ताजा जनादेशको निर्णय लिएको बताएका थिए ।

मंगलबार बाँकेमा नेकपाका दुवै पक्षले प्रदर्शन गरिरहेका छन् । कोहलपुरमा नेकपा ओली पक्षधर र नेपालगन्जमा प्रचण्ड–माधव पक्षधरले प्रदर्शन गरिरहेका हुन् । मंगलबार नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गरिरहेको छ । विरोध प्रदर्शन गर्दै नगरका विभिन्न भाग पुगेको नेकपाको र्यालीलाई त्रिभुवन चोकमा नेता दल बहादुर सुनारले सम्बोधन गर्दैछन् । र्यालीमा प्रचण्ड–माधव नेपाल जिन्दावादको नारा लगाइएको थियो । र्यालीमा प्रतिनिधिसभा विघटन विरुद्ध विभिन्न खालका नारा लगाइएका थिए ।

कोहलपुरमा युवा संघको प्रदर्शन तथा सभा आयोजना भैरहेको छ । जसमा केपी ओली जिन्दावादको नारा घन्किएको छ । युवा संघको कार्यक्रमलाई केन्द्रीय नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपामा दुवै प्रदर्शनमा सुर्य झण्डाको प्रयोग गरिएको छ । दुवै पक्षले नेकपाको आधिकारिक आफै रहेको दाबी गर्दै आएको छ । यद्यपि, यसको टुङ्गो लाग्न अझै दुई महिना लाग्ने राजनीतिज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया